बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

गहुँको तथ्यांक संकलनमा पहिलोपटक स्याटेलाइट इमेज प्रविधिको प्रयोग हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ९ २०८०
गहुँको तथ्यांक संकलनमा पहिलोपटक स्याटेलाइट इमेज प्रविधिको प्रयोग हुँदै

स्याटेलाइट इमेजको सहायताबाट उत्पादन हुने क्षेत्रको आँकडा पसंकलन हुने र यसबाट तथ्यांकीय विश्लेपषणमा पनि सहयोगी हुने मन्त्रालयको बुझाइ छ।

काठमाडौं- सरकारले यो वर्षदेखि गहुँ उत्पादनको तथ्यांक संकलनमा नयाँ प्रविधिको प्रयोग गर्ने भएको छ। 

अहिलेसम्म धानको तथ्यांक संकलनमा प्रयोग हुँदै आएको स्याटेलाइट इमेज प्रविधिको प्रयोग यो वर्षदेखि गहुँमा पनि प्रयोग गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ। 

यो वर्षको धानको उत्पादनमा प्रयोग भएको यो प्रविधिबाट तथ्यांक भिडान र संकलन गर्दा सहज भएको भन्दै मन्त्रालयले गहुँको तथ्यांक संकलनमा पनि यो प्रविधि प्रयोग गर्ने भएको हो। 

इसिमोडको सहायतामा पछिल्ला केही वर्षदेखि मन्त्रालयले यो प्रविधिको प्रयोग गर्दै आएको छ। स्याटेलाइट इमेजको सहायताबाट उत्पादन हुने क्षेत्रको आँकडा संकलन हुने र यसबाट तथ्यांकीय विश्लेपषणमा पनि सहयोगी हुने मन्त्रालयको बुझाइ छ। 

विश्वासनीयताको परीक्षणमा सफल भएकाले गहुँमा पनि प्रयोग गर्ने तयारी अघि बढेको मन्त्रालयका प्रवक्ता सवनम देवकोटाले जानकारी दिइन्। 

‘अहिलेसम्मको प्रयोगबाट विश्वासनीयतामा प्रश्न उठेको छैन, विश्वासनीयता देखिएकैले गर्दा गहुँमा पनि यसको प्रयोग गर्ने हाम्रो तयारी छ’ उनले भनिन्। 

धान र मकैपछि नेपालमा सबैभन्दा धेरै उत्पादन बाली गहुँ हो। गत वर्ष गहुँको उत्पादन पछिल्लो चार वर्षकै न्यून भएको थियो। गत वर्ष २० लाख ९८ हजार टन उत्पादन भएको थियो। जुन पछिल्लो चार वर्षकै न्यून थियो। 

यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँको उत्पादन अपेक्षित वृद्धि नहुने बुझाइ अधिकारीहरूको छ। नेपालमा धेरै जातिका गहुँको उत्पादन हुन्छ। क्षेत्र अनुसार विभिन्न जातिका गहुँको खेती भएपनि थप अनुसन्धान तथा विकास नहुँदा उत्पादकत्वमा अपेक्षित सुधार अझै देखिएको छैन। 


प्रकाशित : मंगलबार, माघ ९ २०८०१०:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend