बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

विदेशबाट फर्केर तरकारी खेती गर्दै मनिराज, राम्रै छ मासिक आम्दानी

मंगलबार, पुस १० २०८०
विदेशबाट फर्केर तरकारी खेती गर्दै मनिराज, राम्रै छ मासिक आम्दानी

वडा कार्यालयले व्यावसायिक रुपमा तरकारी खेतीमा जुटेका किसानको पहिचान गरेर उनीहरुको व्यावसायिक योजनाको आधारमा अनुदानसँगै तालिम तथा कृषियन्त्र, उपकरण सहयोग गर्दै आएको छ।

भोजपुर- विदेशको अनुभव र भोगाइले आफ्नै ठाउँमा कृषिमा लाग्नेको सङ्ख्या भोजपुरमा बढ्न थालेको छ। विदेशबाट फर्केर स्वदेशमा कृषि व्यवसायमार्फत धेरैले मनग्य आम्दानी गर्दै आएका छन्। 

भोजपुरको रामप्रसाद राई गाउँपालिका-८ खोक्सिकका मनिराज राई विदेशबाट फर्केर व्यावसायिक तरकारी खेतीमा लागेका छन्। दशवर्ष विदेश बसेका राई अहिले गाउँमा कृषि उद्यममा जोडिएका हुन्। उनले गोलभेँडा, बन्दा, फुलकोभी, गाँजरलगायत तरकारीको व्यावसायिक खेती गरिरहेका छन्।

वडा कार्यालयको पहलमा आवश्यक तालिमसँगै औजार तथा उपकरण पाएपछि व्यवसायमा थप सहजता भएको राईले बताए। 'विदेशमा गरेको दुःख र अनुभव आफ्नै ठाउँमा उपयोग गर्ने उद्देश्यले परिवारसँग मिलेर तरकारी खेती सुरु गरेको छु। अहिले प्रशस्त आम्दानी भइरहेको छ', उनले भने।

कृषिमा लाग्ने युवालाई राज्यले विभिन्न प्रोत्साहनमूलक कार्यक्रम गरेर सहयोग गरिरहेको राईको भनाइ थियो। करिब दुई रोपनी क्षेत्रमा तरकारी खेती लगाइएको उनले जानकारी दिए। तरकारी व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिने देखेपछि यसको विस्तारमा जोड दिइएको राईले बताए। 'स्वदेशमा व्यावसायिक भएर काम गर्न सकियो भने प्रशस्त आम्दानी गर्न सकिने रहेछ', उनले भने।

तरकारी खेतीबाट सबै खर्च कटाएर मासिकरुपमा २० देखि २५ हजार रूपैयाँसम्म आम्दानी हुने गरेको राईले जानकारी दिए। खेतीलाई थप विस्तार गरेर आम्दानीलाई अझ बढाउने लक्ष्य रहेको उनले योजना सुनाए। उत्पादन भएको तरकारी स्थानीय बजारमा खपत हुने उनको भनाइ छ।

वडा कार्यालयले व्यावसायिक रुपमा तरकारी खेतीमा जुटेका किसानको पहिचान गरेर उनीहरुको व्यावसायिक योजनाको आधारमा अनुदानसँगै तालिम तथा कृषियन्त्र, उपकरण सहयोग गर्दै आएको छ।

यहाँका कतिपय ठाउँ भौगोलिक रुपमा उर्वरभूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडाध्यक्ष बाचकुमार राईले बताए। भावी दिनमा व्यावसायिक खेतीका लागि माटोको परीक्षण गरेर माटो सुहाउँदो बाली लगाउन प्रोत्साहन गरिने उनको भनाइ थियो।

'आर्थिक रुपमा किसानलाई सक्षम बनाउन कृषिमा जोड दिन आवश्यक छ', वडाध्यक्ष राईले भने, 'स्थानीयवासीलाई व्यावसायिक कृषिमा जोड्न आवश्यक काम गरिरहेका छौँ। किसानलाई तरकारी खेती, व्यावसायिक बाख्रापालन, विभिन्न सीपमूकल तालिम दिँदै आएका छौँ। अहिले व्यावसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दो छ।'

किसानले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणमासमेत सहयोग गर्ने लक्ष्य रहेको वडाध्यक्ष राईले जानकारी दिए। वडाको बजेट बाहेक अन्य संघसंस्थासँग सहकार्य गरेर पनि कृषिका कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ थियो। वडामा विनियोजन हुने बजेटले सबै क्षेत्रलाई समेट्नुपर्ने भएकाले अन्य निकायसँग सहकार्य गरेर किसानलाई प्रोत्साहन गर्दै आएको उनले बताएर

'वडामा आउने बजेटले सबै पक्षलाई समेट्न समस्या हुन्छ', वडाध्यक्ष राईले भने, 'विभिन्न निकायसँग सहकार्य गरेर कृषि क्षेत्रको विकासमा जोड दिएका छौँ। कृषिमा वडालाई नमुनायोग्य बनाउने लक्ष्य लिएका छौँ।' रासस


प्रकाशित : मंगलबार, पुस १० २०८०१५:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend