बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ प्रदान

सोमबार, माघ १५ २०८०
पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ प्रदान

२०७१ सालबाट सुरु गरिएको यस 'एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान' कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्य राखेको एनसेलले जनाएको छ।

काठमाडौं- एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत शुक्रबार इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ प्रदान गरेको छ। यो एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको १०औँ वर्ष हो।

एनसेलका अनुसार यस कार्यक्रमअन्तर्गत सिभिल, ईलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिन्छ।

छात्रवृत्ति तथा उत्कृष्टता सम्मान एनसेलको मुख्य कार्यलय एनसेल आइकन, लैनचौरमा आयोजित एक विशेष कार्यक्रममाझ विद्यार्थीका अभिभावकहरु, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरु, एनसेलका व्यवस्थापनका सदस्यहरु र अन्य पाहुनाहरुको उपस्थितिमा प्रदान गरिएको थियो।  

यसवर्ष अर्थात् २०८० का लागि १८ वटा शीर्षकअन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको छ। साथै उत्कृष्ट नतिजा ल्याइ यी पाँच संकायबाट स्नातक उत्तीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको हो।

इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा शशीधर राज जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए।

एनसेलका चिफ लिगन एन्ड रेगुलेटरी अफिसर विशालमणि उपाध्याय, चिफ कमर्सियल अफिसर उमेर मोहसिन र एक्टिङ् चिफ टेक्नोलोजी अफिसर लेना केशरी कंसाकारले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए।

एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, 'आर्थिकरूपमा मात्र होइन, यो महत्त्वपूर्ण सम्मानले सबैलाई राम्रा काम जारी राख्न प्रेरित गर्नेछ। प्रतिभा विकासमार्फत समाजको भविष्यको लागि अनवरत लागिरहेका इन्जिनियरिङ अध्ययन संस्थानका सबैलाई उहाँँहरुको अथक प्रयासका लागि धन्यवाद दिन चाहन्छु।'

यस्तै पुल्चोक क्याम्पसका विद्यार्थीहरूलाई लगातार १० वर्षसम्म एनसेल छात्रवृत्ति र उत्कृष्टता सम्मान प्रदान गरेकोमा एनसेललाई सम्मानस्वरुप इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसले कदरपत्र प्रदान गरको छ।

यसअघि दुई पटक एनसेल छात्रवृत्ति प्राप्त गरेका र यो वर्ष इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरी एनसेल उत्कृष्टता सम्मान प्राप्त गरेको विवेक खनालले भने, 'यो अवार्ड मेरो कडा मेहनत र पढाइ देखाएको उत्कृष्टताको परिणाम हो। यो एक आर्थिक सहयोग पनि हो तर अझ महत्त्वपूर्ण कुरा भनेको यो वास्तवमै एक ठूलो सम्मान हो र यसले विद्यार्थीहरूलाई एकदम लगनशील भएर आफ्नो पढाइमा लाग्न उत्प्रेरित गर्दछ। यो सहकार्यको लागि म एनसेल र इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसलाई धन्यवाद दिन चाहन्छु।'

यस्तै एनसेल छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी बेन्जिना ढकालले एनसेलले शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै छात्रवृत्ति पाउँदा खुशी लागेको बताइन्। उनले मेकानिकल इन्जिनियरिङ संकायअन्तर्गत दोस्रो वर्षमा उत्कृष्ट बन्दै यो छात्रवृत्ति पाएकी हुन्।

२०७१ सालबाट सुरु गरिएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

प्रत्येक वर्ष एनसेल छात्रवृत्ति इन्जिनियरिङ पाँच संकायमा स्नातक तहको प्रथम, द्धितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्धितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्दछन्।

कुल १८ जनामध्ये पाँचवटै संकायका छात्राहरुबाट उत्कृष्ट नतिजा ल्याएका द्धितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक/एक जना गरी तीन छात्राले यो छात्रवृति पाउने गर्दछन्।

यसैगरी उत्कृष्टता सम्मानअन्तर्गत सिभिल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा सर्वोत्कृष्ट नतिजासहित स्नातक तहको पढाइ सकाएका प्रत्येक संकायका १/१ जना र यी पाँचै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्दछ। हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रूपैयाँ रहेको छ। 


प्रकाशित : सोमबार, माघ १५ २०८०१२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend