बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

माग बढेपछि मोरङ उत्तरी भेगका किसान कफी खेतीप्रति आकर्षित

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २७ २०८०
माग बढेपछि मोरङ उत्तरी भेगका किसान कफी खेतीप्रति आकर्षित

मोरङ- कफी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई विस्थापन गर्दै मोरङ उत्तरी भेगका तीन पालिकाका बासिन्दा यसप्रति आकर्षित भएका छन्। पछिल्लो समय यहाँका तीन पालिकामा १ सय ५० हेक्टर जमिनमा कफी लगाइएको छ। 

उत्तरी भेगको लेटाङ नगरपालिका, मिक्लाजुङ गाउँपालिका र केराबारी गाउँपालिकामा पाँच वर्षअघिदेखि व्यावसायिक कफी खेती सुरु गरिएको थियो।

मिक्लाजुङमा एक सय दश हेक्टर, लेटाङमा ३५ हेक्टर र केराबारीमा पाँच हेक्टर जमिनमा कफी लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

कफी खेती विस्तार कार्यक्रमअन्तर्गत रहेर किसानले कफी खेती लगाएका त्यहाँका प्रमुख रामदेव सिंहले बताए। उनले भने, 'किसानले  उत्साहित भएर कफी खेतीमा लागेका र उनीहरूलाई  कफी पकेट कार्यक्रमअन्तर्गत कफी सुकाउने, ग्रेडिङ गर्ने र धुलो बनाउने उपकरण चाहिएको छ।' 

लेटाङ बजारभन्दा १७ किलोमिटर उत्तर भोगटेनीका चन्द्र राईले पाँच वर्षअघि नजिकै रहेको साग्मा माविको जागिर छाडेर आफ्नो ५० रोपनी जमिनमा कफी खेती सुरु गरेका थिए। छँदा खाँदैको जागिर छाडेर खेतीमा लाग्दा सबै छक्क परेको सम्झदै उनले भने, 'हाल आफूसँगै गाउँका ९० परिवारले पनि कफी खेती रोजेका छन्। माग उच्च हुँदा पनि उत्पादन पुर्‍याउन सकिएको छैन। कफी खेती आम्दानीको राम्रो स्रोत बनेको छ।' 

प्रतिरोपनी वार्षिक एक लाख आम्दानी हुने उनको जिकिर थियो। 'पाँच वर्षअघि लगाइएको कफीले यस वर्षदेखि उत्पादन दिन सुरु गरेको छ।

'कफीको बिरुवाका लागि आफैँ नर्सरी गरेर वितरणसमेत गर्ने गरेको छु, उत्पादित दाना संकलन गरेर बजारीकरणमा सहयोग गरेको छु', कृषक राईले बताए, 'काठमाडौं, पोखरालगायत ठूला सहरबाट माग आउने गरेको छ तर स्थानीय बजार इटहरी, विराटनगरलगायतमै पनि माग पुर्‍याउन सकिएको छैन।'

नेपालमा अधिकांश अराविका जातको कफी लगाउने गरिएको छ। कफीको पाकेको दाना (चेरी) किसानबाट ९० प्रतिकिलो र प्रशोधन गरिएको (पार्चमेन) प्रतिकिलो पाँच सयदेखि पाँच सय ५० सम्ममा कारोबार हुने गरेको तर पूर्ण प्रशोधन वा धुलो बनाउन बाँकी रहेको कफी प्रतिकिलो एक हजार आठ सयका दरले होटलमा जाने गरेको छ। धुलो बनाउँदा प्रतिकिलो दुई हजार दुई सय ५० का दरले कफी बिक्री हुने गरेको छ।  

कृषक राईले जस्तै राजविक्रम राई र मिक्लाजुङका कविन्द्र चाम्लिङले पनि आफ्नो बारीमा व्यावसायिक रूपले कफी खेती गरेका छन्। यसप्रति आफूहरु पूर्ण सन्तुष्टि रहेको राजविक्रमले बताए।

गत वर्षभन्दा यसपटक कफी अझ फस्टाएको उनको भनाइ थियो। 'कफीबाट आर्र्थिक आम्दानी राम्रै हुन्छ भन्ने आशा छ', उनले भने, 'हामी मकै, कोदो र गहुँखेती छाडेर कफी खेतीमा लाग्यौँ। आर्थिक आम्दानीको तुलनामा परम्परागत कृषिभन्दा आधुनिक कृषि बढी लाभदायी हुन्छ।'

नेपालमा कफीको उत्पादन राम्रो मानिन्छ। मुख्यतः अरेविका जातको कफीले राम्रो उत्पादन दिन्छ। रासस


प्रकाशित : शुक्रबार, पुस २७ २०८०१६:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend