बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

तेस्रो लगानी सम्मेलन : एलन मस्क र ज्याकमासहित विश्वका ठूला १७ धनाढ्यलाई निम्ता

बिहीबार , फागुन १० २०८०
तेस्रो लगानी सम्मेलन : एलन मस्क र ज्याकमासहित विश्वका ठूला १७ धनाढ्यलाई निम्ता

‘गौतम अडानी, एलन मस्क, मार्क जुकरवर्ग, मुकेश अम्बानी, अलिबाबासहितलाई पत्र पठाइएको छ,’ प्रवक्ता उपाध्यायले भने।

काठमाडौं- लगानी बोर्डले बैशाखमा हुने तेस्रो लगानी सम्मेलनका लागि विश्वका १७ ठूला धनाढ्यलाई निम्ता पठाएको छ। बोर्डले भारत, चीनसहितका धनाढ्याहरूलाई आफै निम्ता पठाएको छ भने बाँकी झन्डै २ हजार लगानीकर्तालाई राजदूतावासमार्फत बोलाउँदै छ। 

नेपाल सरकारले आगामी बैशाख १६ र १७ मा हुने लगानी सम्मेलनका विषयमा जानकारी गराउन विभिन्न देशमा रहेका नेपाली राजदूतावासलाई सघाउन भन्दै परराष्ट्र मन्त्रालयमार्फत आग्रहसमेत गरेको छ। विभिन्न राजदूतावासले विभिन्न देशमा भएका लगानीकर्ता, उच्च अधिकारीलगायतको सूची पठाउन सुरु गरिसकेका छन्। 

लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले ठूला १७ कम्पनी र धनाढ्यलाई निम्ता पठाएको बताए। ‘गौतम अडानी, एलन मस्क, मार्क जुकरवर्ग, मुकेश अम्बानी, अलिबाबासहितलाई पत्र पठाइएको छ,’ प्रवक्ता उपाध्यायले भने।

बुधबार पनि चिनियाँ राजदूतसहित चीनका चारवटा महावाणिज्य दूतसँग छलफल गरेर चिनियाँ लगानीकर्ता बोलाउनका लागि सूची तयार पारेको प्रवक्ता उपाध्यायले जानकारी दिए। 

नेपालमा लगानी भएका बहुराष्ट्रिय कम्पनीका उच्च अधिकारी, निजी क्षेत्रका व्यवसायीमार्फत लगानीकर्तालाई पत्राचार गर्ने क्रम जारी रहेकोसमेत उनले बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित चिनियाँ राष्ट्रपती सि जिन पिङलाई समेत निम्ता पठाइएको छ। एकदर्जन देशका परराष्ट्र र अर्थमन्त्रीलाई समेत निम्ता पठाइएको छ। 

१ सय १५ परियोजना शोकेसमा

तेस्रो लगानी सम्मेलनको लागि सोकेसमा प्रस्तुत गरिने परियोजनाको सूची तयार पारिएको छ। लगानी सम्मेलनका लागि हालसम्म १ सय १५ परियोजना पहिचान गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्य दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थानका लागि पनि प्रस्ताव गरिँदैछ। जहाँ नेपाल वायुसेवा निगमले ह्यांगर बनाउनेसम्मका परियोजना भने सम्मेलनमा प्रस्तुत हुने सूचीमा परेको छ।

सरकारले लगानी सम्मेलनमा प्रस्तुत गरिने परियोजना छनोटका लागि प्राविधिक समिति गठन गरेको छ। समितिले अहिलेसम्म १ सय १५ परियोजना छनोट गरेको हो। 

समितिमा प्राप्त भएका परियोजनाहरूमध्ये कतिका विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) भइसकेका, डीपीआर हुन बाँकी, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) तयार भएका आयोजनाहरू पनि शोकेसमा राखिएको छ। समावेश भएका परियोजनामा नयाँ परियोजना पनि छन्। सबैभन्दा धेरै जलविद्युत् आयोजना रहेको छ। सुरूङमार्गका परियोजनाहरू पनि पेश गरिएका छन्।

लगानी बोर्डका अनुुसार एक दर्जन आयोजनाको भने सम्मेलनमै सम्झौता गर्ने तयारी छ। उपत्यकामा मेट्रोरेल, विभिन्न स्थानमा सुरूङमार्ग बनाउने, थप एक्स्प्रेस वे बनाउने परियोजनाहरू चालु आर्थिक वर्ष तथा विगतका आर्थिक वर्षका बजेटमा घोषणा गरिसकेका छन्। 

चन्द्रागिरि-पालुङ-चितवन एक्सप्रेस-वेदेखि उपत्यकामा अण्डरग्राउण्ड मेट्रोरेलसम्म आयोजनाको प्रस्ताव गरिएको छ।

सूचीअनुसार अपर चमेलिया, हुम्ला-कर्णाली जलविद्युत आयोजना पनि रहेको छ। अपर अरूण आयोजना र पोखरा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र पनि राखिएको छ। त्यस्तै चन्द्रागिरी-पालुङ-चितवन एक्सप्रेस वेदेखि चितवन-रामपुुर-बुटवल एक्स्प्रेस वे समेत समावेश रहेको छ।

विद्युतीय सवारी चार्जिङ स्टेशनदेखि दोलखालाई फिल्मी सिटी बनाउनेसम्मका परियोजना समावेश गरिएको छ। खप्तड राष्ट्रिय निकुञ्जलाई एकीकृत विकास गर्नेदेखि पश्चिम सेती टाउन प्लानिङसम्मका परियोजना राखिएको छ।

दैजी र शक्तिखोर औद्योगिक क्षेत्र, पाँचखाल विशेष आर्थिक क्षेत्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ह्यांगर बनाउने र मलेखु-लोथर सुरूङमार्ग समेत परियोजना तयार पारिएको छ। दाउन्ने-बर्दघाट सुरूङमार्गदेखि धरान-लेउती सुरूङमार्ग समेत रहेको छ। थानकोट-चित्लाङ सुरूङमार्ग समेत रहेको छ। 

नयाँ परियोजनाको रुपमा २१८ नौमुरे जलासययुक्त आयोजना, १२१६ मेगावाट क्षमताको खिम्ती ठोसे जलविद्युत परियोजना, ६५० कालिगण्डकी मेगावाट क्षमता, ३७७ मेगावाट क्षमताको भारभुङ जलविद्युत आयोजना रहेका छन्। सहरी विकास मन्त्रालयले प्रस्तावमा बबरमहलमा सेवा प्लजा निर्माण गर्ने पनि प्रस्ताव गरिएको छ। 


प्रकाशित : बिहीबार , फागुन १० २०८००७:०७
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend