बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

च्याङ्‍ग्रापालक किसानलाई ५० लाख अनुदान

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २० २०८०
च्याङ्‍ग्रापालक किसानलाई ५० लाख अनुदान

किसानले प्रस्तावित परियोजनाको कूल लागतको ८५ प्रतिशत बराबर परियोजनाबाट अनुदान उपलब्ध गराउने कार्यविधि छ।

म्याग्दी- मुस्ताङका किसानले च्याङ्ग्राको खोर सुधार र स्रोत केन्द्र स्थापना गर्न चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँभन्दा बढी अनुदान पाउने भएका छन्।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङ्ग्रा जोन कार्यक्रमले खोर सुधारका लागि सात र स्रोत केन्द्र स्थापना गर्न दुई समूह बुधबार छनोट गरेको हो।

उनीहरुलाई यसवर्ष ५० लाख ४७ हजार अनुदान उपलब्ध गराइने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ म्याग्दी/मुस्ताङका प्रमुख नेत्र भट्टले बताए। 

'अनुदानका लागि मापदण्डअनुसार आवेदन सङ्कलन र स्थलगत मूल्याङकनपछि छनोट गरिएको हो', उनले भने, 'सात च्याङग्राका खोर सुधार गर्न तीन लाख २१ हजार र दुई स्रोत केन्द्र स्थापना गर्न १४ लाखका दरले अनुदान पाउनेछन्।'

किसानले प्रस्तावित परियोजनाको कूल लागतको ८५ प्रतिशत बराबर परियोजनाबाट अनुदान उपलब्ध गराउने कार्यविधि छ। 

परम्परागत रुपमा हुँदै आएको च्याङग्रापालनलाई व्यवस्थित र व्यावसायिक बनाई गुणस्तरीय मासु, ऊन तथा पश्मिना उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ तीन वर्षअघिदेखि लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा च्याङग्रा जोन कार्यक्रम लागु भएको छ। 

च्याङग्राका पाठापाठी उत्पादनका लागि यसवर्ष दुई ठाउँमा स्रोत केन्द्र स्थापना गर्न लागिएको च्याङ्ग्रा जोनका प्राविधिक गणेश खत्रीले बताए।

च्याङग्राका बोका खरिद गर्ने कार्यक्रम रहेको छ। च्याङग्रालाई वन्यजन्तुको आक्रमण र हिउँदयाममा चिसोबाट बचाउन खोर सुधार गर्न जोड दिइएको छ। जोनमा आबद्ध किसानले १५ हजारभन्दा बढी च्याङग्रा पालेका छन्। 

च्याङग्रा जोनका लागि चालु आवमा ८६ लाख ८९ हजार विनियोजन गरिएको छ। पूर्वाधार निर्माण र बोका खरिदका अलावा औषधि, आहारा, खोप, किसानलाई प्राविधिक तालिम लगायतका विषयमा बजेट परिचालन गरिने जोनले जनाएको छ। 

गतवर्ष ५८ किसान आबद्ध १० समूहलाई खोर सुधार गर्न तीन/तीन लाखका दरले अनुदान दिइएको थियो।

यसैगरी दुई स्रोत केन्द्र निर्माणमा २८ लाख अनुदान दिइएको थियो। आर्थिक वर्ष २०७८/७९ मा सात फार्मले खोर सुधार गर्न २१ लाख, सङ्कलन केन्द्रमा १२ लाख र स्रोत केन्द्रमा १४ लाख खर्च भएको थियो। 

मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङ्ग्रा पालिएका छन्।

त्यहाँ करिब ६५ ठूला च्याङग्रा फार्म छन्। लोमान्थाङ र लोघेकर दामोदरकुण्डका किसानले ३० देखि ५० वटासम्म घरघरमा च्याङग्रा पालेका छन्। रासस


प्रकाशित : शुक्रबार, पुस २० २०८०११:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend