बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

कृष्णपुरका ११० किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल

शनिबार, माघ १३ २०८०
कृष्णपुरका ११० किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल

टनेल माग गरेका अन्य ९९ जनालाई पनि प्राथमिकतामा राखेर समेट्ने र त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने वडाध्यक्षले बताए।

कञ्चनपुर- व्यावसायिक तरकारीखेतीमा संलग्न कृष्णपुर नगरपालिका-६ का एक सय १० किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिकको टनेल उपलब्ध गराइएको छ। तरकारीखेती गर्नमा सघाउ पुर्‍याउनका लागि वडा कार्यालयले चालु आवको स्वीकृत कार्यक्रमअन्तर्गत तीन लाख रूपैयाँ बजेटमा किसानलाई टनेल उपलब्ध गराएको हो। 

'व्यावसायिक तरकारीखेतीमा संलग्न तत्काल प्लाष्टिक टनेल निर्माण गर्नुपर्ने अवस्थाका किसानलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रममा सहभागी गराएका छौँ', वडाध्यक्ष बाबुराम चौधरीले भने, 'टनेल माग गरेका अन्य ९९ जनालाई पनि प्राथमिकतामा राखेर कार्यक्रममा समेट्छौँ।' त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने उनले बताए।

नगरपालिको वडा नं ६ को सिंहपुर, बालुवाफाँटालगायत तरकारी पकेट क्षेत्रका रुपमा रहेको छ। वडाका अधिकांश किसानले व्यावसायिक तरकारीखेती गर्दै आएका छन्। जिल्लाको तरकारीको आधा माग वडामा उत्पादन हुने तरकारीले धानिँदै आएको वडाध्यक्ष चौधरीले बताए।

यसैगरी आजै वडाबाट पाँच सय किसानलाई दुई लाख रूपैयाँ मूल्य बराबरको लौका, करेला, भिन्डी, प्याज, फर्सीलगायतका बेमौसमी तरकारीको बीउ निःशुल्करुपमा उपलब्ध गराइएको छ। 'किसानलाई व्यावसायिक तरकारीखेती गर्नमा सहजता ल्याउनका लागि बीउ र प्लाष्टिक टनेल वितरण गरेका हौँ', उनले भने, 'अर्को आवमा पनि किसानको मागअनुसारका कार्यक्रम सञ्चालन गर्नका लागि योजना बनाउँछौँ।' 

वडामा रहेका थारु गाउँका भलमन्साका लागि एक/एक स्टील दराज वितरण गर्ने कार्य रहेको उल्लेख गर्दै उनले एक दुई दिनभित्रै वितरण गरिने बताए। यस्तै वडाका ४० महिलालाई व्यवसायउन्मुख गराउनका लागि युनिक नेपालको सहयोगमा सिलाइकटाइ तालिम सञ्चालन गरिरहेको उनले जानकारी दिए।


प्रकाशित : शनिबार, माघ १३ २०८०१४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend