बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

गुन्द्रुक र सिस्नोपछि बेसार प्रवर्द्धनमा जुट्यो इलामको रोङ गाउँपालिका

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १० २०८०
गुन्द्रुक र सिस्नोपछि बेसार प्रवर्द्धनमा जुट्यो इलामको रोङ गाउँपालिका

गाउँपालिकाभित्रै रहेको इको चिया उत्पादक सहकारीमार्फत ४५ जना किसानलाई अनुदानमा आठ सय ४० किलोग्राम बेसार उपलब्ध गराइएको छ।

इलाम- गुन्द्रुक र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवर्द्धधन सुरु गरेको छ। बाँदरलगायत जंगली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवर्द्धनमा लागेको हो। 

पहिलो चरणमा गाउँपालिकाले बेसारको बीउ वितरण गरेको छ। स्थानीय एक सहकारीमार्फत बेसारको बीउ वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले जानकारी दिए।

उनका अनुसार गाउँपालिकाभित्रै रहेको इको चिया उत्पादक सहकारीमार्फत ४५ जना किसानलाई अनुदानमा आठ सय ४० किलोग्राम बेसार उपलब्ध गराइएको छ। 

उत्पादन भएको बेसार सहकारीले नै खरिद गर्ने बताइएको छ। प्रतिकिलोग्राम ४० रुपैयाँका दरले किसानबाट काँचो बेसार खरिद गर्ने बताइएको छ। सुरुमा ४५ जना किसानलाई दिइएको बीउबाट उत्पादन भएको बेसार अन्य किसानलाई समेत उपलब्ध गराइने छ र पर्याप्त उत्पादनपछि बाहिर निकास गर्न थालिने बताइएको छ। 

गाउँपालिकामा बेसारको राम्रो उत्पादन हुँदै आएको छ। बेसार १० गुना बढी फल्ने गरेको किसान बताउँछन्। एक किलोग्राम बेसारबाट १० किलोग्रामसम्म उत्पादन हुने गरेको किसानको भनाइ छ।

गाउँपालिकाकै किसान शान्तकुमारी लाप्चाले एक किलोग्राम बेसारको बीउबाट १६ किलोग्राम बेसार उत्पादन गरेको उनलाई उद्धृत गर्दै अध्यक्ष स्याङ्बोले बताए। किसान लाप्चाले यसअघि पनि बेसार रोपेको र राम्रो उत्पादन लिएको बताइएको छ।

गाउँपालिकाले सबै छवटै वडामा बेसार खेती विस्तार गर्ने लक्ष्य लिएको छ। गाउँपालिका र जिल्लाबाहिर बेसार निर्यात गर्न सकिने भएकाले किसानलाई व्यावसायिकतातर्फ उन्मुख गराउन यस्तो कार्यक्रम ल्याइएको अध्यक्ष स्याङ्बोले बताए। 

बेसार पनि विभिन्न जातमा हुन्छन्। गाउँपालिकाले भने कपुरबोट एक जातको बेसार किसानलाई वितरण गरेको छ। गाउँपालिकाले यसअघि ‘रोङ मह’ र गुन्द्रुक ब्रान्डिङ भइसकेको छ। ब्रान्डिङ गरिएको सिस्नो बजार पुर्‍याउन थालिएको छ। उत्पादन सुरु भएपछि ‘रोङ बेसार’लाई पनि ब्रान्डिङ गरिनेछ। रासस


प्रकाशित : बिहीबार , फागुन १० २०८०१०:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend