बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

शिक्षणबाट अवकाशपछि सुन्तलाखेतीमा : बर्सेनि पाँच लाख कमाइ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस ३ २०८०
शिक्षणबाट अवकाशपछि सुन्तलाखेतीमा : बर्सेनि पाँच लाख कमाइ

शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाश पाएका खड्काले मासिक ३५ हजार रुपैयाँ पेन्सन बुझ्दै आएका छन्।

गलकोट- धेरै जागिरेहरू अवकाशपछि आराम गर्नुहुन्छ  तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाकेनन्। एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन्।

शिक्षक पेसाबाट अवकाश भएका बागलुङ नगरपालिका-८ सिगानाका किसान अनन्तबहादुर खड्काले अवकाशपछिको समय सुन्तला खेतीमा लगेको १० वर्ष भयो। उनी सुन्तलाखेतीबाटै वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्न सफल भइरहेका छन्।

शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाश पाएका खड्काले मासिक ३५ हजार रुपैयाँ पेन्सन बुझ्दै आएका छन्।

आफू अहिले किसानका रूपमा सक्रिय भएको भन्दै कृषिबाट सन्तुष्ट बनेको खड्काले बताए। उनले आठ रोपनी जग्गामा लगाएको सुन्तला यसपटक चितवनका बजार पुगेको छन्। विगतका वर्षमा धादिङ र पोखराका बजारमा पुगेका सिगानाको सुन्तला चितवनमा पुगेको हो। 

दुई सय सुन्तलाको बोटबाट सुन्तला उत्पादन गरिराखेका खड्काले अवकाशपछि आफूलाई सुन्तलाखेती समर्पित गराएको बताए। 'परम्परागत कृषि पेसा पुख्र्यौली थियो, मैले धान फल्ने खेतमा सुन्तला खेती गरेको हुँ, शिक्षक, प्रधानध्यापक हुँदै स्रोत व्यक्ति बने, ३७ वर्ष लामो जागिरपछि सुन्तलाखेतीमा लागेँ, अहिले उत्पादन गरेको सुन्तला चितवनको व्यापारीलाई रु पाँच लाखमा एकमुष्ट बिक्री गरेँ, गत वर्ष सुन्तला बिक्रीबाट पाँच लाख कमाएको हो', खड्काल भने। 

चितवनका व्यापारीले सुन्तला बगैचाबाट नै एकमुष्ट किनेपछि सुन्तला टिप्ने स्थानीय महिलाले समेत रोजगारी पाएका छन्। आगमी वर्ष केही सुन्तलाको रुखले उत्पादन दिन थाल्ने भएपछि सुन्तलाको आम्दानीमा वृद्धि हुने खड्काको भनाइ छ। यस पटक चिवनका सुन्तला व्यापारी शिव सापकोटाले सिगानाको सुन्तला आयात गरिरहेका छन्।
 
सिगानाको सुन्तला स्वादिष्ट भएको थाहा पाएपछि सापकोटा सुन्तला खरिदका लागि सिगाना पुगेका हुन्। सुन्तला गाउँका रूपमा परिचित सिगानाका झण्डै एक सय किसानले सुन्तला फलाउँदै आएका छन्। 

'चितवनको क्षेत्रपुरमा सिगानाको सुन्तला निर्यात भएको छ, हाम्रो  सुन्तला लागिसकेपछि अन्य किसानको समेत सुन्तला चितवन लैजाने व्यापारीको भनाइ छ', खड्काले भने 'परम्परागत खेतीभन्दा सुन्तलाखेतीबाट धेरै गुणा राम्रो कमाई गर्न सकिन्छ, सिगानामा मजस्ता धेरै किसान अहिले सुन्तला खेतीमा छन्, सिगानमा सरदर तीन करोड रुपैयाँसम्मको सुन्तला उत्पादन हुने गर्दछ।'

पछिल्लो छ वर्षदेखि खड्काले सुन्तलाबाट लोभलाग्दौ आम्दानी गर्दै आएका छन्। खड्कासहित सिगानामा टोपबहादुर खड्का, रामबहादुर खड्कालगायत अन्य किसानले पनि ठूलो परिमाणमा सुन्तला उत्पादन गर्दै आएका छन्। रासस


प्रकाशित : मंगलबार, पुस ३ २०८०१०:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend