सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

सुन्तलाको बोट सुक्दै गएपछि चिन्तामा काभ्रेका कृषक, उत्पादनसँगै घट्यो आम्दानी

images
सोमबार, पुस ९ २०८०
images
सुन्तलाको बोट सुक्दै गएपछि चिन्तामा काभ्रेका कृषक, उत्पादनसँगै घट्यो आम्दानी

सुन्तालखेतीबाट यहाँका किसानले डेढ लाखदेखि १५ लाख रूपैयाँसम्म वार्षिक आम्दानी लिने गरेका छन्।

images
images

काभ्रेपलाञ्चोक- आम्दानीको मुख्य स्रोत सुन्तलाखेती रहेका यहाँका कृषक बोट सुक्दै गएपछि चिन्तित बनेका छन्। मलजल नहुनु, माटो परीक्षण नहुनु, कीरा तथा रोग लाग्नुलगायत कारणले सुन्तला कम फलेपछि किसान चिन्तित बनेका हुन्।

images
images
images

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-१२ शङ्खुफेदीका कृषक चैत्यमुनि बज्राचार्यले सुन्तलाका बोट सुक्ने र रोग लागेर कम फल्न थालेकाले आम्दानी घट्दै गएको बताए। गत वर्षभन्दा यस वर्ष अलि बढी फले पनि मलजलको व्यवस्था, गोडमेल, माटो परीक्षण नगर्ने र कीरा लाग्ने गरेकाले कम फलेको उनको भनाइ थियो।

images
images

सोही ठाउँका अर्का कृषक सन्तवीर तामाङले फल लागे पनि कीरा लागेर समस्या भएको बताए। 'सुन्तला कम फल्न थालेपछि बगैँचाभित्र ट्र्याक्टर जोतेर मकै, तोरीलगायतका अन्य बाली लगाउन थालेपछि जरा काटिएर सुक्न थालेका हुन्', उनले भने, 'खेतीको नयाँ प्रविधि र रोगको उपचार विधि सिक्न पाएमा राम्रो हुने थियो।'

images
images

पनौती नगरपालिका-१० का कृषक मधुसुदन आचार्यले आम्दानीको मुख्य स्रोत सुन्तला खेती भए पनि भूकम्पपछिको समयदेखि कम फल्न थालेको बताए। तीन/चार रोपनीमा खेती गर्दै आएकामा बोट सुक्दै जान थालेपछि कतिपय बोट काटेर फालेको उनले सुनाए। 'डाँडामा पहिलादेखि प्रशस्त उत्पादन हुन्थ्यो। यसकै आम्दानीबाट आर्थिक उपार्जन गर्दै आएका थियौँ। पछिल्लो समयमा खेती नै कम हुन थालेको छ', आचार्यले भने, 'अझ पछिल्ला वर्षमा ऐँजेरु लागेर दाना कम र मसिनो फल्ने मुख्य समस्यामा यहाँका कृषक रहेका छन्।'

स्थानीय तह र कृषि विज्ञको सल्लाहअनुसार उपचारको विधि अपनाउने र पुरानो बिरुवा निकालेर नयाँ बिरुवा रोप्ने अभियान थाले पनि रोगको चपेटामा परेर यसबाट आम्दानी लिनसक्ने अवस्था नरहेको उनको भनाइ थियो।

धुलिखेल नगरपालिका-१२ मा रहेको महालक्ष्मी कृषक सहकारी संस्थाका अध्यक्ष माधव श्रेष्ठले कृषकको समस्यालाई समाधान गर्नका लागि कृषि ज्ञानकेन्द्र काभ्रेपलाञ्चोकबाट सुन्तला खेती सुधार कार्यक्रमअन्तर्गत रोगको किटाणु नाश गर्ने विधि, मोहनी पासो, भिटामिन राख्नेलगायत काम गरिएको जानकारी दिए। 'यसो गर्दा केहीमात्रामा सुधार आएको थियो। आम्दानीको मुख्य स्रोत सुन्ताला खेती भएका कृषकलाई किटाणु नाश गर्ने विधि र प्रविधि दुवै सिकाउन जरुरी छ', उनले भने।

गत वर्षदेखि औषधि छर्ने काम गरेकाले यस वर्ष केही सुधार भएको र फल पनि लागेको श्रेष्ठले बताए। केही सुधार आएपछि कृषकमा उत्साह जागेको भन्दै ज्ञान केन्द्रले अहिलेको अवस्थाका बारेमा अध्ययन गरी थप सुधारका लागि योजना बनाएर काम गर्नुपर्नेमा उनले जोड दिए।

धुलिखेल-१२ का वडाध्यक्ष मोहन लामिछानेले कृषकको सुन्तला खेतीमा सुधार ल्याउन आर्थिक वर्ष २०७६/२०७७ देखि सुन्तला सुधारकार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिएको बताए। पछिल्लो समयमा वडा सरकारसँगको सहकार्यमा महालक्ष्मी कृषक सहकारी संस्था र गौरीशंकर साना कृषि सहकारी संस्थामार्फत बाली संरक्षणअन्तर्गतका कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए।

वडाध्यक्ष लामिछानेले सुन्तलाका सुकेका हाँगा काट्ने, फललाई जालोले बेर्ने, औषधि छर्किने र नयाँ बिरुवा रोप्नेलगायत काम गर्दै आइएको उनले बताए। व्यावसायिक कृषकले सुन्तलाका बोटको बढी स्याहार गर्ने भएकाले बगैँचा सुधार हुँदै गएको उनको भनाइ थियो।

सुन्तालको खेतीबाट मनग्य आम्दानी गर्दै आएका यहाँका किसानले हरेक घरबाट डेढ लाख रूपैयाँदेखि १५ लाख रूपैयाँसम्म वार्षिक आम्दानी लिने गरेका जिल्लास्थित ज्ञान केन्द्रले जनाएको छ। सुन्तलाखेती नै प्रमुख स्रोत बनाएका शङ्खु, एक्लेखेत, पाटीचौर, सल्लेनीका कृषक पुराना बोट फालेर नयाँ बोट लगाउने तथा पुराना बोटलाई उपचार विधिबाट उत्पादनशील बनाउने अभियानमा लागेका छन्। रासस


प्रकाशित : सोमबार, पुस ९ २०८०१५:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend