बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

पकेट क्षेत्रमै ६० प्रतिशत घट्यो सुन्तला उत्पादन

शनिबार, माघ ६ २०८०
पकेट क्षेत्रमै ६० प्रतिशत घट्यो सुन्तला उत्पादन

विगत दुई दशकदेखि गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएका छन्।

पर्वत- सुन्तला उत्पादनका लागि ख्याति कमाएको पर्वतको मोदी गाउँपालिका-२ देउपुरका सुन्तला कृषक गत वर्षजस्तो खुसी छैनन्। किनकी, यस वर्ष उनीहरुले सोचेअनुसारको कमाइ भएन।

गत वर्ष सुन्तला उत्पादनबाट पाँच करोड रूपैयाँभन्दा बढी भित्र्याएका कृषकले यस वर्ष झन्डै दुई करोड रूपैयाँमा चित्त बुझाउन बाध्य भएका छन्। गत वर्षभन्दा ६० प्रतिशतले उत्पादनमा कमी आएको कृषकले गुनासो गरेका छन्।

सुन्तला पकेट क्षेत्र भए पनि बोट मर्ने र फल पाक्ने बेलामा औँसा किराको प्रभावले पनि यस वर्ष उत्पादनमा ६० प्रतिशतले गिरावट आएको स्थानीय कृषक खेमनाथ पौडेलले जानकारी दिए।

यहाँका बगैँचामा सुन्तला किन्नका लागि काठमाडौँ पोखरा, नारायणगढदेखि व्यापारी घरघरमै आएर लगिसकेका छन् । तीन वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि यस वर्ष व्यापारीलाई निजी ढंगले बगैँचा जिम्मा लगाएको माछापुच्छ्रे सुन्तला सहकारी संस्थाका पूर्वअध्यक्ष दाताराम चापागाईँले बताए। यस वर्ष उत्पादन घटेकाले गत वर्षजस्तो राम्रो कमाइ नभएको उनले बताए। 'गएको वर्ष पाँच करोड रूपैयाँभन्दा बढीको सुन्तला बिक्री गरेका थियौँ। यस वर्ष मुस्किलले दुई करोड रूपैयाँ जति आम्दानी भएको अनुमान छ', चापागाईँले भने।

आफूले गत वर्ष छ लाख रूपैयाँको सुन्तला बिक्री गरेकामा यस वर्ष दुई लाख रूपैयाँभन्दा आम्दानी नभएको उनले गुनासो गरे।

स्थानीय शिक्षक भूमिराज शर्माका अनुसार सुन्तला टिप्नका लागि एक साताअघिसम्म व्यापारीका कामदारले देउपुरका बगैँचा भरिएका थिए। सुन्तला टिप्ने र लैजानेका कारण मेला लागेजस्तै देखिएको थियो। थोक व्यापारीले बगैँचाबाट नै खरिद गरेपछि कृषकलाई पनि सहज भएको उनले उल्लेख गरे।

देउपुरका कृषक खेमराज पौडेलले एक वर्ष बढी फल्ने र अर्को वर्ष कम फल्ने भएकाले गत वर्षजस्तो उत्पादन नभएको बताए। उनले गत वर्ष पाँच लाख रूपैयाँमा सुन्तलाको बगैँचा बिक्री गरेको बताउँदै यस वर्ष झण्डै आधा जति घटेको जानकारी दिए।

विगत दुई दशकदेखि गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएका छन्। परम्परागत रुपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकले सुन्तला खेती गरिएपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आएको छ। यहाँका एक सय ६० भन्दा बढी कृषक अन्य खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा लागेका हुन्।

साविक देउपुर गाविसमा सुन्तलाको सम्भाव्यता उच्च भएकाले विगत लामो समयदेखि सुन्तला खेतीलाई व्यावसायिकरुपमा सुरु गरेको अर्का कृषक विजय चापागाईँले बताए। उनले सुन्तला खेतीको विस्तारका लागि अझै प्रयास गर्न जरुरी रहेको बताए। सुरुमा कोदो मकै मात्र लगाएर बस्ने गरेको ठाउँमा सुन्तला लगाएपछि वार्षिकरुपमा प्रत्येक परिवारको दुईदेखि सात लाख रूपैयाँसम्म कमाइ हुन थालेको चापागाईँको भनाइ छ।

यस वर्षदेखि सुन्तलाका बोट मर्न थालेको स्थानीय टीकाराम तिमिल्सिनाले बताए। ठूला र साना बोट पनि धमाधम मर्न थालेको र रोग पत्ता नलागेको उनले बताए। विभिन्न औषधि प्रयोग गरे पनि निरन्तर रुख सुक्न थालेको उनको भनाइ छ। 

यता कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकृत शंकर पौडेलले बोटमा लामो समय फल राख्दा अर्को वर्षको उत्पादनमा कमी आउने बताए। उनले देउपुरमा औँसा कीरा, फल झर्नेलगायत अन्य सङ्क्रमणका कारण पनि सुन्तलाको उत्पादन गत वर्षभन्दा घटेको बताउँदै समग्र जिल्लाभरमा भने उत्पादनमा असर नगरेको बताए। रासस


प्रकाशित : शनिबार, माघ ६ २०८०१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend