बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

कर्णालीको रैथानेबाली बजारीकरण हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २० २०८०
कर्णालीको रैथानेबाली बजारीकरण हुँदै

जुम्लामा उत्पादन हुने मार्सी धान ब्लास्ट रोगले नष्ट हुने र उत्पादन घट्ने भएकाले सहकारीले माघ महिनामा माटो परीक्षण शिविर सञ्चालन गरिने चन्दननाथ सहकारीले जनाएको छ।

जुम्ला- जुम्लालगायत माथिल्लो कर्णालीमा उत्पादन हुने रैथानेबालीको बजारीकरण हुँदा यहाँका किसानलाई राहत पुगेको छ। 

जुम्ला सदरमुकाम खलङ्गा बजारमा मुख्य कार्यालय रहेको चन्दननाथ सहकारीद्वारा सञ्चालित चन्दननाथ अर्गानिक मिनिमार्केटले कर्णालीमा उत्पादन हुने रैथानेबालीको बजारीकरण गर्दै आएको हो। 

जुम्लासहित हिमाली जिल्ला मुगु, डोल्पा, हुम्ला कालीकोटमा उत्पादन हुने रैथानी बाली सिमी, फापर, मार्सी चामल, चिनो, कागुनो, स्याउको अर्गानिक मिनिमार्केटमार्फत बजारीकरण गरी बिक्रीवितरण गर्दै आएको चन्दननाथ अर्गानिक मिनिमार्केटका सञ्चालक ऋषिराम पाण्डेले जानकारी दिए।
   
कर्णाली प्रदेशको सुर्खेतमा समेत मिनिमार्केट सञ्चालन गरेर रैथानेबालीको बजारीकरण गर्दै आएको जनाइएको छ। सञ्चालक पाण्डेले भने, 'कृषकको अर्गानिक उत्पादन खरिदसहित हरियो मल सुपथ मूल्यमा बिक्री गर्दै आएको छ। बजारमा प्रतिकेजी सय रुपैयाँमा बिक्री हुने हरियो मल सहकारीले ६५ रुपैयाँमा कम्पनीकै मूल्यमा बिक्री गर्दै आएको छ।' 

यो याममा पुस र माघको महिना स्याउ काटछाँट, मलजल बगैँचा व्यवस्थापन गर्ने याम सुरु भएकाले चितवनको एग्रो कियरबाट अर्गानिक बायो अल्गा हरियो मल बिक्रीवितरण गर्दै आएको मिनिमार्केटका सञ्चालक पाण्डेको भनाइ छ।
   
मल खरिद गर्न पैसा नै चाहिन्छ भन्ने छैन। प्रतिकेजी ६५ बराबर जिन्सी सामग्री वा अन्नबाली उपभोक्ताले दिए पनि हुने व्यवस्था गरिएको छ। सहकारीले कम्पनीकै मूल्यमा बिक्री गर्ने गरी १८ टन मल जुम्ला ल्याएको छ। जुम्लाका १४ वटा सेवा केन्द्रमार्फत बिक्रीवितरण गर्दै आएको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था जुम्लाले जनाएको छ।

सहकारीले १५ लाख ६७ हजार ७ सय रुपैयाँमा खरिद गरी १८ टन बायो अल्गा हरियो मल ल्याएको हो। जुम्लामा उत्पादन हुने मार्सी धान ब्लास्ट रोगले नष्ट हुने र उत्पादन घट्ने भएकाले सहकारीले माघ महिनामा माटो परीक्षण शिविर सञ्चालन गरिने चन्दननाथ सहकारीले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, पुस २० २०८०१४:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend