बुधबार, जेठ २ गते २०८१    
images
images
images
images

मह, मौरी र घार बिक्रीबाट वार्षिक ३६ लाखसम्म आम्दानी गर्छन् मीनबहादुर

images
बिहीबार , माघ २५ २०८०
images
images
मह, मौरी र घार बिक्रीबाट वार्षिक ३६ लाखसम्म आम्दानी गर्छन् मीनबहादुर
फाइल तस्बिर

प्रतिकिलो एघार सय रूपैयाँमा मह बिक्री गर्दा गत वर्ष तीन करोड ७६ लाख रूपैयाँबराबरको कारोबार भएकामा यस वर्ष हालसम्म आठ लाख कमाइ भइसकेको छ। उनले यही व्यवसायबाट घर र एक रोपनी जग्गासमेत जोडिसकेका छन् भने १७ जनालाई रोजगारीसमेत दिएका छन्।

images
images

लमजुङ- सुन्दरबजार नगरपालिका वडा नंं ५ का ४६ वर्षीय मीनबहादुर गुरुङ आफूले गर्दै आएको सिकर्मीको काम छाडेर विसं २०६८ मा थप आयआर्जनका लागि कतार गए। त्यहाँ एक महिना काम गरेका उनले मासिक तलब नेपाली १७ हजार रूपैयाँजति पाए। यति रकमले न परिवार खुसी हुने न आफू, न परिवारको भविष्य नै उज्ज्वल बनाउन सकिने भएकाले नेपालमै मौरीपालन व्यवसाय गर्नसके राम्रो हुने थाहा पाएर गुरुङ विदेश पुगेको एक महिनामै स्वदेश फर्किए।

images
images
images

विदेश जाँदा लागेको एक लाख ५० हजार रूपैयाँ ऋण पनि तिर्न बाँकी नै थियो। स्वदेश फर्कनासाथ उनले छ-सात महिना सिकर्मीकै काम गरी आएको रकमले ऋणको ब्याज तिर्नुका साथै परिवारको गुजारा पनि चलाउँदै आए।

images

अलिअलि रकम जम्मा गर्दै तीन हजार पाँच सय रूपैयाँले सुरुमा एक घार मौरीसहितको घार खरिद गरे। त्यसबेला मकैबारीमा काम गर्दैगर्दा मौरीमाथि उडेर गएकाले यस्तो उडेर जाने माहुरी किन्नुभन्दा चामल किनेको भए परिवारले खान त पाउने थिए भन्दै आफूलाई गाली गरेको गुरुङले सुनाए।

images
images

पहिलोचोटी परिवारको गाली खाए पनि फेरि सोही रकम बराबरको अर्को एक घार मौरीसहितको घार खरिद गरेर काम थालेका व्यवसायी गुरुङले विसं २०६९ मा युवा लक्षित कार्यक्रमबाट ४० हजार रूपैयाँ अनुदान प्राप्त भएपछि सो रकमबाट मौरीसहितको गोल घार थप्दै गएको र पछि यसको सङ्ख्या बढाउँदै अहिले दुई सय ७५ जति घार करिब सात रोपनी जग्गामा फैलिसकेको जानकारी दिए। विसं २०७३ मा सुजिता मौरीपालन तथा घार उद्योग तथा मौरीपालन स्रोत केन्द्र दर्ता गरेका उनले मौरीपालनमात्र नभइ मौरीसम्बन्धी घार बनाउने, मौरीसम्बन्धी टोपी, स्टेन, आधार चाका, फ्रेमलगायत आवश्यक सामग्रीसमेत बनाउन थाले।

images
images

सत्र जनालाई रोजगारसमेत दिलाएका व्यवसायी गुरुङले यतिका कर्मचारीबाहेक अन्यलाई समेत रुख काट्ने कामका लागि खटाउने गरिएको बताए। उनका अनुसार मह बिक्री, मौरिसहितका घार, खाली घार, मौरीसम्बन्धी विभिन्न उपकरणका सामग्री बिक्री गरेर बर्सेनि तीन करोड रूपैयाँभन्दा बढीको कारोबार हुँदै आएको छ। आठ-नौ वर्षदेखि सबै खर्च कटाएर २५ लाखदेखि  ३६ लाख रूपैयाँसम्म मुनाफा हुँदै आएको छ। प्रतिकिलो एघार सय रूपैयाँमा मह बिक्री गर्दा गत वर्ष तीन करोड ७६ लाख रूपैयाँबराबरको कारोबार भएकामा यस वर्ष हालसम्म आठ लाख कमाइ भइसकेको छ।

यहाँ उत्पादित मह लमजुङसहित काठमाडौं, गोरखा, पोखरालगायत अन्य ठाउँमा पुग्ने गरेका र लमजुङबाहेक विगत पाँच वर्षदेखि कास्की जिल्लास्थित रुपा गाउँपालिकामा ७५ वटा र चिवतनमा ५० वटा मौरीको घारसमेत राखिएको व्यवसायी गुरुङको भनाइ थियो। मौरीका लागि धेरै खटिराख्नु नपर्ने र समयअनुसार हेरचाह गरे पुग्ने भएकाले बेलाबेलामा आफै पुगेर हेरचाह गर्दै आएको उनले जानकारी दिए। आफूसहित श्रीमती र पढ्दै गरेका दुई छोरा तथा एक छोरीले सहयोग गर्ने गरेका छन्।

व्यवसायी गुरुङले भने, 'पहिला खानलाउन समस्या हुन्थ्यो, अरुसँग ऋण माग्नुपर्ने थियो, घरव्यवहार चलाउनै नसक्ने अवस्थामा थिएँ। गरिब भएकै कारण अरुले हेला गर्दर्थे। धेरै दु:ख कष्ट बेहोर्नुपर्‍यो तर अहिले धेरै राम्रो भएको छ। त्यतिबेलाको दुःख भुलेको छु। मौरी व्यवसायबाटै सफलता हुँदा यस पेसाले मेरो भाग्य नै बदलियो।'

प्राप्त आम्दानीबाट गाउँ पालिकाको वडा नंं ५ गहतेमै लाखौँ मूल्यका दुईतले घर, सुन्दरबजारमा एक रोपनी जग्गासमेत उनले जोडिसकेका छन्। गायक पशुपति शर्माले गाको गीत ‘मलाई अमेरिका पनि यहीँ, बेलायत पनि यहीँ, जापान पनि यहीँ, चिन्ता छैन केही’ भनेजस्तै भइरहेको छ भन्दै उनले गर्न सके विदेशमा मात्र होइन, आफ्नै गाउँठाउँमा पनि काम गर्न सकिनेमा जोड दिए।

आफूले गर्ने कामको पहिचान गरेर अघि बढ्न सक्नुपर्ने सुझाव दिने व्यवसायी गुरुङ सुन्दरबजार नगरपालिकाबाट यस वर्ष उत्कृष्ट किसानका रूपमा सम्मानित हुनाका साथै विसं २०७५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट समेत पुरस्कृत भइसकेका छन्। रासस

images

प्रकाशित : बिहीबार , माघ २५ २०८००५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend