बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

कोरियाबाट फर्किएर कृषि पेसा अँगालेका राजु, बर्सेनि बढाउँदैछन् उत्पादन र आम्दानी

बिहीबार , मंसिर २८ २०८०
कोरियाबाट फर्किएर कृषि पेसा अँगालेका राजु, बर्सेनि बढाउँदैछन् उत्पादन र आम्दानी

स्वदेशमा बसेर उद्यम गर्ने मनसायले कोरियाको राम्रो आम्दानी छाडेर घर फर्किएका राजुले व्यावसायिक कागतीखेती गरेका छन्।

तनहुँ- पैसा कमाउन विदेशिने क्रम बढ्दै गएको अवस्थामा तनहुँका एक युवक कोरियाबाट फर्केपछि पुनः त्यहाँ जानुको साटो यहीँ कागती खेतीमा रमेका छन्। नौ वर्षसम्म कोरियामा रहेका व्यास नगरपालिका-१३ आसपानीका राजु रेग्मी स्वदेश फर्किएर व्यावसायिक कागती खेतीतर्फ लागेका हुन्।

मासिक तीन लाख रूपैयाँको नोकरी छाडेर कृषि पेसा अगाँलेका उनले वैदेशिक रोजगारीमा विदेशिने युवायुवतीका लागि यहीँ नै लगनशिल भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन्।

स्वदेशमा बसेर पनि केही उद्यम गर्न सकिन्छ भन्ने सोचले कोरियाको राम्रो आम्दानी छाडेर घर फर्किएको रेग्मी बताउँछन्। पुर्ख्यौली घर स्याङ्जाबाट विसं २०७३ मा रेग्मीका परिवार तनहुँमा बसाइँसराइ गरिआएको थियो। बसाइँसराइ गरेर आएको केही वर्षपछि व्यावसायिकरूपले कागती खेती सुरुवात गरिएको उनकी पत्नी सिर्जना कोइरालाले बताइन्। कागती खेतीबाट बर्सेनि उत्पादन वृद्धि हुँदै गएपछि थप हौसला मिलेको उनी बताउँछिन्।

'कागतीका बिरुवा आफूले हुर्काए पनि उत्पादन लिने वर्षदेखि पति विदेशबाट फर्किएर यो पेसा सम्हाल्दै आउनुभएको छ, सिर्जना भन्छिन्, 'घरपरिवार सबैको साथ र सहयोग पाएपछि अहिले खेती गर्न र रेखदेख गर्न सहज भएको छ।'

विसं २०७८ मा चार लाख, २०७९ मा सात लाख २०८० मा पन्ध्र लाख रूपैयाँको कागती बिक्री गरिसकेको रेग्मी परिवार बताउँछन्। यसवर्ष गत बैशाख र जेठ महिनामा हावाहुरीसहितको असिनाले क्षति नबनाएको भए करिब बीस लाख रूपैयाँ बराबरको कागती बिक्री हुने लक्ष्य उनीहरूको थियो।

करिब २६ रोपनी जमिनमा एक हजार सुन कागतीको बिरुवा लगाइएकामा अहिले छ/सात सय बिरुवाले उत्पादन दिन थालेको छ। आउँदो वर्ष अन्य बाँकी बिरुवाले पनि उत्पादन दिने हुँदा उत्पादन राम्रो हुने विश्वास गरिएको छ। कृषि ज्ञान केन्द्रले अनुदानमा कागतीका बिरुवा उपलब्ध गराएको थियो। 

आफूहरुलाई व्यावसायिक कृषि पेसामा लाग्न उत्प्रेरण दिने तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीको ठूलो योगदान रहेको किसान सिर्जना स्मरण गर्छिन्। कागतीका बिरुवा छाँटकाँटदेखि रोगको उपचार र बजारीकरणका लागि वरिष्ठ कृषि विकास अधिकृत तिवारीको गुन कहिल्यै भुल्न नसकिने उनी बताउँछिन्।

पछिल्ला समय जिल्लामा कागती खेतीतर्फ किसानको आर्कषण बढ्दै गएको छ। हाल जिल्लामा दुई सय ६३ हेक्टर जमिनमा कागती खेती हुँदै आएको छ भने दुई सय एक्काइस हेक्टर जमिनमा बिरुवाले उत्पादन दिन सुरु गरेको छ। आर्थिक वर्ष २०७९/८० मा एक हजार पाँच सय पच्चीस मेट्रिकटन कागती उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले जानकारी दिए।

बिक्रीका लागि समस्या छैन

उत्पादन गरिएका कागती बिक्रीका लागि बजारको लागि कुनै समस्या नरहेकाले उत्साहित भएर उत्पादनतर्फ लागेको सिर्जना बताउँछिन्। उत्पादित कागती पोखरा,चितवनलगायत बजारमा लगेर बिक्री गर्ने गरिएको छ। प्रतिकिलो एक सयदेखि एक सय पचास रूपैयाँसम्म कागती बिक्री हुने गरेको छ। कतिपय व्यवसायी फार्ममै आएर कागती लिएर जाने गरेका छन्। कागती खेतीका लागि गाईको मल उपयुक्त हुने बताइन्छ।

कागती खेती छोराछोरी हुर्काएजस्तै कठिन

कागतीबाट आम्दानी लिन जति सजिलो छ तर हुर्काउन त्यति नै कठिनाइ हुने रेग्मी परिवार बताउँछन्। सानोतिनो मेहनत र परिश्रमले कागती खेती हुँदैन,' सिर्जना भन्छिन्, 'सफलता हासिल गर्न उत्तिकैरुपमा खट्नु पनि पर्छ।'

सुरुमा उक्त जग्गामा सुन्तला खेती गर्ने सोच भए पनि कागती खेतीका लागि हावापानी र माटो सुहाउँदो भएकाले यसैतर्फ आकर्षित भएका हौँ,' उनी भन्छिन्, 'कागती फागुन र चैत महिनादेखि फूल्न सुरु गरी जेठ महिनादेखि उत्पादनका लागि तयारी हुने किसान रेग्मी बताउँछन्। बाँदरले नखाने र चोरी पनि खासै नहुने भएकाले पछिल्ला समय कागती खेतीतर्फ आर्कषण बढ्दै गएको सम्बद्ध किसान बताउँछन्। रासस


प्रकाशित : बिहीबार , मंसिर २८ २०८०१३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend