बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

सहरमा माग बढी भइरहेको मुस्ताङको आलु उत्पादन यसवर्ष घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २९ २०८०
सहरमा माग बढी भइरहेको मुस्ताङको आलु उत्पादन यसवर्ष घट्यो
फाइल तस्बिर

गत वर्ष ४८ करोड ९ लाख मूल्यबराबरको आलु उत्पादन भएकामा यसपाली ३१ करोड ८१ लाख रुपैयाँ बराबरको मात्रै भएको छ।

म्याग्दी- मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यसवर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ। केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले डढुवारोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको बताए। 

केन्द्रका अनुसार गत वर्ष ९ हजार ६ सय ३ मेट्रिक टन आलु उत्पादन भएकोमा  यस वर्ष ६ हजार ३ सय ६३ मेट्रिक टन आलु उत्पादन भएको छ।

'यसपालि आलुको बोट हुर्कने समयमा लगातार वर्षा हुँदा वृद्धि विकास राम्रो हुन सकेन', प्रमुख बस्ताकोटीले भने, 'डढुवा रोगका प्रकोप पनि आलु उत्पादन घट्नुको कारण हो।' 

स्थानीय तहका कृषि शाखासँग समन्वय गरी आलुको क्रप कटिङ गरिएको थियो। चैत-बैशाख महिनामा लगाइने आलु असोज-कात्तिक महिनामा भित्र्याउने गरिन्छ।

गत वर्ष प्रतिहेक्टर ३० दशमलव ७८ मेट्रिक टन आलु उत्पादन भएकामा यस वर्ष २० दशमलव दुई मेट्रिक टन फल लागेको छ। मुस्ताङको तीन सय १५ हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ। अघिल्लो वर्षको तुलनामा यसपालि आलुखेती हुने क्षेत्रफल तीन हेक्टरले भएको थियो।

मुस्ताङमा उत्पादन हुने आलु पोखरा, काठमाडौं, चितवनलगायतका बजारमा खपत हुने गरेको छ। केन्द्रका अनुसार यहाँ उत्पादन हुने आलु २० प्रतिशत बीउ र १० प्रतिशत उपभोगका लागि खपत भइ बाँकी ७० प्रतिशत निकासा हुन्छ। आलु प्रतिकिलो सरदर ५० रुपैयाँका दरले बिक्री हुन्छ।

यहाँ गत वर्ष ४८ करोड ९ लाख मूल्यबराबरको आलु उत्पादन भएकामा यसपाली ३१ करोड ८१ लाख रुपैयाँ बराबरको मात्रै भएको छ। हिमाली चिसो हावापानीमा प्राङ्गारिक विधिबाट विषादिको प्रयोगबिना उत्पादन भएको आलुको बजारमा उच्च माग रहेको किसान रोशन थकालीको भनाइ छ। 

'प्रतिपाथी १ सय ५० रुपैयाँका दरले आलु बिक्री हुने गरेको छ', किसान थकालीले भने, 'एक पाथीमा करिब तीन केजी आलु हुन्छ।'

बारीमा नखन्दै व्यापारीले अग्रिम पैसा दिएर आलु खरिद गर्छन्। मुस्ताङ घुम्न जानेहरूले पनि कोसेलीका रूपमा आलु किनेर लैजाने गर्छन्। यहाँको आलु अन्यत्रको तुलनामा स्वादिलो हुने भएकाले मुस्ताङको आलुको माग सहरमा बढी हुने गरेको छ। 

आलु खेतीमा भेडा-च्याङग्रा, गाई, गोरु र चौँरीको मल प्रयोग हुन्छ। आलु खेतीका  लागि गण्डकी प्रदेश सरकारमार्फत चालु आर्थिक वर्षमा प्रतिरोपनी रु सात हजार पाँच सय अनुदान छुट्याइएको छ। रासस


प्रकाशित : आइतबार, पुस २९ २०८०१०:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend