बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

बास्कुनाकी तिलकुमारी भन्छिन् - ‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’

आइतबार, पुस १५ २०८०
बास्कुनाकी तिलकुमारी भन्छिन् - ‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’

सुन बचेर सुन्तलाखेती गरेकी ६८ वर्षीय तिलकुमारी हुमेनको परिवारको जीवनस्तर अहिले सुन्तला खेतीबाटै फेरिएको छ। हरेक वर्ष आठदेखि १० लाख रूपैयाँसम्म सुन्तला बिक्री हुने गरेको हुमेन परिवारको भनाइ छ।

म्याग्दी- बेनी नगरपालिका-४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतबारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गरेकी थिइन्। धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैँचा स्थापना गरेकी हुन्।

घरमा काम गर्ने जनशक्ति नभएको र आम्दानीको स्रोत पनि नभएकाले हुमेनले गरगहना बेचेर दैनिक ज्यालादारीमा मजदुर परिचालन गरी खेतमा खाडल खन्ने र सुन्तला लगाएको बताइन्। सुन बचेर सुन्तलाखेती गरेकी ६८ वर्षीय हुमेनको परिवारको जीवनस्तर अहिले सुन्तला खेतीबाटै फेरिएको छ।

'सुन बेचेर सुन्तला लगाएको थिएँ, सुन्तलाले सुनै फलाए जस्तो भयो मलाई, सुन्तलाकै आम्दानीले बेचेको सुन पनि फर्काएँ, यसैको आम्दानीबाट घरखर्च सहजै चलेको छ', हुमेनले भनिन्। अहिले सबै परिवारको मुख्य आम्दानीको स्रोत सुन्तलाखेती रहेको उनको भनाइ छ। कान्छो छोरासँगै बसोबास गर्दै आएकी हुमेन र उनका दुई छोराको सुन्तला बगैँचामा अहिले करिब चार सय बढी बोट रहेका छन्।

हरेक वर्ष आठदेखि १० लाख रूपैयाँसम्म सुन्तला बिक्री हुने गरेको हुमेन परिवारको भनाइ छ। 'खेतमा धान राम्रो फल्ने थिएन, एक नातेदारले  सुन्तला लगाउन सल्लाह दिएका थिए, उनले पनि खेतबारीमा सुन्तलाखेती लगाएको देखेर, मैले पनि लगाएको हुँ, पछि गाउँभर नै सुन्तलाखेती विस्तार भयो, अहिले हाम्रो गाउँ बास्कुनाबाट सुनकुना भएको छ भन्दा हुन्छ', उनले थपिन्।

यहाँ रहेका बास्कुना, सुर्केमेला र थामडाँडाका चालिस घरधुरीले आठ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरेका छन्। हरेक घरमा व्यावसायिक सुन्तला खेतीको लहर चलेको छ। दुई वर्षअघि बालमखोला सिँचाइ आयोजना निर्माण भएपछि सिँचाइ सुविधा पुगेर सुन्तलाखेती थप फस्टाउँदै गएको स्थानीयवासी बताउँछन्। यहाँ उत्पादन भएको सुन्तला बगैँचाबाटै बिक्री हुने गरेको छ।

पोखरा र काठमाडौंको व्यवसायी यहाँका सुन्तला बगैँचामै पुगेर खरिद गर्छन्। सुन्तला फल्न थालेको सुरुवाती चरणमा पोखरा र काठमाडौंसम्म आफैले ढुवानी गरेर बिक्री गर्नुपरे पनि पछिल्लो समय भने व्यवसायी बगैँचामै आएर सुन्तला खरिद गर्न थालेका छन्। यसबाट सहज भएको स्थानीय अगुवा किसान दलबहादुर कार्कीले बताए।

‘सुन्तला नपाक्दै पेस्की रकम लिएर व्यवसायी गाउँमा आउँछन्, यहाँका अधिकांश बगैँचा ठेकेदारले पेस्की लगाएका छन्, जति उत्पादन भए पनि बजारको अभाव छैन', उनले भने। यो वर्ष सुन्तलाको उत्पादन घटेपनि फलको गुणस्तर राम्रो भएकाले विगतको तुलनामा केही बढी मूल्य किसानले हात पारेका छन्।

गतवर्ष प्रतिकिलो ७२ रूपैयाँमा सुन्तला बिक्री गरेकामा यो वर्ष प्रतिकिलो ८० रूपैयाँ मूल्य पाएको किसान कार्कीले जानकारी दिए। बास्कुनामा यस वर्ष सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरेर सुन्तला बिक्री गर्न थालिएको छ।

मूल्यमा एकरुपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउन वडाका जनप्रतिनिधि र किसान समूहले मूल्य निर्धारण गरेको किसानसमेत रहेका बेनी नगरपालिका-४ का वडा सदस्य सन्दीप खत्रीले जानकारी दिए। बास्कुना, सुर्केमेला र थामडाँडाका चालिस घरधुरीले गतवर्ष एक करोड मूल्य बराबरको सुन्तला निकासी गरेकोमा यसवर्ष फल कम लागेकाले ७५ देखि ८० लाख रूपैयाँ बराबरको सुन्तला निकासी हुने अनुमान गरिएको वडा सदस्य खत्रीले बताए। 

सुन्तला बिक्री गरेर एक जना किसानले एक लाखदेखि दश लाख रूपैयाँसम्म आम्दानी गर्छन्। परम्परागत रुपमा धान, कोदो, मकै र गहुँखेती गर्दै आएका यहाँका स्थानीयवासीले नगदेबालीको रुपमा सुन्तला खेतीलाई विस्तार गरेका छन्। सुन्तला खेतीबाटै यहाँका स्थानीयवासीको आयआर्जनमा वृद्धि र जीवनस्तरमा समेत सुधार भएको छ। रासस


प्रकाशित : आइतबार, पुस १५ २०८०१७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend