काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नारायणगढ-बुटवल सडक विस्तार निर्धारित समयमा पूरा गर्न ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रसन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (सीएससीईसी) लाई निर्देशन दिएका छन्। म्याद थपिएको समयभित्र काम सम्पन्न नभए पुनः म्याद नथपिने पनि उनले स्पष्ट पारेका छन्।
सोमबार पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद विनोद चौधरीको विशेष पहलमा मन्त्री, चिनियाँ ठेकेदार र सडक विभागका महानिर्देशक, सांसद र स्थानीय तहका जनप्रतिनिधि समेतको बैठकमा पूर्वाधारमन्त्री ज्वालाले उक्त निर्देशन दिएका हुन्। ‘अब समयमा काम सक्नैपर्छ। अन्यथा ठेक्का तोड्नुपर्ने अवस्था आउन सक्छ। अब हामीले कुनै कारणले यो परियोजनामा ढिलाइ भएको सहन सक्ने अवस्था छैन’, मन्त्री ज्वालाले भने।
बैठकको संयोजन गरेका सांसद चौधरीले ठेकेदारले प्रत्येक महिना लक्ष्यअनुसार काम गर्नुपर्ने र लक्ष्य पूरा नगरे उसको रकमबाट कट्टा हुने गरी अर्को ठेकेदारलाई जिम्मेवारी दिने व्यवस्था मिलाउन मन्त्रीलाई आग्रह गरे। ‘ठेकेदार कम्पनीले पटकपटक प्रतिबद्धता जनाउने तर पूरा नगर्ने विषय अब सैह्य नहुने भन्दै सांसद चौधरीले लक्ष्यअनुसार काम नगर्ने ठेकेदारबाट ‘ड्यामेज क्लेम’ गरी उसकै पैसामा अन्य ठेकेदारहरूलाई परिचालन गर्न ढिलाइ गर्न नहुने बताए।
‘नारायणगढ-बुटवल सडक तत्काल मर्मतसम्भार गरी सहज रुपमा गाडी आवतजावत हुने वातावरण बनाउनुपर्छ। यो काम अधिकतम एक महिनाभित्र भइसक्नुपर्छ’, सांसद चौधरीले ठेकेदारलाई भने, ‘सन् २०२४ को सेप्टेम्बरसम्म सम्पूर्ण काम सक्नुपर्छ। स्थानीय बासिन्दाले धेरै दुःख पाइसके। अब हामीले कुनै हालतमा छुट दिन सक्दैनौँ।’
पूर्वाधारमन्त्री ज्वालाले सडक निर्माण गरिरहँदा सडकको मर्मतसम्भार गर्ने र सडकमा सहज आवागमनको व्यवस्था मिलाउने सर्त ठेक्कामा रहेकाले अहिले ठेकेदारले गरिरहेको व्यवहार सम्झौताविपरीत रहेको भन्दै सम्झौताका सर्त पालना गर्न निर्देशन दिए। उनले सडक कालोपत्रे गर्दा एकापट्टीको दुई लेन सडक पहिले सम्पन्न गरी त्यसपछि बाँकी लेनमा काम गर्न पनि ठेकेदारलाई निर्देशन दिए।
ठेकेदारलाई रकम निकासमा समस्या नरहेको, निर्माण सामाग्रीको अभाव नरहेको र विद्युत् पोल र तारहरुको व्यवस्थापन भएको अवस्थामा सडक निर्माणको काममा किन प्रगति भएन भन्ने कुरालाई सरकारले गम्भीरतापूर्वक लिएको उनले बताए।
संसदको भौतिक पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ठेकेदारलाई चीनमा पनि यस्तै गतिमा काम गरेको भए के हुन्थ्यो? भन्ने प्रश्न गर्दै ठेकेदार कम्पनीले चिनियाँ कन्ट्रयाक्टरहरुको बदनाम गरेको बताए।
बैठकमा सांसद, नवलपरासीका स्थानीय निकायका प्रमुखहरू र प्रोजेक्टमा संलग्न कर्मचारीहरू सहभागी थिए। काम भए/नभएको अनुगमन गर्न एक महिनामा आज बैठकमा सहभागी सबै पक्ष सडक निर्माण स्थलमा जाने सहमति पनि भएको छ।
बर्दघाट-सुनवल बजारमा फागुनभित्रै कालोपत्र गरिने
पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीले ठेकेदारलाई बर्दघाट-सुनवल बजारमा कहिलेसम्म कालोपत्र गर्ने? स्पष्टरुपमा समयसीमा चाहियो भन्दै प्रश्न गरे। जवाफमा ठेकेदार कम्पनीका प्रतिनिधिले फागुन मसान्तभित्र गरिसक्ने प्रतिबद्धता जनाए। सांसद चौधरीले यो कार्यान्वयनका लागि दुम्किबास-बुटवल सडक खण्डका प्रोजेक्ट हेड शशांक मिश्रलाई निर्देशन दिए।
चिनियाँ ठेकेदार र सडक विभागका तर्फबाट खटिएका प्रोजेक्ट हेड दुवैजनाले फागुनभित्र काम सक्ने प्रतिबद्धता जनाएका छन्। ‘फागुन अन्तिममा दुवैजनासँग बर्दघाटमा भेट्ने छु। काम पूरा भएन भने तपाईँहरूमाथि कारबाही गरिनेछ', सांसद चौधरीले दुवैतर्फका जिम्मेवार अधिकारीलाई निर्देशन दिँदै भने, ‘नवलपरासीका नागरिकले धेरै सास्ती भोगेका छन्। अब पनि ढाँट्छल गर्ने काम भयो भने मलाई सैह्य हुनेछैन।’