बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

त्रिवेणी गाउँबाटै ६ करोडभन्दा बढीको अदुवा बिक्री

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ११ २०८०
त्रिवेणी गाउँबाटै ६ करोडभन्दा बढीको अदुवा बिक्री

अदुवा गाउँबाटै प्रतिक्विन्टल चार हजार र बीउका लागि प्रयोग हुने अदुवा प्रतिक्न्विन्टल आठ हजाार देखि १० हजारसम्म बिक्री भएकामा किसान खुसी छन्।

रुकुमपश्चिम- रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट ६ करोडभन्दा बढीको अदुवा बिक्री भएको छ। पालिकाभर २ हजार ६ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट ६ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी दिए। गाउँपालिका भित्र अदुवाखेती गर्ने दुई हजार छ सय घरधुरी रहेका र  पाँच हजार दुईसय रोपनी क्षेत्रफलमा अदुवा उत्पादन हुने गरेको जनाइएको छ।
 
एक रोपनी जग्गामा तीन सय केजी अदुवा उत्पादन हुने गरेको उनले जानकारी दिए। प्रत्येक किसानले गाउँबाटै एक क्विन्टललाई चार हजारका दरले बिक्री गरेका छन्। अदुवाका लागि व्यापारी गाउँमै पुगेर खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको कृषि शाखाले जनाएको छ। 

व्यावसायिकरूपमा अदुवाखेती गरेका त्रिवेणी-४ खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा बिक्रीबाट एक लाख आम्दानी गरेको बताए। विगत २० वर्षदेखि अदुवाखेतीमा लागेका उनले निरन्तर खेती गर्दै आएका छन्। यस वर्ष उत्पादन भएको साढे तीन क्विन्टल बीउका लागि र १२ क्विन्टल प्रतिक्विन्टल चार हजारदेखि आठ हजारका दरले बिक्री गरेको उनले बताए।

त्रिवेणी-४ खुम्चेरीका ५५ वर्षीय कृषक हरिबहादुर खड्काले यस वर्ष अदुवा राम्रो उत्पादन भएको जानकारी दिए। ३० वर्षदेखि निरन्तर कृषि पेसा गर्दै आएका उनले यस वर्ष अदुवा बिक्रीबाट एक लाख ५० हजार आम्दानी गरेको बताए। अदुवा गाउँबाटै प्रतिक्विन्टल चार हजार र बीउका लागि प्रयोग हुने अदुवा प्रतिक्न्विन्टल आठ हजाार देखि १० हजारसम्म बिक्री भएकामा उनी खुसी छन्।

'पहिले एक क्विन्टल अदुवाबाट सात क्विन्टल उत्पादन गरिन्थो, उमेर पनि ढल्किँदै गयो अहिले त एक क्न्विन्टल अदुवाबाट तीनदेखि चार क्विन्टलसम्म उत्पादन गर्ने गरेको छु', उनले भने। यस वर्ष बीउका लागि १२ क्विन्टल अदुवा भण्डारण गरेर राखेको किसान खड्काले बताए। रासस


प्रकाशित : बुधबार, पुस ११ २०८०१०:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend