बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

कृषिबाली सुधार्न डोटीमा माटो परीक्षण

मंगलबार, माघ ९ २०८०
कृषिबाली सुधार्न डोटीमा माटो परीक्षण

दिनप्रतिदिन बसाइँसराइ समस्याले ग्रसित भइरहेको गाउँपालिकामा कृषिसम्बन्धी विभिन्न समस्या भइरहेको बताउँदै उपाध्यक्ष लक्ष्मी रोकायाले माटो परीक्षणबाट आएको नतिजाका आधारमा आदर्श गाउँपालिकाले किसानलाई सहयोग गर्ने बताइन्।

दीपायल- डोटीमा कृषिबाली सुधार्न माटो परीक्षण गरिएको छ। जिल्लाको आदर्श गाउँपालिकाअन्तर्गत विभिन्न वडाको माटोको अवस्था बुझी माटो सुधारका उपायहरू अपनाउन र उत्पादन बढाउन सहजता होस् भन्ने हेतुले माटो परीक्षण शिविर सञ्चालन गरिएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काले बताए।

माटो परीक्षणको नतिजाअनुसारका कृषिको पकेट क्षेत्र तय गरी बजेट व्यवस्था गरिने अध्यक्ष खड्काले बताए। माटो परीक्षणपछि खेतबारी सुधार्न किसानलाई राहत हुने आदर्श गाउँपालिका-१ नम्बरका स्थानीय मुकुन्द अवस्थीले बताए। यहाँका किसानका लागि यो राम्रो अवसर भएको उनको भनाइ छ।

माटो परीक्षणपछि खेतबारी सुधार्न किसान स्वयं जुट्न आवश्यक रहेको कृषि विकास निर्देशनालय राजपुर डोटीका निर्देशक यज्ञराज जोशीले बताए। कृषि क्षेत्रमा आदर्श गाउँपालिकाले विभिन्न गतिविधि सञ्चालन गरिएकाले यसलाई निरन्तरता दिनका लागि सोहीअनुसारका नीति तथा कार्यक्रम तय गरी अगाडि बढ्नुपर्ने निर्देशक जोशीले बताए।

माटो परीक्षण घुम्ती शिविरमा सबै वडाका किसानले माटो परीक्षणका लागि ल्याएको आदर्श गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी रोकाया धामीले जानकारी दिइन्। दिनप्रतिदिन बसाइँसराइ समस्याले ग्रसित भइरहेको गाउँपालिकामा कृषिसम्बन्धी विभिन्न समस्या भइरहेको बताउँदै उपाध्यक्ष रोकायाले माटो परीक्षणबाट आएको नतिजाका आधारमा आदर्श गाउँपालिकाले किसानलाई सहयोग गर्ने पनि बताइन्।

गाउँपालिकाका विभिन्न वडामा माघ ७ र ८ गते सञ्चालन भएको शिविरबाट तीन सय ३३ वटा माटोको नमुना संकलन गरिएको माटो तथा मलपरीक्षण प्रयोगशाला कञ्चनपुरका प्राविधिक अधिकृत दलबहादुर खड्काले बताए। माटो परीक्षणको नतिजा २/३ दिनभित्र आउने अधिकृत खड्काले बताए। माटोको उपचार र संरक्षणबारे डोटीलगायत सुदूरपश्चिम प्रदेशका धेरै किसान अझै पनि अनभिज्ञ रहेको उनको भनाइ छ।

आदर्श गाउँपालिकाको आयोजना, कृषि विकास निर्देशनालय राजपुरको समन्वय र माटो तथा मल परीक्षण प्रयोगशाला कञ्चनपुरको सहयोगमा शिविर सञ्चालन गरिएको आदर्श गाउँपालिकाका कृषिशाखा प्रविधि  खेमराज पाठकले बताए। रासस  


प्रकाशित : मंगलबार, माघ ९ २०८०१४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend