काठमाडौं- राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा ल्याएपछि घटिरहेको सेयर बजार कारोबारको तेस्रो दिन भने थामिएको छ। योसँगै अब बजार उकालो यात्रामा लाग्ने संकेत देखिएको छ।
मौद्रिक नीतिको समीक्षाको बाहाना देखाएर दुई दिनमै १०१.८ अंकले बजार घटाइएको थियो। तर मंगलबार थोरै अंकले मात्रै घटेको छ।
मंगलबार दिनभरी सेयर बजारमा उतारचढाव भएको थियो। सुरुदेखि बढ्ने र घट्ने भएको बजार अन्तिममा १.६४ अंकले घटेको हो।
मंगलबार १.६४ अंकले घटेर बजार २६२८.३७ बिन्दुमा पुगेको छ। मंगलबार ३ अर्ब ८९ लाख रुपैयाँको कारोबार भएको छ। ८९ कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको घटेको छ। १४ कम्पनीको सेयर मूल्यमा परिवर्तन भएन।

मौद्रिक नीतिको समीक्षापछि पहिलो दिन मंसिर १२ गते आइतबार ८०.२९ अंकले गिरावट आएको सेयर बजारमा पुनः सोमबार २१.५१ अंकले गिरावट आएको थियो। तर सेयर विश्लेषकहरूले बजार केही दिन घटेर उकालो लाग्ने बताएका थिए।
‘अब बजार बढ्ने नै हो, केही दिन आत्तिएका लगानीकर्ता समालिएका छन्,’ विश्लेषक छोटेलाल रौनियारले भने। बजार अहिले धेरै उतारचढाव पछि २७ सयको तल र माथी घुमेकोले अब विस्तारै गति लिने समेत उनको दावी छ।
यो हप्ता केही उतारचढामै बिते पनि अर्को हप्तादेखि बजार बढ्न सुरु गर्ने दावीसमेत रौनियारको छ।
मौद्रिक नीतिको समीक्षापछि सेयर कर्जाको ४/१२ करोडको सीमा परिमार्जन हुने आशमा लगानीकर्ता रहेका थिए। तर नीतिमा परिवर्तन भएन। तर नीतिले मात्रै केही हुँदैन अन्य धेरै कुराले बजार बढाउने सकारात्मक सूचकहरु देखिएको रौनियारको भनाइ छ।
बजार करेक्सन हुने पर्ने भए पनि अति नै तल झरेको र अब फेरि नयाँ रेकर्डतर्फ अगाडि बढेको विश्लेषकहरू बताउँछन्। तर बजार बढ्नका लागि अझै बैंकमा रहेको तरलता अभावको समस्या समाधान हुनुपर्ने सेयर विश्लेषक रौनियार बताउँछन्।