बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

हलगोरु पाल्नेलाई जैमिनीले दश हजार अनुदान दिने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १७ २०८०
हलगोरु पाल्नेलाई जैमिनीले दश हजार अनुदान दिने

पेश भएका प्रस्तावमध्येबाट चालु आर्थिक वर्षमा ३० जना किसानलाई जनही दश हजार रुपैयाँका दरले प्रोत्साहन उपलब्ध गराइने भएको हो।

बागलुङ- बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिने भएको छ। रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो।

यसका लागि नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रस्ताव आह्वान समेत गरेको थियो। गोरु पाल्ने र गोरुसँग खेतीपातीमा लाग्ने किसानको पहिचान गरेर प्रोत्साहन उपलब्ध गराउन लागिएको पशु शाखा प्रमुख कृष्णप्रसाद ढकालले बताए।

दश वडा रहेको नगरपालिकाभरिबाट तीन सय किसानले प्रस्ताव पेश गरेका थिए। पेश भएका प्रस्तावमध्येबाट चालु आर्थिक वर्षमा ३० जना किसानलाई जनही दश हजार रुपैयाँका दरले प्रोत्साहन उपलब्ध गराइने भएको हो।

'कृषिमा आधुनिक हाते ट्र्याक्टर भित्रिँदा स्थानीय स्रोत साधनको प्रयोग नै हरायो', उनले भने, 'गोरु पाल्ने संस्कृति घट्दा बालीका लागि आवश्यक मलमूत्र कमी हुने, बाहिरबाट ल्याएको तेलको प्रयोग बढ्ने भएकाले पनि गोरु पाल्न प्रोत्साहन गर्नुपरेको हो।'

आधुनिक मेसिनको प्रयोगमा किसानको धेरै पैसा विदेशिने भएकाले गोरु पाल्दा त्यो रोकिने नगरपालिकाको विश्वास छ। उनले 'गोरुको प्रयोगले ढिला होला तर अनुत्पादक हुँदैन्, व्यावसायिक किसानलाई भन्दा आफ्नो लागिमात्रै उत्पादन गर्ने किसानका लागि मेसिनभन्दा गोरुको प्रयोग उपलब्धीमूलक हुन्छ।'  

नगरपालिकाभित्र झण्डै तीन सय बढी हाते ट्र्याक्टरलगायत सामग्री खनजोतका लागि प्रयोगमा छन्। आवश्यक ठाउँमा प्रविधिको प्रयोग र रैथाने तथा मितव्ययी परम्परागत शैलीलाई सँगसँगै लैजाने नीति नगरपालिकाले बनाएको छ।

त्यस्तै जैमिनी नगरपालिकाले बीउको रुपमा राँगा पाल्ने किसानलाई समेत प्रोत्साहन गर्न थालेको छ। मासु र दूधमा नगरलाई आत्मनिर्भर बनाउने लक्ष राखेको नगरपालिकाले बीउका लागि राँगा पाल्ने किसानलाई प्रोत्साहन उपलब्ध गराउने भएको हो।

चालु आवमा नगरभरिका २० जना किसानलाई जनही १० हजारका दरले प्रोत्साहनउपलब्ध गराउन लागिएको ढकालले बताए। हलगोरु र राँगा पाल्ने किसानको तथ्याङ्क तयार गरेर कार्यक्रमलाई निरन्तरता दिने योजना छ।

जैमिनी नगरपालिकाका बेँसी फाँटमा हाते ट्र्याक्टरको प्रयोग बढ्दो भए पनि लेकका खेतबारीमा गोरुले जोत्ने प्रचलन कायम छ।

पछिल्लो समय रैथाने स्थानीय जातका गाई पाल्नेको सङ्ख्यामा कमी आउँदा गोरु पाउनसमेत कठिन हुने गरेको किसान रुद्रप्रसाद शर्माले बताए। रासस


प्रकाशित : बिहीबार , फागुन १७ २०८०१०:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend