बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

दुई दशकदेखि मौरीपालनबाट राम्रो आम्दानी लिइरहेका छन् तुरुन्तपुरका दीपकुमार

मंगलबार, पुस १७ २०८०
दुई दशकदेखि मौरीपालनबाट राम्रो आम्दानी लिइरहेका छन् तुरुन्तपुरका दीपकुमार

मौरीपालन व्यवसायबाट दीपकुमारले वार्षिक १० लाख रूपैयाँ आम्दानी गर्न सफल भएका छन्। वर्षमा ३५ क्विन्टल मह उत्पादन हुन्छ।

दाङ- घोराही उपमहानगरपालिका-१३ तुरुन्तपुरका दीपकुमार मगर मौरीपालन व्यवसायमा छन्। विगत २३ वर्षदेखि उनको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ। मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा उत्साह बढ्दै गएको ५९ वर्षीय मगरले बताए।

व्यावसायिक रुपमा मौरीपालन गर्न थालेको दुई दशक बढी भयो। उनले भने, 'लामो समय भइसक्यो मौरीपालन गर्न थालेको आम्दानी पनि राम्रो भइरहेको छ। यसमा घरपरिवारको पनि सहयोग रहेको छ।'

मौरीपालन पूर्वाधार सामग्री उत्पादनमार्फत व्यवसायका लागि आवश्यक सामग्री उत्पादन गरी छिमेकी जिल्ला रोल्पा, सल्यान, प्युठानलगायत जिल्लामा समेत आधुनिक सामग्री पठाउने गर्छन्।

मगरको मौरी फार्म दुई सय घार क्षमताको भए पनि हाल ४५ मात्रै छन्। उनले वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको बताए। 'परिवारको सहयोग छ, रोल्पा हुँदा मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मह केही बिक्रीका लागि जिल्लाका बजार र अन्यत्र जान्छ, धेरैजसोले घरमै आएर पनि लैजान्छन्', किसान मगरले भने, 'मौरीपालनमा चोखो आम्दानी छ, त्यसैले विगत लामो समयदेखि यसैलाई निरन्तरता दिँदै आएको छु।'

अहिले उनको फार्ममा युरोपेली, इटाली, मेरीफेरा, सेरेना जातका मौरीका घार छन्। परिश्रम र मेहनत गर्ने हो भने गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ। गत वर्ष माग बढेकाले छ सय रूपैयाँ प्रतिकिलो बिक्री गर्ने गरेको र यो वर्ष भने खुद्रामा पाँच सय रूपैयाँ प्रतिकिलो मह बिक्री गर्दै आएको उनी बताउँछन्। थोक बिक्रीका लागि भने जिल्ला मौरीपालन व्यवसायी संघको निणर्यअनुसार मूल्य निर्धारण गरिने उनले बताए।

मौरीपालन व्यवसायबाट उनले वार्षिक१० लाख रूपैयाँ आम्दानी गर्न सफल भएका छन्। दुई/तीन वर्ष वैदेशिक रोजगारमा रहँदासमेत मगरले विदेशमा मौरीपालन गरेको देखेर प्रभावित भएर नेपाल आएपछि व्यवसाय थालेको बताए। २०५७ सालमा सुरु गर्दा जिल्लामा व्यावसायिक रुपमा मौरीपालन गर्ने किसानको सङ्ख्या १७ रहेको उनी स्मरण गर्छन्।

वर्षा र अत्यधिक चिसो हुने समय ख्याल गर्ने हो भने मौरीपालनबाट राम्रो प्रतिफल लिन सकिने भन्दै उनले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको उनले बताए। गुणस्तरीय मह भएकाले अधिकांश घरबाटै बिक्री हुने गरेको मौरीपालक किसान मगर बताउँछन्। मौरीपालन व्यवसाय व्यावसायिक रुपमा सुरु गरेदेखि हालसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उनको भनुभव छ। रासस


प्रकाशित : मंगलबार, पुस १७ २०८०१४:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend