बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

कृष्णपुरमा चैते धानखेती गर्ने किसानलाई ८० प्रतिशत अनुदानमा बीउ

सोमबार, माघ २२ २०८०
कृष्णपुरमा चैते धानखेती गर्ने किसानलाई ८० प्रतिशत अनुदानमा बीउ

कृषि ज्ञान केन्द्रका अनुसार कुल धानखेती हुने ४८ हजार चार सय ९६ हेक्टरमध्ये तीन सय हेक्टर जग्गामा चैते धानखेती हुने गरेको छ।

कञ्चनपुर- चैते धानखेती गर्ने किसानलाई कृष्णपुर नगरपालिकाले ८० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने काम अगाडि बढाएको छ। नगरपालिकाको कृषि विकास शाखाको आव २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार किसानलाई अनुदानमा चैते धानको बीउ उपलब्ध गराउन थालिएको हो।

किसानको मागका आधारमा बीउ वितरण गरिने नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताए। 'धान उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि दुई वर्षदेखि निरन्तररुपमा चैते धानको बीउ अनुदानमा वितरण गराउन थालेका छौँ', उनले भने, 'चैते धानखेती गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दोरुपमा रहेको छ।'

किसानलाई अनुदानमा सिँचाइ सुविधाका लागि पम्पसेट, विद्युतीय मोटर उपलब्ध गराउने कार्यसँगै पुराना कुलो मर्मत गरी सञ्चालन गरिन थालेपछि चैते धानखेती गर्ने किसान बढ्दै गएको उनको भनाइ छ। पर्याप्त सिँचाइका साधन उपलब्ध हुन थालेपछि किसानले हर्दिनाथ जातको चैते धानखेतीपश्चात् बर्खे धानखेती गरेर दोहोरो फाइदा लिन थालेको उनले बताए।

उनका अनुसार नगरपालिकामा खेतीमा संलग्न किसानमध्ये ८० प्रतिशतले धानखेती गर्दै आएका छन्। त्यसमध्ये चैते धानखेती मात्रै गर्ने किसानको सङ्ख्या पाँच प्रतिशत रहेको छ। थोरै जग्गामा चैते धानखेती गर्ने किसान ८० बढी भएको जनाउँदै कृषि विकास शाखाका प्रमुख धामीले एक बिघाभन्दा बढी क्षेत्रफलमा चैते धानखेती गर्ने किसान ३० बढी रहेको बताए।

गत वर्ष मात्रै नगरपालिकाले अनुदानमा बीउ उपलब्ध गराएर ४० बिघा जग्गामा २५ किसानले चैते धानखेती गरेको उनले बताए। बर्खे धानभन्दा चैते धानले बढी उत्पादन दिने भएकाले किसानले यसको खेतीलाई प्राथमिकतामा राख्न थालेकाले यस वर्ष पनि अनुदानको कार्यक्रम राखिएको उनले जानकारी दिए।

'चैते धानमा बर्खे धानको तुलनामा रोग कीरा कम लाग्ने, मसिनो दाना हुने र धेरै फल्ने भएकाले किसानले यस धानको खेतीलाई रुचाएका छन', धामीले भने। फागुनमा बीउ राखेर किसानले चैतभित्र यस धानलाई रोप्ने गरेका छन्। रोपेको चार महिनामा धान पाक्ने गर्दछ। असारमा चैते धान काटेर किसानले बर्खे धानखेती गर्दै आएका छन्। 

चैते धानको बीउ अनुदानमा लगेका किसानले अनिवार्यरुपमा धान रोपेकै हुनुपर्ने नियम नगरपालिकाले बनाएको छ। कृषि ज्ञान केन्द्रका अनुसार कुल धानखेती हुने ४८ हजार चार सय ९६ हेक्टरमध्ये तीन सय हेक्टर जग्गामा चैते धानखेती हुने गरेको छ। रासस


प्रकाशित : सोमबार, माघ २२ २०८०१३:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend