शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

प्रविधिले सहज बन्दै दैनिकी

सोमबार, पुस २३ २०८०
प्रविधिले सहज बन्दै दैनिकी
फाइल तस्बिर

'नून लिन जाँदा खाने र बाटोमा बस्ने बन्दोबस्तसमेत गर्नुपर्थ्यो। मकै भुटेर दौराको फेरमा पोको बनाएर पनि गइयो नि’, विगतका दिन सम्झँदै वृद्ध हरिकुमार राई भन्छन्, 'अहिले त निकै सुबिस्ता भएको छ। यस्ता दिन पनि आउलान् भनेर मैले त सपनामा पनि देखेको थिइनँ।'

मंगलबारे- इलाम देउमाईका दिननाथ बाँस्तोला विगत सम्झिँदै भन्छन्, 'काँधमा हलो र जुवा बोक्नु पर्थ्यो, गोरुलाई अघाएर मात्र जोत्न लैजानुपर्ने हुन्थ्यो।' उनले भनेजस्तै पहिला एक हल (दुई वटा) गोरु अगाउनु, मेलासम्म लैजानु र हल गोरु नारेर जोत्नु सजिलो काम थिएन। दुई वटा गोरु, जोत्न एक जना मानिस आवश्यक पर्दथ्यो। बाली जोगाउन छेक्ने मान्छे पनि।

अनि हलो निर्माण र हलोमा प्रयोग हुने अनौ, हरिस, पाड्को जुटाउन पनि त समय र पैसा खर्चिनु पर्दथ्यो। गोरुको काँधमा प्रयोग हुने जुवा, जुवामा लगाउने ठेस्सी, हल्लुण र बाँध्ने डोरी जुटाउन उत्तिकै समय खर्चिनु पर्दथ्यो।

अब यहाँका किसानलाई यो झन्झट र अतिरिक्त खर्चको समस्याको समाधान भएको छ। अहिले गाउँगाउँमा हाते ट्याक्टर पुगेको छ। पहिला दिनभर जातेजति अहिले हाते ट्याक्टरबाट घण्टा नबित्दै हुन थालेको छ। हरेक किसानसँग हाते ट्याक्टर नभए पनि अर्काको भाडामा ल्याएर पनि काम चलाउन थालेका छन्।

खेतबारी जोत्न हाते ट्याक्टरको प्रयोग भएको मात्र होइन, गाउँगाउँमा काठ, दाउरा काट्न पनि मेसिनको प्रयोग गर्न थालिएको छ। जंगलमा काठ काट्न र चिर्नसमेत चेन्सो मेसिनको प्रयोग हुन थालेपछि बन्चरो, खुर्पाको प्रयोग हुन छाडेको छ। महिनौँ लाग्ने काम एकै दिनमा सम्भव भएको स्थानीय डीक राईले बताए।

यहाँ काठ प्राय ठिक्कामा काट्ने गरिन्छ। एक ठिक्का (एक ठिक्कामा एक हजार फुट हुन्छ) काठ काट्न करिब महिना दिन लाग्थ्यो। तर मेसिनले दुई दिनमा नै काटेर भ्याइन्छ काठ काट्ने मानिस (आरावाल) लाई खाजा र खानासमेत काट्न लगाउनेले ब्यहोर्नु पर्दथ्यो। जंगलमा कटान गरिएको काठको ढुवानी पनि अब मानिसले बाकेर नभई ट्याक्टर वा पिकअपको प्रयोग गर्ने गरिएको छ।

हाल पहाडी क्षेत्रका गाउँगाउँ मात्र हैन घरघर सडक पुगेको छ। सडक र सवारीले थपेको सहजताले स्थानीय बासिन्दाको जीवनशैली नै फेरिएको छ। पहाडी जिल्ला इलाम सहित पाँचथर, ताप्लेजुङ लगायतका जिल्लामा झापाको शनिश्चरेबाट नुन बोकेर ल्याउनुपर्ने बाध्यता थियो। 

त्यतिबेला सात दिनसम्म भारी बोकेर मात्र घरसम्म नून ल्याउन सकिन्थ्यो। 'नून लिन जाँदा खाने र बाटोमा बस्ने बन्दोबस्त समेत गर्नु पर्दथ्यो। मकै भुटेर दौराको फेरमा पोको बनाएर पनि गइयो नि’, विगतका दिन सम्झँदै वृद्ध हरिकुमार राई भन्छन्, 'अहिले त निकै सुविस्ता भएको छ। यस्ता दिन पनि आउलान् भनेर मैले त सपनामा पनि देखेको थिइनँ।'

निर्माण व्यवसायमा पनि प्रविधिले निकै सजिलो बनाएको गाउँलेहरु बताउँछन्। झम्पल र कोदालोले सडक निर्माण गर्नुपर्ने बाध्यता समेत हटेको छ। सडक निर्माणकै क्रममा ढुंगा भेटिए महिनौँ दिन लगाएर हम्मरले हानेर फोर्नु पर्ने बाध्यता थियो। हाल एक्स्काभेटर प्रयोग गरेर सडक निर्माण हुन्छ। महिनौँ लाग्ने काम एकै दिनमा सम्पन्न हुन्छ।

प्रविधिको कुरा गर्दा सञ्चार क्षेत्रमा भएको प्रविधिको विकासले सोच्नै नसकिने परिवर्तन ल्याएको गाउँलेहरुको भनाइ छ। हुलाकमार्फत महिनौँ लगाएर चिठी घरघरसम्म पुर्‍याउने दिनको समाप्त भएको छ। फोन र इन्टरनेटबाट सेकेन्डमा कुरा त्यो सम्भव भएको छ। प्रायः सबैका हातहातमा मोवाइल फोन भएकाले सञ्चार निकै सहज बनेको छ।

सामाजिक सञ्जालको विकासले संसारलाई खुम्च्याइदिएको महसुस हुन थालेको छ। सञ्चारका माध्यमबाट संसारका हरेक घटना प्रत्यक्ष हेर्ने अवसर सहज भएको छ। अब ग्रामीण किसानलाई धान काट्न खेताला खोज्नु पर्ने दिनको समेत अन्त्य हुँदै गएको छ। थ्रेसरको प्रयोगले काम छिटो सम्पन्न हुन थालेको छ।

कृषिमा यान्त्रीकरणले किसानलाई काम गर्न सहज भएको कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले बताए। उनका अनुसार प्राय अब आधुनिक औजार गरेर नै जिल्लामा खेती हुन थालेको छ। कतिपय स्थानीय तहले समेत अनुदानमा उपकरण वितरण गर्ने गरेका छन्। सहकारी वा समूहमार्फत मात्र नभएर पछिल्लो समय व्यक्तिलाई समेत सामग्री वितरण गर्न थालिएको छ।

खेती किसानमा प्रयोग हुने औजारदेखि सूचना आदानप्रदानमा प्रयोग हुने चिठीपत्र, घरायसी प्रयोजनमा आउने ढिकी जाँतो, फुसको छानो विस्थापित हुँदै गएको छ। अब आधुनिक उपकरणहरुबाट दूध प्रशोधन, घरघरमा इन्टरनेट र वाइफाई, विद्यालयमा कम्प्युटर शिक्षा, गाउँगाउँमा यातायात, मोबाइल बैंकको प्रयोग बढ्न थालेको छ।

जनताको दैनिकी समेत निकै फेरिएको छ। पहिला हातले टिप्ने चिया हाल मेसिनको प्रयोगले हुन थालेको छ। दाउरा बालेर खाना पकाउने समय थियो। पछिल्लो समय ग्यास हुँदै विद्युतीय उपकरण प्रयोग गरेर खाना पकाउन थालिएको छ। घण्टौँ सम्म धाएर विद्यालय जानु पर्ने समस्या थियो। हाल घरघरमा विद्यार्थी बोक्न बसको प्रयोग भएको छ। 

देशमा विकास केही भएन भनेर निराशा व्यक्त गर्ने युवाहरुलाई अघिल्लो पुस्ताका बाबुबाजेहरुले सोच्नै नसकेको परिवर्तन र विकास भएको बताउने गर्दछन्। सरकारले देशमा नै रोजगारीको सिर्जना गरी युवा शक्ति पलायन हुनबाट रोक्न आवश्यक रहेको बुढापाकाहरुको भनाइ छ। लगानीमैत्री वातावरण बनाउन नसक्नु र भ्रष्टाचारलाई शून्यमा झार्न सके मात्र धेरै समस्याको समाधान टरेर जाने उनीहरु बताउँछन्। रासस


प्रकाशित : सोमबार, पुस २३ २०८०१२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend