बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

मकवानपुरको गढीमा कोदोखेतीमा किसानको आकर्षण बढ्दो

सोमबार, पुस २ २०८०
मकवानपुरको गढीमा कोदोखेतीमा किसानको आकर्षण बढ्दो

गाउँपालिकाले कोदो प्रतिकिलो ५४ रूपैयाँ, फापरको प्रतिकिलो सय रूपैयाँ र जुनेलोको प्रतिकिलो ८४ रूपैयाँ हुने गरी न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो। त्यसपछि किसानले उत्पादन गरेको कोदो बिक्री गर्न थालेका हुन्।

मकवानपुर- कोदोखेती गरेबापत स्थानीय सरकारले प्रोत्साहनस्वरुप थप रकम दिने भएपछि कोदोखेती गर्ने किसानको आकर्षण बढेको छ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेपछि किसान खुसी हुनुका साथै यो पेसामा आकर्षित भएका हुन्। गाउँपालिकाले कोदो प्रतिकिलो ५४ रूपैयाँ, फापरको प्रतिकिलो सय रूपैयाँ र जुनेलोको प्रतिकिलो ८४ रूपैयाँ हुने गरी न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो। त्यसपछि किसानले उत्पादन गरेको कोदो बिक्री गर्न थालेका हुन्।

यही क्रममा मकवानपुरगढी-४ कालीखोलास्थित अपांगता तथा विपन्न कृषि सहकारी संस्था लिमिटेडले त्यस क्षेत्रमा किसानबाट उत्पादित कोदो खरिद गरी संकलन गर्न सुरु गरेको छ। सहकारी संस्थाले गाउँपालिकाबाट तोकिएको मूल्यमा अनुदान रकमसमेत थप गरी प्रतिकिलो ६० रूपैयाँका दरले कोदो खरिद गरिएको सहकारीका अध्यक्ष दिलबहादुर योञ्जनले जानकारी दिए।

कोदो संकलनको पहिलो दिन ११ किसानबाट एक हजार पाँच सय किलोभन्दा बढी खरिद भएको सहकारीका सचिव कृष्णबहादुर घलानले बताए। कोदो बिक्री गर्ने किसानमध्ये मकवानपुरगढी-४ का किसान सुकुमबहादुर घलानले सबैभन्दा धेरै पाँच सय किलो कोदो बिक्री गरेका छन्।

गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान र वडा नं ४ का वडाध्यक्ष अर्जुनप्रसाद तिमिल्सिनाको उपस्थितिमा कोदो खरिद तथा संकलनको कार्य सुरु गरिएको हो। गाउँपालिका अध्यक्ष स्याङ्तानले ८६ वर्षीय किसान वीरबहादुर योञ्जनलाई चेक हस्तान्तरण गरेर कोदो खरिदको कार्य सुरु गरेका थिए। अपांगता तथा विपन्न कृषि सहकारी संस्थाले गाउँपालिकाको सहयोगमा गत वर्षदेखि कालीखोला ब्रान्डको कोदो पिठो प्याकेजिङ गरी बजारमा बिक्री गरिरहेका छन्। रासस


प्रकाशित : सोमबार, पुस २ २०८०१३:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend