काठमाडौं- नेपाल टेलिकमको २०औँ वार्षिकोत्सव सम्पन्न भएको छ। कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय र कार्यालयहरुमा वार्षिकोत्सव सम्पन्न भएको हो।
समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ग्राहकलाई सर्वसुलभ तथा भरपर्दोरुपमा सेवा प्रदान गर्ने खालका नीति, योजना र कार्यक्रम सञ्चालन गर्नु जरुरी रहेको बताइन्। पूर्वाधार विकास, सेवा पहुँच र सेवा विस्तारलगायतका विभिन्न कार्यक्रम समेटेर १९ जिल्लालाई नमुना दूरसञ्चारयुक्त जिल्ला बनाउने कार्यका साथ अगाडि बढेको चर्चा गर्दै मन्त्री शर्माले आगामी दिनमा सेवामा उल्लेखनीय सुधार र आय वृद्धिको लागि आवश्यक कार्य गर्न निर्देशन दिइन्।
सञ्चार मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले कम्पनीले संस्थागत सुशासन कायम गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताए। आन्तरिक कार्य वातावरण चुस्त बनाउँदै निर्णय प्रक्रिया, कार्य पद्धति र संस्थागत संरचनामा सुधार गरी प्रगतिशील संस्थाका रुपमा कम्पनीलाई विकास गर्नुपर्ने उनले बताए।
टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले कम्पनीको समग्र अवस्थाका बारेमा छोटकारीमा जानकारी गराउँदै कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित फोरजी एलटीई प्रविधिमा आधारित मोबाइल र डाटा सेवा तथा ७४ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको बताइन्।
एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन विभिन्न कार्य भइरहेको, हाइवे नेटवर्क सुधारको कार्य अगाडि बढाइएको र जिल्लास्तरमा नेटवर्क सुधार गर्ने उद्देश्यले १९ जिल्लालाई नमुना दूरसञ्चार जिल्ला घोषणा गरी तीव्रताका साथ कार्य अगाडि बढाइएको उनले जानकारी दिइन्।
कम्पनीले भूकम्प प्रभावित क्षेत्रका लागि विभिन्न सहुलियत प्रदान गरेको बताउँदै प्रबन्ध निर्देशक पहाडीले आगामी दिनमा विभिन्न सामुदायिक विद्यालयहरूमा आईसीटी ल्याबको स्थापना गरिने, सरकारी तथा सामुदायिक विद्यालयहरुमा एफटीटीएच डाटा तथा नमस्ते वाईफाई उपलब्ध गराइने र वीर अस्पताललगायत सामुदायिक अस्पतालहरुमा कुरुवाहरुको लागि बेडकम चेयर उपलब्ध गराउने कार्यक्रम रहेको पनि जानकारी गराइन्।
उनका अनुसार कम्पनीको २०औँ वार्षिकोत्सवको अवसरमा कम्पनीका कर्मचारी ग्राहकवर्गको घरदैलामै पुगी टेलिकमका सेवा प्रदान गर्ने गरी माघ २१ गते दूरसञ्चार कार्यालय, सुन्धाराबाट 'नेपाल टेलिकम अन ह्विल' कार्यक्रम शुभारम्भ भइ देशभर विस्तार हुने क्रममा रहेको छ। हाल सञ्चालनमा रहेको च्याटबटलाई स्तरोन्नति गरी एआई प्रविधिको लार्ज ल्यांग्वेज मोडल (एलएलएम) आधारित च्याटबटको सफ्ट लञ्च गरिनेछ।
टेलिकमका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले नेपालमा दूरसञ्चार सेवाको विकास र विस्तारमा नेपाल टेलिकमको अहम् भूमिका रहेको उल्लेख गर्दै प्रविधिको परिवर्तनसँगै कम्पनीलाई समय सापेक्ष सुधार गर्नु आवश्यक रहेको र सो का लागि नियामक निकायको तर्फबाट सहयोग, समन्वय र सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे। सेवाको कभरेज र गुणस्तरमा ध्यान दिन आग्रह गर्दै उनले यसका लागि टेलिकमकर्मी एकजुट भएर लाग्नुपर्नेसमेत बताए।
सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) शंकर लामिछानेले प्रतिस्पर्धी वातावरणमा मन्त्रालय लगायत नियामक निकायबाट कम्पनीका लागि आवश्यक नीति निर्माण गर्न र कम्पनीलाई अग्रणी दूरसञ्चार सेवाप्रदायकको रुपमा राखिरहन आवश्यक सहयोगको अपेक्षा राखे। उनले सकारात्मक कार्य वातावरणको निर्माण गर्न कर्मचारी, व्यवस्थापक र नीति निर्माता बिच ऐक्यबद्धताको आवश्यकता रहेको समेत बताए।
कार्यक्रममा कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता तथा कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजस्व बुझाउने सेवाग्राहीहरुलाई सम्मान गरिएको थियो।
साथै, कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
टेलिकमले एनटी एनिभर्सरी अफरअन्तर्गत विभिन्न सुविधाहरु उपलब्ध गराएको छ। गत वर्षको एनिभर्सरी अफरअन्तर्गतको २० एमबीपीएस डाटा, एउटा टेलिफोन र एउटा एनटीटीभी सहितको एफटीटीएच कम्बो प्याकेज खरिद गरेका ग्राहकले साविककोभन्दा करिब १५ प्रतिशत कम मूल्यमै ५० एमबीपीएस क्षमताको एफटीटीएच प्याकेज नवीकरण गर्न सक्नेछन्।
नयाँ ग्राहक एवम् अन्य प्याकेज नवीकरणको हकमा साविककै मूल्यमा स्पिड अभिवृद्धि गरी २५० प्रतिशत सम्म पुर्याइएको कम्बो प्याकेज खरिद गर्न सक्नेछन्। त्यसैगरी नयाँ एफटीटीएच सेवा खरिद गर्दा एक थान प्रिपेड सिमकार्ड निःशुल्क प्रदान गरिने टेलिकमले जनाएको छ।