बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

मेहनती 'अनार बाजे', जो अहिले मेवा बेचेर कमाइरहेका छन् मासिक डेढ लाख

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ६ २०८०
मेहनती 'अनार बाजे', जो अहिले मेवा बेचेर कमाइरहेका छन् मासिक डेढ लाख

हरियाली समृद्ध कृषक समूहको नामबाट उनले दुई वर्षअघिदेखि सुरु गरेको मेवाखेतीबाट लाखौँ आम्दानी गर्न थालेका हुन्।

रामेछाप- रामेछापमा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले अहिले मेवा बेचेर मासिक १ लाख ५० हजार रुपैयाँ आम्दानी गरिरहेका छन्।

अनारमा भन्दाबढी मेवामा फाइदा हुने भएपछि आफू मेवाखेतीतर्फ आकर्षित भएको कृषक आचार्यले बताए।

रामेछाप नगरपालिका-८ स्थित सुकाजोर खोला विगत २० वर्षदेखि मरुभूमिमा परिणत भएपछि उक्त बगरमा करिब पाँच सय मेवाका बोट लगाइएको उनले बताए। सबै खर्च कटाएर वार्षिक आम्दानी १८ लाख रुपैयाँसम्म हुने गरेको उनले बताए।  

आचार्यले मेवाखेतीभित्र कागतीसँगै केरा पनि लगाएका छन्। उनका अनुसार कागतीले उत्पादन दिन थालिसकेको छ भने केरा पनि पसाउन लागेको छ। हरियाली समृद्ध कृषक समूहको नामबाट उनले दुई वर्षअघिदेखि सुरु गरेको मेवाखेतीबाट लाखौँ आम्दानी गर्न थालेका हुन्। 

कृषक आचार्यले भने, 'पाँच किलोको एउटै मेवा फल्ने र एउटा बोटमा एक सय ५० केजीसम्म फल्ने गरेको छ। यसको होलसेल मूल्यमा एक सय २० प्रतिकिलो बिक्री हुने गरेको छ।' एउटै बोटमा उत्पादन भएको मेवाबाट १८ हजारसम्म कमाइ हुने गरेको उनले बताए।  

वैदेशिक रोजगारीमा जाने युवालाई जाँगर भए स्वदेशमै केही गर्न र विदेशको जति कमाउन सकिन्छ भनेर सन्देश दिन आफूले मेवा खेती गरेको आचार्यको भनाइ थियो।

उनले भने, 'अरु रोजगारीका लागि विदेश जान्छन्। म चाहिँ जिल्ला वन कार्यालयको स्थायी जागिर छाडेर कृषिकर्ममा लागेँ। काम गर्दा शरीरमा रोग पनि नलाग्ने र आफूले गरेको मेहनतको फल चाँडै प्राप्त हुने भएकाले आफू यस प्रकारका फलफूल खेतीतर्फ लागेको हुँ।'

आफूजस्ता कृषकलाई राज्यले पनि विशेष सहयोग तथा अनुदान दिनुपर्नेमा आचार्यले जोड दिए। नमुनाका रुपमा युवालाई यस्ता फार्मको अवलोकन गराएर आफ्ना अनुभवन साटासाट गर्न सकिने उनले बताए। रासस


प्रकाशित : शुक्रबार, पुस ६ २०८०१४:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend