बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

पर्वतमा रैथाने बालीको संरक्षण गरिँदै

शनिबार, माघ ६ २०८०
पर्वतमा रैथाने बालीको संरक्षण गरिँदै

स्थानीय उत्पादन र रैथाने बालीको उपभोग घट्ने तथा आयातित खाद्यान्नको उपभोग बढ्दै जान थालेपछि संरक्षण र प्रवर्द्धन गर्न थालिएको हो।

पर्वत- यहाँ रैथाने बालीको संरक्षण र प्रवर्द्धन गर्न थालिएको छ। स्थानीय उत्पादन र रैथाने बालीका उत्पादित वस्तुको उपभोग घट्ने तथा आयातित खाद्यान्नको उपभोग बढ्दै जान थालेपछि संरक्षण र प्रवर्द्धन गर्न थालिएको हो।

परम्परागत रैथाने बाली लोप हुँदै गएको र उपभोगसमेत घट्न थालेपछि कृषि ज्ञान केन्द्रले पछिल्लो समय बाली संरक्षणमा जोड दिएको हो। स्थानीय किसानलाई जैविक खाद्यवस्तुमा प्रोत्साहन गर्ने गरी रैथाने बाली संरक्षण तथा रैथाने बाली प्रवर्द्धन गर्न लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

यहाँ उत्पादन हुने धान, मकै, कोदो, फापर, सिमी, चिनो, कागुनो, लट्टे, जौ, गहुँ, तोरीलगायत अन्न बाली पछिल्लो समय हराउँदै गएका छन्। ती बालीको संरक्षण गर्न अनुदानका कार्यक्रम अघि सारिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शंकर पौडेलले जानकारी दिए।

रैथाने बाली स्थानीयका लागि खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनमा आवश्यक रहेका कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरनजस्ता खनिजको प्रचुरता बढी पाइने भएकाले संरक्षणमा जोड दिइएको पौडेलको भनाइ छ।

पछिल्लो समय रैथाने बालीको उत्पादन घटेको तर परिकारको माग बढेको भए पनि कसरी उपयोग गर्ने भन्ने ज्ञानसमेत सहरी क्षेत्रमा हराउँदै गएकाले किसानलाई परिकार बनाउने र बजारीकरण गर्ने गरी तालिम दिने गरिएको सो कार्यालयले जनाएको छ। 

स्थानीय बजारमा फापर, कोदो र मकैको पीठो, कागुनोलगायत बालीको माग बढेको छ। रैथान बालीलाई व्यावसायिक रूपमा खेती गर्न सकेमा स्थानीयले यसबाट नै जीविकोपार्जन गर्नसक्ने सम्भावना रहेको वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले जानकारी दिए। उनका अनुसार यस वर्ष रैथाने बाली उत्पादन तथा प्रवर्द्धन कार्यक्रमका लागि पाँच लाख रूपैयाँ र प्रशोधन तथा बजारीकरणका लागि चार लाख रूपैयाँ रकम विनियोजन गरिएको छ।

यसैबीच, कृषि ज्ञान केन्द्रले रैथाने बालीको उत्पादन बढाउन स्थानीय उत्पादनका विभिन्न परिकार बनाएर खुवाउने गरेको छ। केन्द्रमा शुक्रबार जिल्लाका कार्यालय प्रमुख, संघसंस्था साथै किसानलाई परिकार बनाएर खुवाइएको हो। यसले रैथाने बालीका उत्पादनका परिकार बनाउने र खाने प्रचलन बढ्ने अधिकृत पौडेलको भनाइ छ।

स्थानीय होटलमा समेत रैथाने बालीका उत्पादनका विभिन्न परिकार पाइने गरेको भए पनि सोचेजस्तो उपभोग भने हुन नसकेको किसान विनोद भुसालले बताए। रासस


प्रकाशित : शनिबार, माघ ६ २०८०१४:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend