बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लगानी सम्मेलनको तयारीमा तीव्रता दिन अर्थमन्त्री महतको निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ ५ २०८०
लगानी सम्मेलनको तयारीमा तीव्रता दिन अर्थमन्त्री महतको निर्देशन

आगामी लगानी सम्मेलन निजी क्षेत्र तथा विकास साझेदारहरूसँगको सहकार्यमा नेपाल सरकारले आयोजना गर्न लागेको हो।

काठमाडौं- आगामी बैशाख १६ र १७ मा काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनको तयारीमा तीव्रता दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्देशन दिएका छन्।

आज शुक्रबार बसेको लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकमार्फत अर्थमन्त्री महतले आवश्यक नीतिगत, कानूनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन निर्देशन दिएका हुन्।

आगामी लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अर्थमन्त्री डा. महतले सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न निजी क्षेत्रलाई आह्वान गरे।

आगामी लगानी सम्मेलन निजी क्षेत्र तथा विकास साझेदारहरूसँगको सहकार्यमा नेपाल सरकारले आयोजना गर्न लागेको हो।

निर्देशक समितिको आजको बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हालसम्म भएका तयारीबारे संक्षिप्त प्रस्तुतीकरण दिए।

लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सचिवालय गठन गरी काम अगाडि बढाएको छ।

साथै नीतिगत, प्रक्रियागत र कानूनी सुधारका लागि प्रधानमन्त्री कार्यालयका सचिव (आर्थिक पूर्वाधार महाशाखा)को संयोजकत्वमा कार्यदल गठन भएको छ। यी सबै समिति र कार्यदलहरूले आ-आफ्नो क्षेत्रमा सक्रियतापूर्वक कार्य गरिरहेका छन्। 

आज सम्पन्न निर्देशक समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति,  ऊर्जा, जलस्रोत तथा सिँचाइ, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालयका मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा निजी क्षेत्रका छाता सङ्गठनहरूको सहभागिता रहेको थियो। रासस


प्रकाशित : शुक्रबार, माघ ५ २०८०१७:५३
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend