बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

दूध र दही बेचेरै मासिक डेढ लाख कमाउँछन् टीकारामका दाजुभाइ

बुधबार, माघ १७ २०८०
दूध र दही बेचेरै मासिक डेढ लाख कमाउँछन् टीकारामका दाजुभाइ

दूध र दही बिक्री गरेर २३ सदस्य परिवारको खर्च जुटाउनका साथै बचत गरेर जग्गासमेत किनेको टीकारामले बताए। पुर्ख्यौली पेसा भैँसीपालनमा उनको परिवारै जुटेको छ। उनका भाइले पनि सघाउँदै आएका छन्।

घोराही- दाङको राजपुर गाउँपालिका-४ निवासी टीकाराम यादवको पुर्ख्यौली पेसा भैँसीपालन हो। उनले भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आएका छन्। उनले यसैकोआम्दानीबाट घरपरिवारको खर्च पनि चलाउँदै आएका छन्।

परम्परागत पेसालाई व्यावसायिक बनाउँदै लगेका उनले भैँसीपालनबाट दूध र दही बिक्री गरेर पछिल्लो समय एक लाख ५० हजार रूपैयाँसम्म मासिक आम्दानी गर्दै आएका छन्।

उनले साना-ठूला गरेर ७२ भैँसीपालन गरेका छन्। दूध र दही बिक्री गरेर २३ सदस्य परिवारको खर्च जुटाउनका साथै बचत गरेर जग्गासमेत किनेको उनको भनाइ छ। उनले भने, 'हाम्रो मुख्य आम्दानी नै भैँसीपालन हो, दूध, दही र घिउ बिक्री गरेर घरव्यवहार चलाउनेदेखि बचतसमेत गर्ने गरिरहेको छु।'

ती भैँसीमध्ये १७ भैँसीले दूध दिने र दैनिक करिब ६० देखि ७० लिटरसम्म दूध बिक्री गर्दै आएको उनले बताए।

उनका भाइ टेकबहादुर यादवले लमही बजारसम्म पुर्‍याएर दूध बिक्री गर्ने काम गर्दै आएको बताए। घरका अन्य सदस्यले पनि काममा साथ दिएको उनी बताउँछन्। विदेशमा अर्काको अधिनमा बसेर काम गर्नुभन्दा आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर भैँसीपालन गर्दा राम्रो आम्दानीसँगै सन्तुष्ट रहेको उनी बताउँछन्। उनीसँग वैदेशिक रोजगारको समेत अनुभव छ। 

उनले भने, 'विदेशमा १२ घण्टा दैनिक काम गर्दा महिनामा ६०-७० हजार रूपैयाँसम्म कमाइ हुन्छ, त्यो कमाइमा विदेशमा बसिरहन मनले मानेन र एक वर्षमै फर्किएँ, भैँसी बढाएर पाल्दै आएको छु। आम्दानी पनि राम्रै भइरहेको छ।'

दूध बिक्री गरेर भएको आम्दानीको आधा रकम भैँसीका लागि दाना, घाँस र औषधिमा लाग्ने गरे पनि बाँकी रकम नाफा हुने गरेको उनी बताउँछन्। गाउँमा सबैभन्दा धेरै भैँसीपालन गर्ने किसानका रूपमा रहेका यावद लाखौँ खर्च गरेर विदेशमा काम गर्नुभन्दा आफ्नै ठाउँमा परिवारसँग बसेर पैसा कमाउन सकिने अरुलाई समेत सुझाव दिन्छन्। त्यसका लागि आफूमा आत्मविश्वास हुनुपर्ने उनी बताउँछन्।

उनले भने, 'विदेशमा दिनमा १२ घण्टासम्म काम गर्नेले आफ्नो ठाउँमा पनि त्यहीअनुसार मेहनत गर्न सके कमाइ गर्न सकिन्छ।' 

भैँसीपालनबाटै राम्रो आम्दानी गरिरहेका यादवले सरकारबाट अहिलेसम्म कुनै प्रकारको सहयोग प्राप्त नगरेको गुनासो गर्दै भने, 'अहिलेसम्म जे-जति गरेको छु, सबै आफ्नै मेहनत र परिश्रमबाट गरेको छु। कतैबाट कुनै सहयोग लिएको छैन।'

कतैबाट सहयोग प्राप्त नभए पनि आफ्नै मेहनतले पुर्ख्यौली पेसालाई व्यवस्थित गर्दै लग्ने सोचमा रहेको उनी बताउँछन्। रासस


प्रकाशित : बुधबार, माघ १७ २०८०११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend