बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

झ्याजेटोलबाट ७० लाख बराबरको तरकारी निकासी

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ११ २०८०
झ्याजेटोलबाट ७० लाख बराबरको तरकारी निकासी

'सबैभन्दा राम्रो कमाइ आलुबाट हुने गरेको छ, आलुसँगै अन्य काउली र बन्दाले पनि भाउ पाए त राम्रै हुन्छ। तर कहिलेकाहीँ भाउ पाउँदैन।'

सुर्खेत- दैलेख गुराँस गाउँपालिका-८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब पाँच लाख रुपैयाँ कमाए। उनले बारीमा आलु, काउली र टमाटर लगाउने गरेका छन्। यही तरकारी बेचेरै उहाँ आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सफल छन्। तरकारी बेचेरै घरखर्च र केटाकेटीको पढाइ खर्च कटाएर बचत गर्ने गरेका छन्।

'हाम्रो यो टोलमा तरकारी उत्पादन धेरै हुन्छ, हामी फागुनमा आलु लगाउँछौँ असार साउनमा निकाल्छौँ। आलुसँगै काउली बन्दा, टमाटर पनि चैत-वैशाखदेखि नै लगाउँछौँ। अनि वर्षायाममा हुने भएकाले राम्रै फल्छ र बजार पाए आम्दानी पनि हुन्छ', उनले भने।

आफ्नो यस वर्ष करिब रु पाँच लाख कमाई भएको सुनाए। 'मेरो भएको जग्गाको अधिकांश बारीमा तरकारी लगाउने गरेको छु। केही नभए पनि एक याममा तीन-चार लाख त प्रत्येक घरकाले कमाउँछन्। तर हामीलाई उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउन समस्या छ।'

उनीमात्रै होइन, झ्याजेटोलकै गगनबहादुर खत्रीले पनि आफ्नो अधिकांश जग्गामा तरकारी खेती गर्दै आएका छन्। उनी पनि याममा चारदेखि पाँच लाख कमाई गर्छन्। उनी भन्छन्, 'सबैभन्दा राम्रो कमाइ आलुबाट हुने गरेको छ, आलुसँगै अन्य काउली र बन्दाले पनि भाउ पाए त राम्रै हुन्छ। तर कहिलेकाहीँ भाउ पाउँदैन।'

यो टोलमा नौ घरपरिवार छन्। सबै घरपरिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो। एक याममा मात्रै तरकारी खेती गर्ने गरिएको छ। तर पनि आम्दानी राम्रो छ। अर्का किसान बालकुमारी खत्री भन्छिन्, 'वर्षायाममा मात्रै खेती गर्ने गर्छौँ। हिउँदयाममा तुसारो जम्छ, तरकारी उत्पादन गर्न सकिँदैन। हिउँदमा पनि उत्पादन गर्न सक्ने भए वर्षमा १० लाखसम्म एकजना किसानले आम्दानी गर्न सक्थ्यो।'

यहाँ फागुन चैतबाट तरकारी खेती सुरु हुन्छ भने कात्तिकसम्म बिक्री वितरण गर्ने गरिन्छ। अर्का किसान यामबहादुर ओली भन्छन्, 'फागुनमा आलु लगाउँछौँ, असार साउनमा निकालेर बेच्न सुरु गर्छौँ, काउली बन्दा भने त्यसको बेर्ना तयार गरेर बैशाखबाट लगाउन सुरु गर्छौँ, अनि असारमा बेच्ने गर्छौँ। भाउ पायो भने त मनग्य आम्दानी हुन्छ।'

तरकारी खेतीका लागि उपयुक्त ठाउँ रहेको सो टोलका किसान स्थानीय पालिकाबाट सहयोग नपाएको गुनासो गर्छन्। आफूहरूलाई अनुदानमा मल र बीउ उपलब्ध गराउनुपर्ने र  विभिन्न सरकारी कार्यक्रम लागू गर्न माग गर्छन्।

किसान हीरादेवी केसी यहाँ  पालिका तथा संघीय सरकारबाट कुनै पनि कार्यक्रममा नआएको बताइन्। 'यहाँ यति धेरै उत्पादन हुन्छ, हामीलाई समस्या भनेको सडकको छ, गाउँको माथिसम्म कच्ची सडक त आएको छ, तर सधैँ चल्दैन। हामीले आलुको बीउ महँगोमा किन्नुपर्छ, मल पनि हामी पाउँदैनौँ।'
  
उहाँका अनुसार यो टोलमा एकजना किसानले ५० क्विन्टलसम्म आलु फलाउने गरेका छन्। अर्का किसान कृष्णबहादुर खत्रीले उत्पादन तरकारी बोकेर लैजान समस्या रहेको जनाउँदै बस्तीसम्मै बाटो निर्माण गरिदिन माग गर्छन्। गुराँस-८ का वडाध्यक्ष दीपेन्द्र ओलील बाटो नपुगेका बस्तीमा बाटो  र भएका बाटो विस्तारका लागि पहल गर्ने बताए। 

प्रदेश सरकारले भने किसानको सहजताका लागि विगतको भन्दा फरक तरिकाले कार्यक्रम सञ्चालन गरिरहेको बताएको छ। भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले उत्पादन क्षेत्रलाई नै समेट्नेगरी योजना निर्माण गरिएको जानकारी दिए।

'कुन ठाउँमा के उत्पादन हुन्छ, त्यही क्षेत्रलाई लक्ष्य गरी कार्यक्रम बनाइरहेका छौँ', उनले भने, 'जस्तै झ्याजेटोल आलुका लागि उपयुक्त छ भने आलु पकेट क्षेत्र बनाएर किसानलाई प्रोत्साहित हुने कार्यक्रम हामीले बनाउने गरेका छौँ। आगामी वर्षको कार्यक्रममा त्यस क्षेत्रका किसानको आवश्यकतानुसार कार्यक्रम बनाउँछौँ।' रासस


प्रकाशित : बुधबार, पुस ११ २०८०१०:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend