बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दक्षिण कोरिया जाने कामदारलाई थप डलर सटही सुविधा, विभागको सिफारिस चाहिने

बिहीबार , मंसिर २३ २०७८
दक्षिण कोरिया जाने कामदारलाई थप डलर सटही सुविधा, विभागको सिफारिस चाहिने

विद्युतीय कार्डको माध्यमबाट थप सुविधा उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ। त्यसका लागि विवरण खुल्ने गरी कामदारले वैदेशिक रोजगार विभागबाट सिफारिस लिनुपर्ने जनाइएको छ। 

काठमाडौं- नेपाल राष्ट्र बैंकले  दक्षिण कोरिया जाने कामदारका लागि थप सटही सुविधा दिने भएको छ। 

विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र-२०७६ मा संशोधन गर्दै केन्द्रीय बैंकले वैदेशिक रोजगारीका लागि कोरिया जाने कामदारहरूका लागि सटहीको फरक व्यवस्था गरेको हो। 

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारहरूले कोरोना भाइरस महामारीका कारणले गर्दा क्वारिन्टिन खर्च गर्नुपर्ने भएकाले थप सटहीको सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो।

१ हजार ५०० सय अमेरिकी डलरसम्मको सटही सुविधा कामदारहरूले पाउने छन्। विद्युतीय कार्डको माध्यमबाट थप सुविधा उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ। त्यसका लागि विवरण खुल्ने गरी कामदारले वैदेशिक रोजगार विभागबाट सिफारिस लिनुपर्ने जनाइएको छ। 

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई अधिकतम अमेरिकी डलर  २०० सटही सुविधा पाउने व्यवस्था यसअघि गरिएको थियो। 

देशमा विदेशी मुद्राको सञ्चिति घट्दै आएपछि केन्द्रीय बैंक तथा सरकारले सटही सुविधामा कडाइ गर्दै आएका छन्। 

विदेशमा घुम्न जाने नेपालीहरू तथा अध्ययनमा जाने विद्यार्थीलाई सटही सुविधामा कडाइ गरिएको छ। कोरोनाको कारणले सिर्जित नयाँ नियमअनुसार कोरियामा विशेष प्रवेश पाउने कामदारलाई थप सुविधा दिने व्यवस्था गरिएको हो। 

रोजगारीका लागि कोरिया जाने कामदारहरूले सरकारले पछिल्लो समय गरेको व्यवस्थाअनुसारको सटही सुविधाले नपुग्ने र जानै नसकिने बताउँदै आएका थिए। 


प्रकाशित : बिहीबार , मंसिर २३ २०७८१२:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend