बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

गोरखाका किसानलाई फलफूलको बेर्नामा अनुदान

सोमबार, माघ १ २०८०
गोरखाका किसानलाई फलफूलको बेर्नामा अनुदान
फाइल तस्बिर

परियोजनाअन्तर्गत किसानलाई १७ लाख ८० हजार रूपैयाँ रकम उपलब्ध गराइएको हो।

गोरखा- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गोरखाले किसानलाई सुन्तला जातका फलफूलको बेर्नामा अनुदान उपलब्ध गराएको छ। परियोजनाअन्तर्गत किसानलाई १७ लाख ८० हजार रूपैयाँ रकम उपलब्ध गराइएको हो।

फलफूलको उत्पादन वृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यसहित परियोजनाले फलफूलका बेर्नामा अनुदान उपलब्ध गराएको परियोजना कार्यालय गोरखाकी प्रमुख वरिष्ठ कृषि अधिकृत पूर्ण ढुंगानाले जानकारी दिए।

'किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्दै उत्पादन बढाउने परियोजनाको उद्देश्य छ', उनले भने, 'सोहीअनुरुप व्यावसायिक रुपमा सुन्तला जातका फलफूलको खेती गर्ने किसानलाई बेर्नामा अनुदान उपलब्ध गराएको हो।'

परियोजनामार्फत कार्यालयबाट गत आर्थिक वर्षमा कुल २४ हजार एक सय १६ फलफूलका बेर्ना खरिद गरेर वितरण गरेको प्रमुख ढुंगानाले बताए। परियोजनाले कृषक समूह, सहकारी, कृषि उद्यमीलाई माग आधारमा मात्र नभई जमिनको क्षमता र आवश्यकताको पहिचान गरी ५० प्रतिशत अनुदानमा फलफूलका बेर्ना वितरण गर्दै आएको छ। कार्यालयले बेर्नामा अनुदान उपलब्ध गराएसँगै गत आवमा जिल्लामा थप ८० हेक्टर जमिनमा सुन्तला खेती गर्ने क्षेत्रफलमा वृद्धि भएको छ।

परियोजनाले चक्लाबन्दी खेती, नमूना बगैँचा स्थापना तथा क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत किसानलाई बेर्नामा अनुदान उपलब्ध गराएको हो। परियोजनाअन्तर्गत गोरखा नगरपालिका, सहिद लखन गाउँपालिका, धार्चे गाउँपालिका, भीमसेनथापा गाउँपालिका, आरुघाट गाउँपालिका तथा पालुङटार नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको छ। यस्तै परियोजनाअन्तर्गत नै तनहुँको भानु नगरपालिका-११ र बन्दीपुर गाउँपालिका-६ मा पनि उक्त कार्यक्रम सञ्चालन गरिएको छ।


प्रकाशित : सोमबार, माघ १ २०८०११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend