बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वार्षिक १५ हजार विद्युतीय स्कुटर बनाउन २४ करोड लगानीको नयाँ उद्योग दर्ता

सोमबार, मंसिर १३ २०७८
वार्षिक १५ हजार विद्युतीय स्कुटर बनाउन २४ करोड लगानीको नयाँ उद्योग दर्ता

इ बोल्ट मोबिलिटीले वार्षिक १५ हजार वटा विद्यूतीय स्कुटर उत्पादन गर्ने क्षमता राख्नेछ। 

काठमाडौं- सरकारले नेपालमै सवारी एसेम्बल उद्योग स्थापना गर्नेलाई भारी छुट दिएसँगै एसेम्बल उद्योग दर्ता गर्ने क्रम बढेको छ। यस्तैमा कात्तिक ३० गते नयाँ उद्योग दर्ता भएको हो। 

कात्तिकको अन्तिम दिन इ बोल्ट मोबिलिटी प्रालि नामक उद्योग दर्ता भएको हो। उक्त उद्योगमा २४ करोड ३० लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ। इ बोल्ट मोबिलिटीले वार्षिक १५ हजार वटा विद्यूतीय स्कुटर उत्पादन गर्ने क्षमता राख्नेछ। 

मझौला उद्योगका रुपमा दर्ता भएको इ बोल्ट मोबिलिटीले १ सय जनालाई रोजगारी दिने जनाएको छ। पछिल्लो पटक विद्युतीय सवारीको प्रयोग तथा आयात बढ्दै गइरहेको छ। 

नेपालमा सवारी एसेम्बल÷उत्पादनका लागि दुई दर्जनभन्दा बढी उद्योग दर्ता भइसकेका छन्। तर एसेम्बल नै थाल्नेमा हुलास अटो क्राफ्ट र जगदम्बा अटोले रहेका छन्। हुलास अटो क्राफ्टले बजाजका मोटरसाइकल र जगदम्बा अटोले टीभीएसका मोटरसाइकल एसेम्बल गर्दै आएका छन्। 

त्यस्तै केही महिना अघि यामाहाका मोटरसाइकल नेपालमै एसेम्बल गर्न समेत उद्योग दर्ता भइसकेको छ। एमएडब्लू इन्टरप्राइजेजल यामाहाका मोटरसाइकल तथा स्कुटर उत्पादनका लागि एमएडब्लू अटो प्रालि कम्पनी दर्ता गरेको हो।

एमएडब्लू इन्टरप्राइजेजले यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर एसेम्बलका लागि १ अर्ब ५१ करोड ५० लाख रूपैयाँ लगानी गर्ने गरि उद्योग दर्ता गरेको हो। 

सरकारले चालु आर्थिक वर्षको आर्थिक अध्यादेशको प्रतिस्थापन विधयेकमार्फत एसेम्बल उद्योगलाई भारी छुट दिएपछि दबाबमा परेको यामाहाले नेपालमा एसेम्बल प्लान्ट लगाउन लागेको हो। बजाज र टीभीएसपछि नेपालमा मोटरसाइकल उत्पादन गर्ने यामाहा तेस्रो ठूलो कम्पनी हुनेछ।

प्रतिस्थापन विधयेकमार्फ १ सय २५ सीसीभन्दा माथिका दुई पांग्रे सवारी साधनमा अन्तःशुल्क १० प्रतिशतले बढाइएको थियो भने नेपालमा नै उत्पादन गर्नेलाई दुई तह छुटको व्यवस्था गरिएको थियो। यो व्यवस्थासँगै यामाहा, हिरो र होन्डा एसेम्बल प्लान्ट लगाउनुपर्ने दबाबमा गरेका छन्। 

एमएडब्लू अटो प्रालिले स्थापना गर्ने एसेम्बल उद्योगबाट १ सय ४४ जनालाई रोजगारी दिने जनाएको छ। एसेम्बल उद्योगमा शतप्रतिशत स्वदेशी लगानी हुने छ।

नयाँ व्यवस्थासँगै एसेम्बलका लागि आयात हुने मोटरसाइकल तथा स्कुटरको सीकेडीमा २० प्रतिशत मात्र अन्तःशुल्क लाग्ने छ। यसअघि सीकेडीमा एक तह छुट अर्थात ३० प्रतिशत अन्तःशुल्क लाग्दै आएको थियो।

त्यस्तै चारपांग्रे सवारी उत्पादन गर्न सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले समेत उद्योग दर्ता गरिसकेको छ। त्यस्तै कोरियाली पार्टपुर्जा उत्पादन कम्पनी मोट्रेक्सले समेत नेपालमा सवारी उत्पादन गर्न उद्योग दर्ता गरेको थियो। 

मोट्रेक्सले नेपालमा हुन्डाईको कार उत्पादन गर्ने भन्दै १० अर्ब रुपैयाँ लगानीको प्रस्ताव गरेको थियो। त्यस्तै अन्य विभिन्न नेपाली तथा विदेशि कम्पनीले समेत नेपालमा सवारी एसेम्बल÷उत्पादनका लागि उद्योग दर्ता गरेका छन्। 


प्रकाशित : सोमबार, मंसिर १३ २०७८०७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend