बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

खडक नगरपालिकाका किसानले अब सिँचाइको विद्युत महसुल तिर्नु नपर्ने

आइतबार, पुस १ २०८०
खडक नगरपालिकाका किसानले अब सिँचाइको विद्युत महसुल तिर्नु नपर्ने

नगरपालिकाले नै सिँचाइको विद्युत महसुल तिरिदिने भएपछि खेतीको लागत कम पर्ने भन्दै किसान उत्साहित छन्।

गोलबजार- सिँचाइका लागि प्रयोग हुने विद्युतको महसुल स्थानीय तहले बेहोर्ने भएपछि यहाँका किसान खुसी भएका छन्। यहाँको खडक नगरपालिकाले किसानले खेती सिँचाइका लागि प्रयोग हुने विद्युत् महसुल बेहोर्ने निर्णय गरेपछि किसान खुसी भएको नगरप्रमुख जयप्रकाश चौधरीको भनाइ छ।

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरूप कृषि सिँचाइ मिटरको बिल नगरपालिकाले भुक्तानी गर्न लागिएको उनको भनाइ छ। नगरप्रमुख चौधरीले किसानलाई प्रोत्साहन गर्न तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्देश्यले ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ अन्तर्गत उक्त निर्णय गरिएको बताए।

'अहिलेसम्म कृषि सिँचाइको विद्युत् महसुल आफैँले तिर्दै आएका थियौँ', वडा नं १० फूलबरीयाका किसान अशोक यादवले भने, 'अब नगरपालिकाले नै महसुल तिरिदिने भएपछि खेतीको लागत कम हुनेछ।'

वडा नं १ सिस्वाका किसान मञ्जिलादेवी मण्डलले नगरपालिकाको उक्त निर्णयले आफूहरुलाई सहज भएको बताइन्। 'समयमै वर्षा नहुँदा सिँचाइका लागि डिजेलपम्प चलाउँदा खर्च बढी हुन्थ्यो', उनले भने, 'सिँचाइका लागि विद्युत् निःशुल्क उपभोग गर्न पाउने भएपछि खर्च कम हुने भएको छ।'

खडक नगरपालिकाले सुरु गरको ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ स्थानीय सरकारले सञ्चालन गरेको योजनामध्ये नमुना भएको वडा नं ११ का सूर्यनारायण रामको भनाइ छ।

खडक नगरकार्यपालिकाको गत मङ्सिर २६ गतेको बैठकले नगरपालिकाभित्रका सम्पूर्ण सडक बत्ती तथा कृषि सिँचाइ मिटरको बिल आगामी माघदेखि नगरपालिकाले भुक्तानी गर्ने निर्णय गरेको थियो।

पुस मसान्तसम्मको महसुल किसान आफैले भुक्तानी गर्ने र आगामी माघदेखिको महसुल नगरपालिकाले तिर्ने निर्णय भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रसाद चौधरीले जानकारी दिए। 'सिँचाइमा दिइने अनुदानले उत्पादन बढ्ने र किसानको आर्थिक अवस्थामा पनि सुधार आउने विश्वास लिएका छौँ', उनले भने, 'कृषि क्षेत्रको विकास र विस्तारका लागि नगरपालिकाले ठोस् योजनासहित अघि बढेकाे छ।' रासस


प्रकाशित : आइतबार, पुस १ २०८०१४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend