बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

खस्किएको बजारको मनोविज्ञान अझै उठेन, छ महिनामा १ खर्ब ५० अर्बको ‘राजस्व सर्टफल’

सोमबार, माघ १ २०८०
खस्किएको बजारको मनोविज्ञान अझै उठेन, छ महिनामा १ खर्ब ५० अर्बको ‘राजस्व सर्टफल’

यो अवधिमा कतिपय आकस्मिक लाभ हुँदा पनि सरकार लक्ष्यभन्दा निकै टाढा देखिएको छ।

काठमाडौं- शिथिल बजार सामान्य नहुँदा लक्ष्यअनुसारको राजस्व उठाउन सरकार असफल भएको छ।

बजेटबाट कयौं शीर्षकमा दिइएको करछुट खारेज तथा नयाँ कर लगाएको सरकारले गत वर्षको तुलनामा हालसम्मै उच्च वृद्धिदरको लक्ष्य लिएको थियो। तर छ महिनासम्मको आँकडाअनुसार सरकार लक्ष्यभन्दा खर्बबढीले पछाडि परेको छ। 

साउनदेखि पुससम्म सरकारले ६ खर्ब ६८ अर्ब आम्दानी गर्ने लक्ष्य लिएको थियो। त्यसमा जम्मा ५ खर्ब १५ अर्ब आम्दानी गरेको छ। अर्थ मन्त्रालयका अनुसार सरकारले राजस्वसँगै बेरुजु संकलनबाट भएको आम्दानीलाई जोड्दा पनि लक्ष्यभन्दा १ खर्ब ५३ अर्बले पछिपरेको हो। 

यो अवधिमा कतिपय आकस्मिक लाभ हुँदा पनि सरकार लक्ष्यभन्दा निकै टाढा देखिएको हो। 

आयात अझै बढ्न नसकेको, बजारमा माग नबढेका कारणले राजस्वको लक्ष्य प्राप्ति हुन कठिन भएको अधिकारीहरूले बताएका छन्। बजार अहिलेमात्र होइन यो वर्ष पनि बढ्ने सम्भावना न्यून देखिएको छ। यसको संकेत आयकर संकलनलबाट देखिएको छ। 

पुस मसान्तमा कुनै पनि व्यवसायीले वर्षभर गर्ने आम्दानी र नाफाको अनुमान गर्दै त्यसको ४० प्रतिशत भुक्तानी गर्छन्। यसको अर्थ अहिलेसम्म भएको व्यापार र यसपछिको ट्रेन्डको अनुमान गर्दै पुसमा ४० प्रतिशत भुक्तानी गर्छन्। कुनै पनि कम्पनीले यो वर्षमा सय रुपैयाँ कर तिर्ने अनुमान गरेमा त्यसको ४० रुपैयाँ तिर्छन्। यही रकम लक्ष्यअनुसार संकलन भएको छैन। 

सरकारले पुस महिनामा मात्र ५८ अर्ब आयकर संकलनको लक्ष्य लिएकोमा ५१ अर्ब संकलन गरेको छ भने पुससमम्म १ खर्ब ६२ अर्ब उठाउने लक्ष्य लिएकोमा १ खर्ब ३५ अर्बमात्र संकलन गरेको छ। 

राजस्वमा अहिलेसम्म नभएको वृद्धिदर लक्ष्य, कठिनमात्र होइन जोखिमपूर्ण हुनसक्छ  राजस्वमा अहिलेसम्म नभएको वृद्धिदर लक्ष्य, कठिनमात्र होइन जोखिमपूर्ण हुनसक्छ 

आयकरको यो हिसाबले बजारको मनोविज्ञान र अवस्थाको संकेत गरिरहेको छ। अहिलेसम्म आम्दानी र नाफामात्र होइन अझै बाँकी समयमा पनि नहुने देखाएको छ। 

यद्यपि यो वर्ष गत वर्षको तुलनामा वृद्धि भएकाले बजारमा सुधार भइरहेको मान्नुपर्ने अर्थ मन्त्रालयका अधिकारीहरूको भनाइ छ।

बजारको मनोविज्ञानमात्र होइन अवस्था नै खस्किएको आँकडा देखाउने अर्को अवस्था हो अन्त:शुल्क। यो वर्ष अन्त:शुल्क ऋणात्मक भएको छ। अर्थात् गत वर्षको तुलनामा घटेको छ।

पहिलो छ महिनामै अन्त:शुल्क धेरै संकलन हुने गर्छ। तर यही अवधिमा घटेको छ। आन्तरिक उत्पादनबाट उठ्ने अन्त:शुल्क १३ प्रतिशतले घटेको छ। लक्ष्यभन्दा पनि ऋणात्मक भएपछि बजारमा उत्पाद नै घटेको यो आँकडाले देखाएको छ। 

राजस्व लक्ष्य र संकलनमा अन्तर : गत वर्षभन्दा चालु वर्ष झनै चुनौतीपूर्ण, लक्ष्य भेटाउन ४० प्रतिशतको वृद्धिदर आवश्यक  राजस्व लक्ष्य र संकलनमा अन्तर : गत वर्षभन्दा चालु वर्ष झनै चुनौतीपूर्ण, लक्ष्य भेटाउन ४० प्रतिशतको वृद्धिदर आवश्यक 

समग्रमा अन्त:शुल्क पुससम्म ९३ अर्ब उठाउने लक्ष्य लिएकोमा पुस मसान्तसम्म ६८ अर्बमात्र संकलन भएको छ। आयातमा लाग्ने अन्त:शुल्क १३ प्रतिशतले बढेपनि आन्तरिकमा ७ प्रतिशत ऋणात्मक हुँदा समग्रमा गत वर्षको तुलनामा २ प्रतिशतले घटेको छ। 

भन्सारले लक्ष्यको ६५ प्रतिशतमात्र राजस्व उठाएको छ भने आन्तरिक राजस्व विभागले ७९ प्रतिशत उठाएको छ। आयात र त्यसमाथि सवारीसाधनको आयात न्यून हुँदा भन्सारको राजस्व प्रभावित भएको अधिकारीहरूले बताएका छन्। 

डिजेल पेट्रोलको आयात घटेकाले पनि राजस्व प्रभावित भएको भन्सारका अधिकारीहरूले बताउँदै आएका छन्। 


प्रकाशित : सोमबार, माघ १ २०८००७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend