बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

काभ्रेमा प्रभावकारी हुँदै भैँसी सुत्केरी भत्ता र पाडी वितरण कार्यक्रम

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ६ २०८०
काभ्रेमा प्रभावकारी हुँदै भैँसी सुत्केरी भत्ता र पाडी वितरण कार्यक्रम

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भैँसी सुत्केरी भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएको छ। नगरपालिकाले भैँसी सुत्केरी भत्ताका साथै किसानलाई पाडीसमेत अनुदानमा दिने गरेको छ। 

विसं २०७७ मा भैँसीको पाडी ल्याएर स्याहारेकी पनौती-११ ख्याकुकी सावित्री थापाले अनुदानमा प्राप्त गरेको पाडी अहिले लैनौ भैँसी छ। त्यतिबेला भैँसी ब्याउँदा  नगरपालिकाले उहाँलाई पाँच हजार सुत्केरी भत्ता पनि उपलब्ध गराएको थियो।

'त्यतिबेला अनुदानमा पाएको पाडी हुर्किँदै ब्याएपछि पहिलो बेतमा दुई लाखको दूध बेचेँ', थापाले भनिन्। 

ख्याकुकै माधव थापाको परिवारमा पनि लैनो भैँसीले खुसी थपेको छ। पनौती नगरपालिकाबाट उनले पनि अनुदानमा पाडी प्राप्त गरेका थिए। उक्त पाडी हुर्किँदै ब्याएपछि पहिलो बेतमा एक लाख ८० हजारको दूध बिक्री गरेको थापाले बताए। 

यस्तै पनौती-११ कै शोभा थापाले नगरपालिकाबाट केही वर्ष अघि अनुदानमै प्राप्त गरेको पाडी हाल लैनो भैँसी बनेपछि दूध बिक्रीबाट घर खर्च चलाउँदै आएकी छिन्। 'दैनिक पाँच लिटर दूध बिक्री गर्ने गरेकी छु', उनले भनिन्। 

पनौती नगरपालिको तीन वर्षको अवधिमा किसानलाई नौ सय १९ पाडी वितरण गरेको कृषि तथा पशुपन्छी शाखा प्रमुख लिलानाथ सापकोटाले जानकारी दिए। नगरपालिकाले भत्तासँगै खोप र औषधी निःशुल्क वितरण गर्ने गरेको छ। नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि भैँसी संरक्षण-सम्वर्द्धन अभियानअन्तर्गत सुत्केरी भैँसी भत्ता कार्यक्रम सुरु गरेको हो। 

'दूध उत्पादन र भैँसीपालनको अवस्थाबारे अध्ययन गरेपछि भैँसी संरक्षण अभियानअन्तर्गत भैँसी सुत्केरी भत्ता वितरण गर्न थालेका हौँ', शाखा प्रमुख सापकोटाले भने।

पहिलो बेतको भैँसी सुत्केरी हुँदा पाँच हजार र त्यस पछि दुई हजारको दरले सुत्केरी भत्ता वितरण गरिएको उनले जानकारी दिए। उक्त कार्यक्रममा सहभागी हुन अनिवार्यरुपमा पशु बीमा गर्नुपर्ने प्रावधान थियो। नगरपालिकाले भैँसीलाई खोप तथा घाँसका बीउ निःशुल्क उपलब्ध गराउँदै आएको छ। 

शाखा प्रमुख सापकोटाका अनुसार पनौती नगरपालिकामा करिब आठ हजार भैँसी रहेका छन्। हाल दैनिक करिब ७५ हजार लिटर दूध उत्पादन भइरहेको छ। यसमध्ये ५० हजार लिटर दूध बिक्रीका लागि काठमाडौं पठाउने गरिएको छ। रासस 


प्रकाशित : शुक्रबार, पुस ६ २०८०१४:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend