बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

च्याउखेतीबाट राम्रो आम्दानी गरिरहेका छन् टीकाप्रताप, यसवर्ष २० लाखको बिक्री गर्ने लक्ष्य

आइतबार, माघ १४ २०८०
च्याउखेतीबाट राम्रो आम्दानी गरिरहेका छन् टीकाप्रताप, यसवर्ष २० लाखको बिक्री गर्ने लक्ष्य

मसरुम सुप तयार पार्ने मेसिन खरिद गरिएको र उत्पादन धेरै हुँदा प्याकेट पारी बिक्री गर्ने गरिएको छ। च्याउ फार्ममा दुई कामदारसमेत छन्।

त्रिवेणी- बिहान उठेपछि साँझसम्म च्याउको रेखदेख गर्ने, च्याउ टिप्ने र हाटबजार लगेर बेच्ने टीकाप्रताप सेन ठकुरीको दिनचर्या बनेको छ। ५६ वर्ष पुगेका नवलपरासी (बर्दघाट) सुस्तापूर्व नवलपुरको कावासोती-८ का उनले च्याउ खेतीबाट राम्रो आम्दानीसमेत गर्दै आएका छन्।

पाँच वर्ष अघिदेखि च्याउ खेती सुरु गरेका ठकुरीको अहिले बाह्रवटा टनेलमा च्याउ उत्पादन भइरहेका छन्। सुरुमा घरमा दुईवटा टनेलमा च्याउ खेती प्रारम्भ गरेका उनले च्याउ खेतीमा आम्दानी लिन सकिन्छ भन्ने थाहा भएपछि घर नजिकै दसकठ्ठा जग्गा भाडामा लिएर खेती विस्तार गरेका हुन्।

घरमा दुई र भाडाको जग्गामा दशवटा टनेल बनाएर च्याउ उत्पादन गरिरहेको ठकुरीले बताए। एक पटक लगाइएको एउटा च्याउ उत्पादन गर्ने पोकाबाट सात/आठ पटक च्याउ टिप्न सकिने उनको भनाइ थियो । 

गत वर्ष करिब पाँच क्वीन्टल च्याउ बिक्री गरेका ठकुरीले यसवर्ष बाह्र क्वीन्टलको हाराहारी उत्पादन गरी बिक्री गर्ने लक्ष्य लिएका छन्। यसपटक धेरै च्याउ उमार्ने गरी काम गरिएको र उत्पादित च्याउ कावासोतीकै बजारमा खपत हुँदै आएको ठकुरीको भनाइ थियो।

यसवर्ष २० लाख रूपैयाँ बराबरको च्याउ बिक्री गर्ने योजनाअनुसार काम गरिरहेका उनले खर्च एक लाख रूपैयाँ हुने र खर्च कटाएर दश लाख रूपैयाँसम्म आम्दानी लिने लक्ष्य रहेको बताए।

च्याउ उत्पादन धेरै हुँदा सुकाएर मसरुम सुपका लागि पोका बनाएरसमेत बिक्री गर्ने गर्ने गरिएको छ। मसरुम सुप तयार पार्ने मेसिन खरिद गरिएको र उत्पादन धेरै हुँदा प्याकेट पारी बिक्री गर्ने गरिएको छ। च्याउ फार्ममा दुई कामदारसमेत छन्। त्यसबाहेक छोराले पनि च्याउ उत्पादन तथा बिक्रीमा सहयोग पुर्‍याउँदै आएको उनले बताए।

पहिले भारत र नेपालमा गाडी चालकका रुपमा काम गरेका ठकुरी त्यो काम छाडेर केरा खेतीमा लागे। केरा खेतीमा भनेजस्तो आम्दानी नभएपछि हाटबजारमा तरकारी खरिद बिक्री गर्न सुरु गरेका उनी पछि च्याउ खेतीमा लागेका हुन्। छोरा ठूलो हुँदै गएपछि विदेश पठाउनु भन्दा यहीँ नै केही पेसा गरौँ भन्ने लागेर च्याउ खेतीगर्न सुरु गरिएको ठकुरीको भनाइ थियो।

'छोराको पनि उमेर पुगेपछि विदेश पठाउनुपर्थ्यो, विदेशमा राम्रै हुन्छ भन्ने ग्यारेन्टी थिएन, के गर्ने भन्ने विकल्प खोज्दै जाँदा यता लागियो', उनले भने, 'अहिले छोराले पनि यसैमा साथ दिएको छ, आम्दानी पनि राम्रौ छ, च्याउ खेती गर्ने रहर पुगेको छैन। यसका लागि लागि कृषि ज्ञान केन्द्रले बीउ खरिदमा एक लाख रूपैयाँ सहयोग गरेको छ।'


प्रकाशित : आइतबार, माघ १४ २०८०१६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend