बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

डोटीमा विस्तार हुँदै चैते धानखेती

सोमबार, फागुन १४ २०८०
डोटीमा विस्तार हुँदै चैते धानखेती

चैते धानखेतीका लागि अन्य धानखेतीको तुलनामा अलि बढी मेहनत लाग्ने भए पनि वर्षमा दुईबाली भित्र्याउँदा दोबर फाइदा हुने किसान बताउँछन्।

डोटी- डोटीको शिखर नगरपालिका-३ का किसान बम कार्कीले चैते धानखेती गर्न थालेको २० वर्ष भयो। उनी चैते धानमात्रै वर्षमा १० देखि १५ क्विन्टल फलाउँछन्। वर्षमा दुई बाली धान भित्र्याउँदा दोबर फाइदा हुने कार्की बताउँछन्। 

यो वर्षका लागि उनले चैते धानको बेर्ना छरिसकेका छन्। 'गहुँ काटिसकेपछि जमिन बाझो छोड्नुभन्दा चैते धान रोप्नु उत्तम हुन्छ', कार्कीले भने, 'यसरी एकै वर्ष दुई वटा धान बाली भित्र्याउँदा दोबर फाइदा हुन्छ।'

उनले धानबाट मात्रै नभएर पराल पनि फाइदा लिन सकिने बताउँछन्। चैते धानको भात अरू धानको चामलभन्दा स्वादिलो हुनुका साथै धानको पराल गाईबस्तुका लागि उपयोगी हुने र बेच्न पनि सकिने उनको भनाइ छ। 

चैते धानखेतीका लागि अन्य धानखेतीको तुलनामा अलि बढी मेहनत चाहिने उनी बताउँछन्। सुरुमा बीउ उमार्न गाह्रो हुने र रोपेपछि पानी बढी चाहिने हुन्छ। चैत बैशाखमा आकाशको पानी नपर्ने हुँदा नदीको पानी धेरै चाहिने र नदीको पानी सुक्ने अवस्था भयो भने फरल लिन नसकिने उनी बताउँछन्।

यो वर्ष कार्कीले जस्तै शिखर नगरपालिका-२ कालागाडका अन्य किसानले पनि चैते धान रोप्ने भएका छन्। गालागाडका करिब ३० परिवारले चैते धानका लागि फागुन पहिलो साता बीउ राखिसकेका छन्। स्थानीय किसान राने धामीका अनुसार यहाँका किसानले प्रतिकिसान पाँच केजीदेखि १५ केजीसम्म बीउ राखेका छन्। 

कृषि ज्ञानकेन्द्र डोटीबाट चैते धानको बीउ उपलब्ध भएपछि धान रोप्ने तयारी गरेको धामीले बताए। उनीहरुले पहिलो पटक चैते धान रोप्न लागेकाले ढुक्क भने नरहेको धामीले बताए। 'धान रोप्ने भनेर बीउ राखेका छौँ मौसमले साथ दिएन भने धान र मेहनत खेर जान्छ होला।'

कृषि ज्ञानकेन्द्र र किसानका बीचमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको जानकारी शिखर नगरपालिका-२ का वडाध्यक्ष गणेश बोगटी बताउँछन्। ज्ञान केन्द्रकै सल्लाहअनुसार बीउ राखेको बताउँदै वडाध्यक्ष बोगटीले आफू किसानहरुका साथमा रहेको उनले बताए। उनले किसानलाई आवश्यक समयमै मल उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता पनि जनाए। रासस


प्रकाशित : सोमबार, फागुन १४ २०८०१४:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend