बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

विदेशबाट फर्किएर खेतीकिसानी, आम्दानी कम तर सन्तुष्ट छन् भोजबहादुर

आइतबार, पुस १ २०८०
विदेशबाट फर्किएर खेतीकिसानी, आम्दानी कम तर सन्तुष्ट छन् भोजबहादुर

२०६४ तिर रोजगारीका सिलसिलामा कतार पुगेका भोजबहादुरले त्यहाँ भनेजस्तो काम पाएनन्, एक वर्षको अवधिमा आम्दानीको साटो उल्टो ऋण बोकेर फर्किए। त्यसपछि उनी माल्दिभ्समा पुगे। त्यहाँ पनि तीन वर्ष काम गर्दा भनेजस्तो पैसा जम्मा भएन अनि नेपाल फर्किएर खेतीकिसानी थाले।

बागलुङ- रोजगारी खोज्दै विदेशी भूमि पुग्ने सबैले पैसा कमाउँछन् भन्ने छैन। परदेशको काम आफू अनुकुल नहुँदा पैसा कमाउनभन्दा पनि ऋणको भारी बोकेर आउने पनि छन्। त्यसैमध्येका एक हुन्, जैमिनी नगरपालिका-५ बिनामारेका भोजबहादुर बोहोरा।

रोजगारीका सिलसिलामा केही वर्ष कतार र माल्दिभ्समा श्रम खर्चिएका उनी यतिबेला भने गाउँमै कृषि व्यवसायमा रमाएका छन्। 'पैसा कमाउन विदेश त गइयो, तर भनेजस्तो भएन। अहिले गाउँमै गरेको कृषि व्यवसायले आत्मसन्तुष्टि दिएको छ', बोहोराले सुनाए।

बोहोरा विसं २०६४ सालमा रोजगारीका सिलसिलामा कतार पुगे। त्यहाँ उनले भनेजस्तो काम पाएनन्। कतारमा एक वर्ष बिताउँदा पैसा कमाउनुको साटो ऋण बोकेर घर फर्किए। त्यसपछि उनी माल्दिभ्समा पुगे। त्यहाँ पनि तीन वर्ष काम गर्दा भनेजस्तो पैसा जम्मा भएन।

कतार र माल्दिभ्समा काम गरेपछि उनलाई काम खोज्दै अर्को देश जान मन लागेन। त्यसपछि गाउँमै व्यवसायिक तरकारी खेती सुरु गरे। 'गाउँ फर्केर बाँझो जग्गामा व्यावसायिक खेती सुरु गरेको १२ वर्ष भयो, आम्दानी त यहाँ पनि असाध्यै राम्रो त छैन तर आत्मसन्तुष्टि भने मिलेको छ', उनले भने, 'माल्दिभ्समा कमाएको पैसा श्रीमतीलाई विदेश पठाउँदा खर्च भयो। श्रीमती फर्केर आइनन्। उतै घरजम गरिन्। त्यसपछि फर्किएर विदेश जान मलाई मनले दिएन। जे गरे पनि गाउँमै गर्छु भन्ने लाग्यो।' त्यसपछि उनले दोस्रो विवाह गरे।

श्रीमती र छोरासहितको तीन जनाको उनको परिवार अहिले कृषिमै निर्भर छ। उनले हाल ६ वटा आधुनिक र परम्परागत प्लाष्टिक टनेलमार्फत गोलभेँडा, काउली, ब्रोकाउली, मुला, केराउ, चना, बन्दा र सिमी फलाएका छन्।

उनको फार्ममा कागती, सुन्तला, अमिलोलगायतका फलफूल पनि छन्। साथमा एउटा दुहुनो गाई, एउटा भैँसी, कुटानीपिसानी मेसिन, पाँच वटा बाख्रा र एक दर्जन कुखुरा पनि छन्। 'फार्म र परिवारको खर्च कटाएर केही रकम बचत समेत गर्न भ्याएको छु', उनले भने।

‘बोहोरा पशु तथा कृषि फार्म दर्ता’मार्फत उनले कृषि ज्ञान केन्द्र बागलुङबाट सात लाख रूपैयाँ अनुदान पाइसकेका छन्। 'श्रीमती फूलमाया रानाले मलाई सहयोग गर्छिन्, तरकारीसँगै दूध, बाख्रा पनि बिक्री भइरहेको हुन्छ', उनले भने, 'आम्दानी भइरहेकाले सजिलो भएको छ।' 

बोहोराले १५ रोपनी आफ्नै जग्गामा मौसमी तथा बेमौसमी नगदेबाली लगाएका छन्। स्थानीय तहले तरकारी उत्पादनको बजार सुनिश्चित गरिदिए आफूजस्ता किसानलाई सहज हुने उनको भनाइ छ। रासस


प्रकाशित : आइतबार, पुस १ २०८०१५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend