बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

इजरायलको टावरले भारतमा ८ अर्ब डलर लगानी गरेर चिप उत्पादन गर्दै

मंगलबार, फागुन १ २०८०
इजरायलको टावरले भारतमा ८ अर्ब डलर लगानी गरेर चिप उत्पादन गर्दै

भारतीय अटो बजारमा सेमिकन्डक्टर उत्पादन वा यससँग सम्बन्धित उद्योगमा करिब १ लाख ७० हजार करोड भारू लगानी हुने अनुमान गरिएको छ।

काठमाडौं- भारतमा सेमिकन्डक्टर अर्थात चिप उत्पादन गर्न इजरायली कम्पनीले प्रस्ताव गरेको छ। इजरायलको चिप उत्पादक कम्पनी टावर सेमिकन्डक्टरले भारत सरकार समक्ष प्रस्ताव राखेको हो। 

टावर सेमिकन्डक्टरले भारतमा चिप उत्पादनका लागि ८ अर्ब अमेरिमकी डलर लगानी गर्ने बताएको छ। दक्षिण एसियाली क्षेत्रमा प्लान्ट स्थापना गर्न भारत उपयुक्त देखिएकाले टावरले उक्त प्रस्ताव भारत सरकारसँग गरेको हो। 

टावरले आफूले चिप उत्पादन गर्न प्लान्ट स्थापना हुने देशको सरकारले त्यसमा सहयोग गरोस् भन्ने चाहेको रोयटर्सलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ। टावर सेमिकन्डक्टरले भारतमा ६५ नानोमिटर र ४० नानोमिटर चिप उत्पादन गर्न चाहेको छ। 

मोदी सरकारको ठूलो लक्ष्य भारतलाई चिप उत्पादन हवका रुपमा विकास गर्ने रहेको छ। हाल चिप बजारमा चिनियाँ डोमिनेन्स रहेको छ। त्यसैले भारतले चिप उत्पादनमा आत्मनिर्भर हुन स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने नीति लिएको छ। 

विश्वको सबैभन्दा ठूलो सेमिकन्डक्टर/चिप उत्पादक कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) हो। सेमिकन्डक्टरमा चिनियाँ निर्भरता बढेको भन्दै अमेरिकाले समेत यसमा ठूलो लगानी गर्ने घोषणा गरिसकेको छ। 

भारत सरकारले कार उत्पादनका लागि अत्यावश्वक सेमिकन्डक्टर (चिप) उत्पादनका लागि ७६ हजार करोड भारतीय रूपैयाँ (७ अर्ब ६० अर्ब) लगानी गर्ने घोषणा गरेको २ वर्षअघि नै गरेको थियो। भारतले उक्त रकमको नयाँ स्किम स्वीकृत गरेको थियो। 

भारतीय अटो बजारमा सेमिकन्डक्टर उत्पादन वा यससँग सम्बन्धित उद्योगमा करिब १ लाख ७० हजार करोड भारू लगानी हुने अनुमान गरिएको छ। आगामी ५ वर्षभित्र हुने उक्त लगानीबाट १ लाख ३५ हजार जनाले रोजनारी पाउने अपेक्षा गरिएको छ। 

डिजाइन लिंक्ड इन्सेन्टिभ (डीएलआई) अन्तर्गत सेमिकन्डक्टर डिजाइन गरिरहेका १ सयभन्दा बढी भारतीय कम्पनीहरूले उक्त स्किम अन्तर्गत रकम पाउने छन्। उनीहरूले रकम पाएमा सुरुवाती लागतको ५० प्रतिशत पाउने छन्। भारतले दिगो रुपमा सेमिकन्डक्टर र यस सम्बन्धि उत्पादनका लागि इन्डिया सेमिकन्डक्टर मिसन (आईएसएम) नै स्थापना गर्ने लक्ष्य लिएको छ। 

भारतको ठूलो व्यापारीक समूह टाटाले भारतमै सेमिकन्डक्टर बनाउने घोषणा गरिसकेको छ। समूहले सवारी उत्पादनका लागि अत्यावश्यक सेमिकन्डक्टर (चिप) बनाउने भएको जनाएको थियो। टाटा समूहले भारतमा सेमिकन्डक्टर उत्पादन गर्न ३० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको थियो। 

सवारीसाधनदेखि सबै प्रकारका विद्युतीय उपकरण उत्पादनका लागि चिप अनिवार्य हुन्छ। पछिल्लो समय एआईका लागि समेत अत्याधुनिक चिपको माग बढ्दै गइरहेको छ। 


प्रकाशित : मंगलबार, फागुन १ २०८००८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend