बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

बगरखेती गर्ने किसानलाई बकैया गाउँपालिकाले अनुदान दिने

आइतबार, पुस ८ २०८०
बगरखेती गर्ने किसानलाई बकैया गाउँपालिकाले अनुदान दिने
फाइल तस्बिर

आयआर्जनमा विकास गर्ने लक्ष्यसहित बगर खेतीलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम ल्याइएको हो। गाउँपालिकाले ९५ बिघा जमिनमा एक लाख ७५ हजार अनुदान रकम उपलब्ध गराउने भएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताए।

मनहरी- मकवानपुरको बकैया गाउँपालिकाले बगरखेती गर्ने किसानलाई अनुदान दिने भएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रमअनुसार बगरमा खेती गर्ने किसानलाई अनुदान दिने भएको हो।

गाउँपालिकाले ९५ बिघा जमिनमा एक लाख ७५ हजार अनुदान रकम उपलब्ध गराउने भएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताए। उनका अनुसार पालिकाले गत शुक्रबार बगरखेती कार्यक्रमका लागि प्रस्तावना आह्वानको सूचना प्रकाशित गरेको हो। कृषि व्यवसायमा संलग्न भई खेती गर्न इच्छुक किसान, समूह, कृषि सहकारी संस्था, फारममार्फत एक साताभित्र दरखास्त आह्वान गर्न सकिने पालिकाले जनाएको छ।

अनुदानका लागि संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, कृषि व्यवसाय गर्ने अनुसूची अनुसारको प्रस्तावना, जग्गाको क्षेत्रफल र स्वामित्व वा हकभोग खुल्ने प्रमाणपत्र प्रतिलिपि, प्रतिबद्धता पत्र, आयोजनासम्बन्धी अन्य कागजात माग गरिएको अध्यक्ष लामिछानेले बताए। उनका अनुसार अनुदान वितरण प्रक्रिया प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरित कृषि विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०८० अनुसार गरिने छ।

आयआर्जनमा विकास गर्ने लक्ष्यसहित बगर खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइएको अध्यक्ष लामिछानेले बताए। 'हेटौँडा बजारबाट गाउँमा आउने दैनिक उपभोग्य सामग्री न्यूनीकरण गर्दै जान्छौँ। अब बिस्तारै गाउँबाट सहरमा तरकारी पठाउने लक्ष्यका साथ काम गरेका छौँ', उनले भने।

हिउँदमा खेर गइरहेको बगरको जग्गामा तरबुजा, काँक्रो, लौका र फलफुलका बिरुवा लगाउन सके बगरको जग्गा उपयोग पनि हुने र त्यहाँबाट उत्पादन भएको तरकारी फलफूलमार्फत किसानलाई आयआर्जन पनि हुने लामिछानेले बताए। बकैया गाँउपालिकाका १२ वटा वडामा अनुमानित १५ प्रतिशत जग्गा नदी उकास क्षेत्रअन्तर्गत पर्ने उनले जानकारी दिए। बगर खेतीलाई प्रोत्साहन गर्न गाँउपालिकाले अनुदान दिने भएपछि किसान उत्साहित भएका छन्। रासस


प्रकाशित : आइतबार, पुस ८ २०८०१५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend