बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

व्यावसायिक कृषिमा सक्रिय खड्का दम्पती, वार्षिक ४० लाखसम्म गर्छन् आम्दानी

बुधबार, पुस ४ २०८०
व्यावसायिक कृषिमा सक्रिय खड्का दम्पती, वार्षिक ४० लाखसम्म गर्छन् आम्दानी

परिवारका सदस्यले मात्र घर तथा कृषि क्षेत्रको काम तथा बारीको रेखदेख गर्न नसकिने भएपछि खड्का दम्पतीले एकजनालाई वार्षिकरुपमा रोजगारी दिएका छन्। कामको चाप बढेकाले थप कामदार राख्ने उनीहरुको योजना छ।

त्रिवेणी- रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका-४ जुगेपानीका चन्द्रबहादुर खड्का र उनकी श्रीमती लालकुमारीले खड्का कृषि पेसामा रमाएका छन्। बाउन्न वर्षीय चन्द्रबहादुर ३७ वर्षको हुँदादेखि कृषि पेसामा आबद्ध छन्।

अहिले पनि उनको कृषि पेसा प्रतिको जाँगर र लगाव देख्दा युवावस्थाको भन्दा कम छैन। खड्का दम्पतीले खाना बस्न भन्दा पनि बारीमा उत्पादित तरकारी र फलफूलको बढी चिन्ता लाग्ने गरेको सुनाउँछन्। 

सुन्तला टिप्ने सिजन आएकाले कामको चाप झन् बढेको चन्द्रबहादुरले बताए। 'बगैँचा नजिकै एउटा सानो बस्न मिल्ने घर छ। जाडोको समय यहाँ रातभर बस्न सकिँदैन, त्यसैले ११/१२ बजेतिर आएर कसैले सुन्तला चोरी गरेका छन्/छैनन् हेरेर जान्छु। अहिले सिजन भएकाले बारीको रेखदेख गर्नुपर्छ', उनले भने।

चन्द्रबहादुरको बारीमा तरकारीका साथै विभिन्न प्रकारका फलफूल खेती हुने गरेको छ। उनको बारीमा प्रवेश गर्नेलाई वरपरको वातावरण अवलोकन गर्दा आनन्द महसुस हुने स्थानीय बताउँछन्। बारीमा सुन्तला बगैँचाका साथै अमिलो, कागती, अलैँची, टिमुर, काठको मुढामा उत्पादन हुने सिताके च्याउ, गोलभेँडा, बन्दागोभी फूलगोभी, खुर्सानी तथा विभिन्न घाँस र फलफूलका नर्सरी राखेर बिक्री गर्ने गरिएको उनले बताए।

'विगत १५ वर्षदेखि कृषि पेसामा आबद्ध छौँ। पहिले सानो छँदा बाबाले थोरै जग्गामा सुन्तला लगाएका थिए। बाबाले लगाएको सुन्तलाको उत्पादन देखेर व्यावसायिक रुपमा सुन्तला खेती गर्ने हौसला मिलेको हो', चन्द्रबहादुरले भने, 'मेरो काममा श्रीमतीले सधैँ साथ छ। काम विशेषले घरबाहिर घुम्न जान्नुपर्यो भने खेतबारी तथा बगैँचाको रेखदेख श्रीमतीले गर्छिन्।'

खड्का दम्पतीको सात जनाको परिवारमा दुई छोरीको विवाह भइसकेको छ। एक छोरी र एक छोरा पढाइको सिलसिलामा जिल्लाबाहिर बस्छन् भने एक छोराले रोजगारी गर्छन्।

कृषि पेसामा निकै खुसी मिलेको चन्द्रबहादुरको भनाइ थियो। 'कान्छो छोराले अमेरिका जान्छु भनिरहन्छ। म नेपालमै बसेर स्वरोजगार बन्न सकिन्छ भनेर नपठाउने योजनामा छु। म दुवै  छोरालाई विदेश पठाउँदैन। स्वदेशमै दुःख गरेर कमाउन सकिन्छ। उनीहरुलाई पनि व्यावसायिक कृषि पेसामा आबद्ध गराउने हो', उनले भने। खड्काकी श्रीमती लालकुमारीले पनि छोराहरुले अर्काको देशमा दुःख पाउनुभन्दा आफ्नै ठाउँमा केही न केही गरेको हेर्ने रहर भएको सुनाइन्।

मनै लोभ्याउने सुन्तला बगैँचा

विसं २०६२ देखि व्यावसायिक सुन्तला खेती गरेका खड्काको बारीमा अहिले तीन हजार छ सय सुन्तलाका बोट छन्। जसमध्ये करिब पाँच सय बोटले फल दिन सुरु गरिसकेका छन्। अन्य साना बोटले पनि दुई वर्षभित्र फल दिन सुरु गर्ने चन्द्रबहादुरले बताए। गतवर्ष ३६ क्विन्टल सुन्तला उत्पादन भएकामा यस वर्ष राम्रो फल लागेकाले ५० क्विन्टल बिक्री गर्ने योजना रहेको उनको भनाइ थियो। 

गतवर्ष सुन्तला बिक्रीबाट तीन लाख ७५ हजार रूपैयाँ कमाइ भएको जनाउँदै चन्द्रबहादुरले यस वर्ष दोबर आम्दानी हुने आशा गरिएको बताए। बारीबाटै ४५ देखि ५० रूपैयाँसम्म प्रतिकिलो बिक्री हुने गरेको उनले बताए। उनका अनुसार सुन्तला खरिद गर्न दाङ, सल्यानलगायत स्थानबाट व्यापारी आउने गरेका छन्।

चन्द्रबहादुरले अलैँची, अमिलो, टिमुरलगायत फलफूलबाट पनि उत्तिकै आम्दानी गरेका छन्। गत वर्ष अलैँची चार क्विन्टलभन्दा बढी अर्थात् चार सय सात किलो बिक्री गरेर पाँच लाख रूपैयाँ आम्दानी गरेको सुनाए। अलैँची पनि गाउँबाटै प्रतिकिलो एक हजार तीन सय रूपैयाँमा बिक्री हुने गरेको उनको भनाइ थियो।

हिउँदे तरकारीबाट तीन लाख र फूलफूलका (कागती, सुन्तला, अमिलो, डाले घाँस) नर्सरी बिक्रीबाट १७ लाख रूपैयाँ, खसीबोका बिक्रीबाट वार्षिक तीन लाख ५० हजार रूपैयाँ आम्दानी हुने गरेको चन्द्रबहादुरले जानकारी दिए। उनका अनुसार वार्षिक ३५ देखि ४० लाख रूपैयाँसम्म आम्दानी हुने गरेको छ।

चन्द्रबहादुरले ६२ रोपनीमा सुन्तला खेती विस्तार गरेका छन्। बाँकी रहेको पाखो पारीमा पनि थप खेती विस्तार गर्ने योजना रहेको उनले बताए। आफूले व्यावसायिकरुपमा कृषि पेसा गरे पनि वास्तविक कृषि पेसामा आबद्ध किसानले अनुदानका कार्यक्रम नपाउने गरेकामा उनले दुखेसो पोखे।

अनुदानका कार्यक्रम आए पनि पहुँचवालालाई मात्र समेट्ने गरिएको चन्द्रबहादुरको गुनासो थियो। धेरै मेहनतपछि कृषि विकास कार्यालय रुकुमपश्चिमबाट ५० प्रतिशत अनुदानमा एउटा टनेल, सिँचाइ पोखरी र बाख्रापालनको लागि भकारो सुधार कार्यक्रमअन्तर्गत अनुदानमा पाएको उनले जानकारी दिए।

परिवारका सदस्यले मात्र घर तथा कृषि क्षेत्रको काम तथा बारीको रेखदेख गर्न नसकिने भएपछि खड्का दम्पतीले एकजनालाई वार्षिकरुपमा रोजगारी दिएका छन्। मासिक १२ हजार रूपैयाँका दरले एक जना कामदारले काम गरिरहेको उनले बताए। कामको चाप बढेकाले थप कामदार राख्ने योजना बनाइएको उनको भनाइ थियो। 

'वार्षिक एकजना कामदार लगाए पनि सुन्तला टिप्ने सिजनमा भने एक हप्तासम्म १० जना भन्दा धेरै कामदार लाग्ने गरेका छन्', चन्द्रबहादुरले भने। अलैँची खन्ने सिजनमा पनि थप कामदार लगाउने गरेको उनले बताए। ग्रामीण सडक व्यवस्थित नहुँदा उत्पादन भएका तरकारी तथा फलफूल सडकसम्म पुर्‍याउन समस्या हुने गरेको उनको भनाइ थियो।

सोही ठाउँका किसान टेकबहादुर खड्काले पनि सुन्तला र अलैँची मनग्य उत्पादन हुने गरेको बताए। गत वर्ष २५ क्विन्टल सुन्तला र दुई सय ४० किलो अलैँची बिक्री गरेर पाँच लाख रूपैयाँ आम्दानी गरेको उनले बताए।

वडामा छैन तथ्यांक

किसानले उत्पादन तथा बिक्री गर्ने कृषिजन्यवस्तुको वडा कार्यालयले कुनै तथ्यांक राखेको छैन। वडामा किसानले धेरै मात्रामा सुन्तला तथा अलैँची व्यावसायिकरुपमा खेती गर्ने गरे पनि कार्यालयले यकिन तथ्यांक नराख्दा कति रकम भित्रियो भन्ने विवरण नभएको हो।

वडाका धेरै किसानले सुन्तला, अलैँची तथा अन्य तरकारी लगाउने गरेपनि यसको विवरण नरहेको वडा अध्यक्ष नन्नराम बाँठाले बताए। 'किसानले उत्पादन गरेको कृषिजन्यवस्तु आफै बिक्री गर्ने गरेका छन्। कति उत्पादन हुन्छ? कति बिक्री गर्नुहुन्छ यसको वडामा विवरण छैन्', उनले भने। उत्पादन गरिएका वस्तुको बजार व्यवस्थापन तथा अन्य समन्वयलगायत काममा वडाले सहयोग नगरेको उनको भनाइ थियो।

एउटै वडाबाट एक करोड २० लाख रूपैयाँको सुन्तला बिक्री

त्रिवेणी गाउँपालिकाको कृषि शाखा कार्यालयले भने ४ नं वडाका किसानले मात्रै गतवर्ष एक करोड २० लाखको सुन्तला बिक्री गरेका जनाएको छ। शाखा प्रमुख रमेश पुनका अनुसार वडामा व्यावसायिक सुन्लता खेती गर्ने ५० घरधुरी छन्।

प्रत्येक किसानले पाँच रोपनीभन्दा बढी जग्गामा खेती गर्ने गरेका छन्। पाँच रोपनीमा ४० देखि ४८ क्विन्टल सुन्तला उत्पादन हुने गरेको पुनले जानकारी दिए। उनका अनुसार वडामा चार सय रोपनी अर्थात् २० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ। 

गतवर्ष वडामा दुई हजार चार सय क्विन्टल सुन्तला उत्पादन भएको थियो। यसवर्ष सुन्तलाले फल राम्रो दिएकाले गतवर्ष भन्दा बढी उत्पादन हुने अनुमान गरिएको पुनको भनाइ थियो। गाउँबाटै प्रतिकिलो ५० रूपैयाँका दरले व्यापारीले सुन्तला खरिद गर्ने गरेका भन्दै किसानलाई बजारको समस्या नरहेको कृषि शाखा प्रमुख पुनले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, पुस ४ २०८०१७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend