बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

रुकुमपूर्वमा हराउँदै जौखेती

आइतबार, पुस १ २०८०
रुकुमपूर्वमा हराउँदै जौखेती

मैकोटका सबैले मकै भित्र्याएपछि खेतबारी बाँझै राखेर एक यामभरि वस्तुभाउको चरिचरन गर्ने क्षेत्र बनाउने गरेका छन्।

रुकुमपूर्व- रुकुमपूर्वमा दशक अघिसम्म प्रशस्त मात्रामा गरिने जौखेती हराउँदै गएको छ। कुनै समय जिल्लाको प्रमुख बाली भित्र पर्ने सो खेतीप्रति किसान आकर्षित नहुँदा पछिल्लो समय बिरलै मात्रामा देखिने गरेको छ। अहिले पूजाआजामा आवश्यक पर्ने जौसमेत जिल्लामा उत्पादन हुन छाडेको छ।

पाँच/छ वर्षअघिसम्म यही समयमा पुथा उत्तरगङ्गा गाउँपालिका-१ मैकोटमा सबैका बारीमा जौ उम्रिएर हरियाली देखिन्थ्यो। अहिले ती सबै खेतबारी खाली छन्। स्थानीय वीरेन्द्र बुढाले ती खेतबारी अहिले घोडा/खच्चड, भेडाबाख्रा बथानको चरिचरन गर्ने क्षेत्र बनेका बताए। मकै भित्र्याएपछि खाली भएका ती बारी अब अर्को याममा मकै नरोप्दासम्म खाली नै रहने गरेको उनले बताए। उनले भने,' पहिले सबैले बारीमा जौखेती हुने गर्दथ्यो। पछि बिस्तारै मानिसले जौखेती गर्न छाड्दै गए।'

मैकोटका सबैले मकै भित्र्याएपछि खेतबारी बाँझै राखेर एक यामभरि वस्तुभाउको चरिचरन गर्ने क्षेत्र बनाउने गरेका छन्।

जौखेती गर्दै आएका मैकोटका चामबहादुर कामीले पछिल्लो समय आफूले जौखेती नगरेको जानकारी दिए। 'पहिले जौ उत्पादन हुँदा त्यसैको सातु, ढिडो बनाएर खाने गरिन्थ्यो', उनले भने, 'जौबाट बनेका परिकार खानलाई पनि मीठो र स्वास्थ्यका लागि पनि निकै राम्रो हुन्थ्यो।' वस्तुभाउलाई दानाका रूपमा पनि जौ प्रयोग गरिन्थ्यो। अहिले भने आफूलाई आवश्यक पर्दा चाहिने जौसमेत उत्पादन हुन छाडेको उनको भनाइ छ।

मैकोटमा छाडा पशुचौपायाबाट बाली जोगाउन गाह्रो हुने र जौ भित्र्याउने बेलामा स्थानीय यार्सा संकलन गर्न जाने हुँदा पछिल्लो समयमा जौखेती हराउँदै गएको मैकोटका अर्का स्थानीय विकास पुनले बताए। यस्तै भूमे गाउँपालिकाको पनि थोरै ठाउँमा मात्र जौखेती गरिँदै आइएको छ। सिस्ने गाउँपालिकाको पनि केही ठाउँमा मात्र जौखेती हुने गरेको छ।

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत मानिसले भात रुचाउने र जौबाट बनेका परिकार मन नपराउने हुँदा जौखेती गर्न छाड्दै जान थालेको थलराज बस्नेतले बताए। उनले भने, 'विगतका तुलनामा जौखेती मात्र नभई रैथाने बालीहरू लोप हुँदै गएका छन्।' रासस


प्रकाशित : आइतबार, पुस १ २०८०११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend