बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

कम लगानीमा मनग्य आम्दानी, गुल्मीमा बढ्दैछ व्यावसायिक मौरीपालन

बिहीबार , मंसिर २८ २०८०
कम लगानीमा मनग्य आम्दानी, गुल्मीमा बढ्दैछ व्यावसायिक मौरीपालन

मह बिक्रीबाट मात्रै यहाँका व्यावसायिक मौरीपालक किसानले एकदेखि डेढलाखसम्म आम्दानी लिने गरेका छन्।

गुल्मी- गुल्मीको ग्रामीण भेगका किसान पछिल्लो समयमा मौरीपालनमा आर्कषित हुन थालेका छन्। मौरीपालनबाट कम लगानीमा धेरै आम्दानी हुने भएपछि मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्न थालेको हो।

गुल्मीदरबार गाउँपालिका-१ बलिथुमका मानबहादुर फुङ्जेली विगत १३ वर्षदेखि व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छन्। त्यसबाहेक कागती र सुन्तलाखेती पनि गरिरहेका छन्। फङ्जेलीसँग यतिबेला ४० मौरीका घार छन्।

उनले कृषि ज्ञान केन्द्र गुल्मीबाट हालै १० वटा मौरीका घार पनि अनुदानमा पाएका छन्। उनका अनुसार मह बिक्रीबाट मात्रै वार्षिक एक लाख ५० हजार रूपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ।

मह दमका बिरामी र रुघाखोकीको समस्याबाट ग्रसित व्यक्तिका लागि निकै उपयोगी मानिन्छ। तोरी, चिउरीलगायतका फूल फुल्ने समयमा किसानले एक सिजनमा दुई पटकसम्म मह काढ्छन्।

अर्गानिक मह उत्पादन गर्न सकेमा बजारीकरणको कुनै समस्या नरहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारी बताउँछन्। यहाँ मह प्रतिकेजी एक हजार पाँच सय र मौरीसहितको घार आठ हजारदेखि नौ हजार रूपैयाँसम्म बिक्री हुँदै आएको छ। 

गुल्मीमा उत्पादन भएको मह स्थानीय बजारदेखि बाह्य बजारमा खपत हुँदै आएको छ। जिल्लामा व्यावसायिक रुपमा पाँच वटा घारभन्दा बढी मौरीपालन गर्ने किसानको सङ्ख्या दुई सयभन्दा बढी छ। तीमध्ये तीन हजार छ सय आधुनिक र दुई सय ३६ परम्परागत घारमा मह उत्पादन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , मंसिर २८ २०८०१४:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend