बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कृत्रिम नाफा देखाएर प्रिमियममा सेयर जारी गरेको घोराहीमा बढ्दो वित्तीय संकट, ६ महिनामै ४१ करोड ८४ लाख रुपैयाँ घाटा

बुधबार, फागुन २ २०८०
कृत्रिम नाफा देखाएर प्रिमियममा सेयर जारी गरेको घोराहीमा बढ्दो वित्तीय संकट, ६ महिनामै ४१ करोड ८४ लाख रुपैयाँ घाटा

काठमाडौं- घोराही सिमेन्ट कम्पनीले वित्तीय विवरण विन्डो ड्रेसिङ (कृत्रिम सजावट) गरी प्रिमियम मूल्यमा प्राथमिक सेयर निष्कासन गरेको थियो।

१०० रुपैयाँ अंकित मूल्य भएको यस कम्पनीले ३ सय ३५ रुपैयाँ प्रिमियम थप गरी ४ सय ४५ रुपैयाँमा सर्वसाधारणका लागि प्रिमियममा प्राथमिक सेयर निष्कासन गरेको हो।

सम्पत्तिको आयु बढाउँदै मूल्यह्रासको रकम कम देखाएर कम्पनीले प्रिमियममा प्राथमिक सेयर निष्कासन गर्न सफल भएपनि यो कम्पनी चालु आर्थिक वर्षको पहिलो ६ महिनामै ४१ करोड ८४ लाख रुपैयाँ घाटामा देखिएको छ। 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ अर्ब ७१ करोड रुपैयाँ कुल आम्दानी गर्दै १ अर्ब ५१ करोड रुपैयाँ कष्ट अफ सेल्स देखाएको छ।  

गत वर्षको सोही अवधिमा कम्पनीको करिब १ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गर्दै १ अर्ब ३२ करोड रुपैयाँ कष्ट अफ सेल्स बापत खर्च देखाएको थियो।

गत वर्षको यसै अविधिको तुलनामा कम्पनीको बिक्री सामान्यरुपमा बढेपनि कष्ट अफ सेल्स खर्च करिब १९ करोड रुपैयाँले बढेको छ। यस अवधिमा कम्पनीले प्रशासनिक खर्च १५ करोड ५८ लाख रुपैयाँ, मूल्यह्रास १९ करोड २९ लाख रुपैयाँ र ब्याज खर्च बापत २६ करोड ५७ लाख रुपैयाँ देखाएको छ।

जसले गर्दा कम्पनी ४१ करोड ८४ लाख रुपैयाँ घाटामा रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ। गत वर्षको सोही अवधिमा कम्पनीको १ करोड ५८ लाख रुपैयाँ खुद नाफा रहेको थियो। 

यस अवधि कम्पनीको प्रतिसेयर आम्दानी ९.१६ प्रतिशतले ऋणात्मक भएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १९ करोड ८७ लाख रुपैयाँ घाटा देखाएको थियो।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ३ करोड २५ रुपैयाँ नाफा रहेको वित्तीय विवरण प्रस्तुत गर्दै धितोपत्र बोर्डबाट प्रिमियम सेयर निष्कासनका लागि अनुमति पाएको थियो। पहिलो त्रैमासमा घोराई कम्पनीको प्रति सेयर आम्दानी ५.०१ प्रतिशतले ऋणात्मक रहेको थियो।


प्रकाशित : बुधबार, फागुन २ २०८००७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend