बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

सप्तकोशीमा श्रीलंका टापु जोड्ने झोलुंगे पुल बन्ने

images
मंगलबार, पुस १० २०८०
images
सप्तकोशीमा श्रीलंका टापु जोड्ने झोलुंगे पुल बन्ने
फाइल तस्बिर

पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम अन्तिम चरणमा पुगेको बताइएको छ।

images
images

बराहक्षेत्र- सुनसरीको बराहक्षेत्र नगरपालिका-६ को ठाकुरबारीबाट श्रीलंका टापुलाई जोड्ने झोलुंगे पुल बन्ने भएको छ। नेपालकै ठूलो सप्तकोशी नदीमाथि बन्ने उक्त झोलुंगे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ।

images
images
images

संघीय सरकारको ठूला झोलुंगे पुल निर्माण विभागअन्तर्गत सप्तकोशीमा पहिलो पटक यति लामो झोलुंगे पुल निर्माण हुन लागेको बराहक्षेत्र नगरका आर्थिक विकास संयोजक तेजबहादुर गुरुङले बताए। पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

images
images

गुरुङका अनुसार सुनसरी क्षेत्र नं ४ का संघीय सांसद तथा पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुल योजनामा पारेका हुन्। झोलुंगे पुल सर्भेका लागि ऋषिकेश सर्बिस प्राइभेट लिमिटेड काठमाडौंले डीपीआरको ठेक्का पारेर काम अन्तिम चरणमा पुगेको योजनाका सबइन्जिनियर रञ्जितकुमार यादवले जानकारी दिए। सबइन्जिनियर यादवको नेतृत्वमा सर्भेको काम अन्तिम चरणमा पुगेको हो।

images
images

सबइन्जिनियर यादवले डीपीआरको डिजाइन तयार भइरहेको भन्दै डिजाइन सकिएलगत्तै कन्स्ट्रक्सनको ठेक्का लाग्ने बताए। नमुना झोलुंगे पुल नामकरण गरी गत आर्थिक वर्षमा पुलको स्थलगत अध्ययन र निरीक्षण भएको थियो। 

बराहक्षेत्र-६ र ९ तथा उदयपुरको बेलका नगरपालिका-२ र ३ वडा श्रीलंका टापु क्षेत्रमा पर्दछ। उक्त क्षेत्र १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइसम्म फैलिएको छ। श्रीलंका टापुमा चार हजार पाँच सय घर धुरीका १० हजारबढीको बसोबास रहेको बराहक्षेत्र-६ का वडाध्यक्ष उद्ववप्रसाद पोखरेलले बताए। उनले पुल बनेपछि श्रीलंका टापुवासीको दैनिकी सहज हुने विश्वास व्यक्त गरे।

श्रीलंका टापु क्षेत्र उर्वर बलौटे, दोमट माटो भएकाले तरकारी र अन्न उत्पादनका लागि राम्रो मानिँदै आएको छ। झोलुंगे पुल बनेपछि टापुवासीले उत्पादन गरेका कृषि उत्पादन बजार लान सहज हुने र उनीहरूको जीवनयापनमा सहजता आउने वडाध्यक्ष पोखरेलले बताए। उनले भने, 'यहाँ पुल बनेपछि टापुवासीको जीवनका साथै सिंगो बराहक्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि वृद्धि हुने विश्वास छ।'

जिल्ला सदरमुकाम इनरुवाबाट झन्डै ३५ किलोमिटर उत्तर पश्चिममा पर्ने टापुमा वर्षौँदेखि कृषि र पशुपालन गरेर टप्पुवासीले जीविका चलाउँदै आएका छन्। चारैतिर नदी भएकाले टापुवासी यातायातको साधनका रूपमा डुंगाको प्रयोग गर्दै आइरहेका छन्। वर्षायाममा सप्तकोशीमा पानीको बहाब बढ्ने भएकाले डुंगाबाट यात्रा गर्दा बर्सेनि कयौँको ज्यान जाने गरेको स्थानीयवासी सन्तोष चन्द्रवंशीले बताए। श्रीलंका टापुलाई जोड्ने झोलुंगे पुलको निर्माण हुने भएपछि आवागमनमा सहजता हुने उनको भनाइ थियो। रासस


प्रकाशित : मंगलबार, पुस १० २०८०१३:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend