बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

बेमौसमी मकैखेतीबाट लाखौँ आम्दानी गर्दैछन् गैँडाकोटका किसान

शनिबार, पुस १४ २०८०
बेमौसमी मकैखेतीबाट लाखौँ आम्दानी गर्दैछन् गैँडाकोटका किसान

गैँडाकोट नगरपालिकाका किसान बेमौसमी मकैखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। यहाँ उत्पादन भएको मकै जिल्लाको माग धानेर देशका मुख्य सहरमा बिक्रीका लागि पठाउने गरिएको छ।

मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकैखेती गरेका छन्। विगत १५ वर्षदेखि बेमौसमी मकैखेती गर्दै आएका उनले हिउँदे मकैखेतीबाट पाँच लाख रूपैयाँ आम्दानी गर्ने गरेका छन्।

रिजालले भने, 'हरियो मकै बिक्रीका लागि समस्या नहुने तथा उत्पादन पनि राम्रो हुने भएकाले हामी मकै खेती गर्न थालेका छौँ।' रिजाल पशु विकास कृषि फार्म दर्ता गरी व्यावसायिक रूपमा मकैखेती गर्दै आएका उनले हिउँदे मकै बिक्री गरी एउटा याममा  चार लाखदेखि पाँच लाख रूपैयाँसम्म आम्दानी गर्न थालेका छन्।

'बाह्रै महिना मकै उत्पादन हुने भएकाले यहाँका किसानले व्यावसायिक मकै खेती गरेर जिल्ला बाहिर बिक्री गर्दै आएका छौँ', उनले भने, 'हरियो मकैको प्रतिघोगा पाँच रूपैयाँदेखि दश रूपैयाँका दरले तथा सुक्खा प्रतिक्विन्टल तीन हजार रूपैयाँका दरले बिक्री हुने गरेको छ।'

बर्खे धान रोप्ने ठाउँमा दुई बाली र मकैमात्र लगाउँदा राम्रोसँग तीन बाली उत्पादन गर्न सकिने हुँदा आफूले पनि व्यावसायिक मकैखेती गर्दै आएको गैँडाकोटकै सरस्वती सापकोटाले बताए। व्यावसायिक मकैबाट राम्रो आम्दानी भएको र परिवारको खर्च धान्न पुग्ने उनले बताए।

हरियो मकै पोलेर खान स्वादिष्ट हुने भएकाले मकै धेरै बिक्री हुनेगरेको सडक किनारमा मकै पोलेर बेच्दै आएकी स्थानीय सावित्री शर्माले बताइन्। 'प्रतिघोगा पाँच रूपैयाँदेखि दश रूपैयाँमा खरिद गरेर २० देखि २५ रूपैयाँमा पोलेको मकै बिक्री हुने गरेको छ', उनले भनिन्।

गैँडाकोट नगरपालिकाका किसान बेमौसमी मकैखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। यहाँ उत्पादन भएको मकै जिल्लाको माग धानेर देशका मुख्य सहरमा बिक्रीका लागि पठाउने गरिएको छ। जिल्ला बाहिर नारायणघाट, बुटवल, काठमाडौं, पोखरालगायत मुख्य सहरमा मकै बिक्री गर्न लैजाने गरेको स्थानीयले बताएका छन्।

गैँडाकोट-६, ७ र ८ वडालाई मकैको पकेट क्षेत्रको रूपमा घोषणा गरिएको गैँडाकोट नगरपालिका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले बताए। 'गैँडाकोट-५, ६, ७, ८ र ९ नम्बर वडामा बेमौसमी मकै उत्पादन हुनेगरेको छ, बाह्रैमास मकै उत्पादन हुनेभएकाले पनि यहाँका स्थानीय कृषक मकै व्यापारमा आकर्षित भएका छन्', उनले भने।

गैँडाकोट नगरपालिकाभित्र ६६ हेक्टर क्षेत्रफलमा हिउँदे मकै लगाउने गरिएको छ। प्रतिहेक्टर चार सय ६२ मेट्रिक टन मकै उत्पादन भएको शर्माले बताए। 'आर्थिक वर्ष २०७८/७९ मा प्रतिहेक्टर तीनसय ५० मेट्रिक टन उत्पादन भएको थियो', उनले भने, 'आव २०७९/८० मा एक सय १२ मेट्रिक टनले उत्पादनमा वृद्धि भई चार सय ६२ मेट्रिक टन मकै उत्पान भएको छ।'

गैँडाकोटमा बर्खे मकै सात हजार तीनसय ३३ हेक्टर क्षेत्रफलमा लगाइएको तथ्यांक छ। हिउँदको समयमा लगाएको हरियो मकै मात्र तीन करोड रूपैयाँ बढीको गैँडाकोट क्षेत्रबाट बिक्री हुने गरेको शाखा प्रमुख शर्माले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, पुस १४ २०८०११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend