बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनसेलको सेयर खरिद-बिक्री : नियामकीय क्लियरेन्स नहुँदासम्म प्रक्रिया नबढाउन प्राधिकरणको पत्राचार

बुधबार, मंसिर २७ २०८०
एनसेलको सेयर खरिद-बिक्री : नियामकीय क्लियरेन्स नहुँदासम्म प्रक्रिया नबढाउन प्राधिकरणको पत्राचार

अनिवार्य कानूनी दायित्व फरफारक नहुँदासम्म प्राधिकरण आफैले सम्झौता स्वीकृत नगर्ने अध्यक्ष खनालले जानकारी दिए।

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद-बिक्रीका सम्बन्धमा सरोकारवाला निकायलाई पनि सचेत गराएको छ। 

सेयर खरिद बिक्रीका सम्बन्धमा प्राधिकरणको कानूनको उल्लंघन गरेको भन्दै दूरसञ्चार प्राधिकरणले कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेको हो। 

दूरसञ्चार कम्पनी एनसेलमा रहेको ८० प्रतिशत सेयर बिक्री गर्ने सम्झौता सार्वजनिक भइसकेको छ। अजियाटाले आफ्नो नियन्त्रणमा रहेको ८० प्रतिशत सेयर सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रोलाइटलाई बिक्री गर्ने सम्झौता भएको छ। 

स्वामित्व परिवर्तनका लागि भएको यो खरिदबिक्री सम्झौतामात्र होइन एनसेलकै प्रमुख कार्यकारी अधिकृतले पनि यसमा सार्वजनिक प्रतिक्रिया दिइसकेका छन्। 

खरिदबिक्रीको सम्झौता भएपनि त्यसको स्वीकृति प्राधिकरणबाट लिनुपर्ने व्यवस्था रहेको छ। नेपाल दूरिसञ्चार ऐनमा सम्झौता स्वीकृत गर्नुपर्ने र नियमावलीमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ। 

पूर्वस्वीकृतिको विषयमा अहिलेसम्म जवाफ आएको छैन। स्वीकृत नहुँदासम्म कम्पनीको बुकमा प्रतिनिधित्व परिवर्तनको कुनै पनि काम नगर्न कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरिएको प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले जानकारी दिए। 

‘हामीले अहिले पनि फेरि एनसेललाई ताकेता गरिरहेका छौँ। यत्रो समयसम्म पनि उनीहरूले पहिलेकै जवाफ प्रष्टसँग दिएका छैनन्। हामीले स्वीकृत नगर्दासम्म कम्पनीको काम अघि नबढाउन भन्दै पत्राचार गरेका छौँ’ खनालले भने। 

दूरसञ्चार नियामावली २०५४ को १५ 'ट' अनुसार ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ। यो व्यवस्थाअनुसार एनसेलले स्वीकृति लिएको छैन। 

अनिवार्य कानूनी दायित्व फरफारक नहुँदासम्म प्राधिकरण आफैले सम्झौता स्वीकृत नगर्ने अध्यक्ष खनालले जानकारी दिए। 

कम्पनीलाई यसअघि नै अदालतले पनि कम्पनीको बुकमा कुनै पनि परिवर्तन नगर्न अन्तरिम आदेश दिइसकेको छ। लेखा समितिले पनि सबै प्रक्रिया रोक्न निर्देशन दिइसकेको छ। 


प्रकाशित : बुधबार, मंसिर २७ २०८०१०:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend