बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

पशुपक्षी र बाली बीमामा सूर्योदय नगरपालिकाले ५० प्रतिशत अनुदान दिने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस २५ २०८०
पशुपक्षी र बाली बीमामा सूर्योदय नगरपालिकाले ५० प्रतिशत अनुदान दिने

अनुदान कार्यक्रमको कार्यान्वयनका लागि सूर्योदयले प्रत्येक टोल विकास संस्थाका पदाधिकारीलाई बीमासम्बन्धी तालिम दिन थालेको छ।

इलाम- इलामको सूर्योदय नगरपालिकाले किसानलाई पशुपक्षी र बाली बीमामा ५० प्रतिशत अनुदान दिने भएको छ। यसका लागि नगरले कार्यविधि समेत तयार गरेको छ।

नगरप्रमुख रणबहादुर राईले नगरभित्रका सहकारी संस्था, कृषक समूह र टोल विकास संस्थासँग समन्वय गरी किसानका लागि अनुदानका कार्यक्रम कार्यान्वयन गरिने जानकारी दिए।

अनुदान कार्यक्रमको कार्यान्वयनका लागि सूर्योदयले प्रत्येक टोल विकास संस्थाका पदाधिकारीलाई बीमासम्बन्धी तालिम दिन थालेको छ।

'नगरले पशुपक्षी र बाली बीमाबारे किसानलाई जानकारी दिन टोलटोलमा तालिम र अन्तक्र्रिया गरिरहेका छौँ', उनले भने, 'सबै वडा र टोलमा कार्यक्रम सकेपछि यथेष्ट तथ्यका आधारमा बीमाबापतको अनुदान दिनेछौँ।'

पशुपक्षी र बाली बीमामा किसानले व्यहोर्ने बीमा शुल्कको आधा रकम सूर्योदयले व्यहोर्ने भएको हो। बीमा प्रोत्साहनका लागि १० लाख विनियोजन गरेको छ। पशु र बाली बीमामा नेपाल सरकारले ८० प्रतिशत अनुदान दिने गरेको छ।

यसैबीच सूर्योदय नगरपालिकाले लम्पीस्किन महामारीबाट मरेका पशु चौपायाको क्षतिपूर्ति दिन थालेको छ। नगरले माउ गाई मरेका किसानलाई २० हजार, कोरली गाई मरेका किसानलाई १० हजार र गोरु मरेका किसानलाई पाँच हजार राहत दिन थालेको नगरप्रमुख राईले बताए।

लम्पीस्किन रोगबाट नगरपालिकाभर सात सय ४४ गाईवस्तु मरेका थिए। सूर्योदयले लम्पीस्किन रोगबाट भएको क्षतिमा राहत वितरण, खोप खरिद र चेतनामूलक कार्यक्रम गर्न १ करोड २५ लाख विनियोजन गरेको छ। रासस


प्रकाशित : बुधबार, पुस २५ २०८०१०:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend